मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 11 September, 2025
Invalid date format o८:२८:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

सार्वजनिक यातायात ठप्प, हजारौँ यात्रु काठमाडौंमै अलपत्र

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:२८:oo

गोंगबु बसपार्कबाट दैनिक दुई हजार पाँच सय सार्वजनिक सवारी यात्रु लिएर काठमाडौंबाट बाहिरिन्थे 

नेपालगन्जका जगत डाँगी वैदेशिक रोजगार प्रयोजनका लागि ‘मेडिकल चेकअप’ गर्न सोमबार बिहान मात्रै काठमाडौं आएका थिए । तर, सोमबारदेखि नै काठमाडौंमा सुरु भएको जेन–जी आन्दोलनले उग्र रूप लिएपछि उनले आफ्नो स्वास्थ्य परीक्षण गर्न सकेनन् । दुईदिने जेन–जी आन्दोलनका कारण मंगलबारदेखि नै सार्वजनिक यातायात अनिश्चितकालीन रूपमा बन्द भएका छन् । त्यसपछि राजधानीलगायतका देशका विभिन्न ठाउँमा निषेधाज्ञा तथा कर्फ्यु लगाएपछि छोटो तथा लामो दूरीको सार्वजनिक यातायात सेवा अनिश्चितकालीन रूपमा बन्द गरिएको छ । अचानक मुलुकको परिस्थितिमा परिवर्तन भएपछि डाँगीले तत्काललाई ‘स्वास्थ्य चेकजाँच’ गर्ने कार्य स्थगन गरेका छन् । तर, गाडी सेवा बन्द हुँदा उनी घर फर्किन पनि सकेका छैनन् ।

सोमबारदेखि उनी गोंगबुस्थित नयाँ बसपार्कमा यात्रु प्रतीक्षालयमा बसेका छन् । त्यो क्रममा २४ हजार नगद चोरीसमेत भएको उनको भनाइ छ । ‘म यही प्रतीक्षालयमा सुतेको थिएँ । मेरो झोला, मोबाइल र २४ हजार नगद हरायो । त्यसपछि खाना, बस्नसमेत पैसा छैन । यही प्रतीक्षालयमा बसेको छु,’ उनले भने, ‘एउटा ड्राइभरले नि:शुल्क नेपालगन्जसम्म लगिदिन्छु भन्नुभएको छ । तर, गाडी नखुल्दासम्म म अलपत्र अवस्थामा छु ।’

यस्तै, नेपालगन्जकै विक्रम सुनार मजदुरीका लागि एक महिनाअघि काठमाडौं आएका थिए । तर, हालै उनको ठेकेदार पैसा नदिई बेपत्ता भए । त्यसपछि आफँैले खर्च कटाएर जम्मा गरेको पैसाले घर फर्किने निधो गरेका थिए । तर, यातायात बन्द भएपछि उनी पनि नयाँ बसपार्कमा अलपत्र परेका छन् । 

‘मैले दैनिक रूपमा जम्मा गरेको पैसाले घर फर्किन पुग्थ्यो । तर, गाडी नै बन्द भएपछि जान सकिएन । यहीले खाना खाजा खाँदा पैसा सकियो,’ आफूसँग भएको दुई सय रुपैयाँ हाराहारी नगद पैसा देखाउँदै उनले भने, ‘मसँग यही दुई सय रुपैयाँ मात्र छ । यो रकमले न काठमाडौंमा खान पुग्छ न घर फर्किन पुग्छ ।’

यस्तै, दाङका शंकर नाथ, टोपेन्द्र राना र गौर्धन पुन व्यक्तिगत कामका लागि सोमबार काठमाडौं आएका थिए । तर, जेन–जी आन्दोलनले आफ्ना काम गर्न नपाएको उनीहरूले बताए । साथै, गाडी बन्द हुँदा घर फर्किन पनि नसकेको उनीहरूले बताए । ‘सोमबार काठमाडौं आएका हुँ । तर, आन्दोलनका कारण काम भएको छैन,’ शंकरनाथले भने, ‘घर फर्किउँ भने पनि गाडी छैन । होटल बस्दा बस्दै खर्च बढी रहेको छ ।’

यी त प्रतिनिधि उदाहरण मात्रै हुन् । जेन–जी आन्दोलन र त्यसपछि लगाइएको कर्फ्युका कारण लामा तथा छोटा दूरीका सार्वजनिक सवारी बन्द गरिएको छ । त्यसपछि काठमाडौंबाट विभिन्न गन्तव्यमा जाने यात्रुहरू अलपत्र परेका छन् । गोंगबुस्थित बसपार्कमा हजारौँ यात्रु गाडी खुल्ने आशामा बसेका छन् । तर, गाडी खुल्ने टुंगो छैन । पैसा हुने वालाहरू होटेलमा कोठा लिएर बसेका छन् । पैसा नभएकाहरू बसपार्कपरिसरमै रात बिताउने गरेका छन् । 

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सुरक्षाको ग्यारेन्टी भएमा पहिलो चरणमा काठमाडौंसहित विभिन्न ठाउँमा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउन सकिने बताए । ‘वर्तमान परिस्थितिका कारण हामीले यातायात सेवा बन्द गरेको हो । 

सोमबार र मंगलबार त आन्दोलन नै भयो । त्यसपछि कर्फ्यु लागेको अवस्था छ । यो वेलामा यात्रा गर्दा यात्रुकै सुरक्षा नहुने जोखिम हुन्छ । सम्पत्तिको सुरक्षा पनि हुदैन,’ उनले भने , ‘यदि, नेपाली सेनाले सुरक्षाको ग्यारेन्टी गर्छ भने हामी अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउन सकारात्मक छौँ । साथै, खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको ढुवानीमा पनि सहजीकरण गर्छौँ ।’ 

यसका लागि सेनाले नै अग्रसरता लिनुपर्ने उनको भनाइ छ । ‘अहिले सरकार छैन । सुरक्षाको ग्यारेन्टी कर्मचारीबाट पनि हँुदैन,’ उनले भने, ‘तसर्थ, यसमा सेनाले नै अग्रसरता लिनुपर्छ । यसमा ढिलो गर्न हुदैन । हामी तयारी अवस्थामा नै छौँ ।’

दसैँ नजिकिँदै, यातायात सेवा अलपत्र 
हिन्दु नेपालीहरूको ठूलो पर्व दसैँ नजिकिँदै छ । यसपालि असोज १६ गते दसैँ छ । त्यसका लागि ६ असोजको घटस्थापनादेखि यात्रुको चाप उच्च हुन्छ । विदेशबाट आउने नेपालीलगायतका कारण घटस्थापना भन्दा अघिदेखि नै यात्रुको चाप उच्च हुने गर्छ । त्यसका लागि यतिवेलासम्म टिकटको अग्रिम बुकिङ खुलाउनुपर्ने थियो । तर, अहिले मुलुकको यातायात सेवा अलपत्र छ । दसैँको यातायात सेवालाई एजेन्डामा राखेर यातायात व्यवस्था विभागमा मंगलबार प्रहरी, यातायात सेवा सञ्चालकसहित सर्वपक्षीय बैठक आह्वान गरेका थिए । तर, आन्दोलनका कारण त्यो स्थगित भयो । त्यसपछि मुलुक नै शून्य अवस्थामा पुग्दा त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा चिन्ता भइरहेको अध्यक्ष स्वाँर बताए । ‘यद्यपि, यो वेलामा दसैँ मान्ने अवस्था आउँछ कि आउँदैन, त्यसमा अहिले केही भन्न सकिन्न । तर, दसैँ नजिक आइसक्यो । यतिवेलासम्म अग्रिम टिकट खुलाउने बारे निर्णय गरिसक्नुपर्ने थियो । तर, बर्तमान परिस्थितिमा त्यो सम्भव देखिएन,’ उनले भने, ‘यद्यपि, दसैँमा सार्वजनिक यातायातलाई सकरी सहज र प्रभावकारी बनाउने विषयमा अहिले नै ध्यान दिन आवश्यक छ ।’