
जिल्ला कारागार कार्यालय रामेछापमा बिहीबार बिहान नेपाली सेनाको गोली लागेर गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।
कारागारमा रहेर कैदजीवन व्यतित गर्दै आएका कैदीबन्दीले कारागारको सुरक्षा गेट तोडेर भाग्न खोज्दा नेपाली सेनाले गोली चलाएको थियो। गोली लागेर घाइते भएका १४ जनालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा दुई कैदीबको मृत्यु भएको जिल्ला अस्पतालका मेसु डा. अमित शाहले जानकारी दिए।
उनका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले सामान्य उपचारपछि थप उपचारका लागि काभ्रेको धुलिखेल र काठमाडाैं रिफर गरिएको छ। उनीहरूलाई एम्बुलेन्समार्फत पठाइएको छ। घाइतेमध्ये दुईजनालाई उपचारपछि डिस्चार्ज गरिएको र अन्य चारजनाको अहिले अस्पतालमा उपचार भइरहेको पनि डा. शाहले जानकारी दिए।
५० जना कैदीबन्दी क्षमता भएको रामेछाप कारागारमा हाल महिला र पुरुष गरी ३३४ कैदीबन्दीले कैद भुक्तान गर्दै आएका छन्। कारागारको सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिले कारागारको अवस्था शान्त रहेको कारागार कार्यालय रामेछापले जनाएको छ।