मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २६ बिहीबार
  • Thursday, 11 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २६ बिहीबार o६:o७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

संसद् बैठक बस्ने ठाउँ नै रहेन

दुवै सदनका बैठक अनिश्चितकालका लागि स्थगित, संसद् सचिवालयका कागजात भने सुरक्षित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २६ बिहीबार o६:o७:oo

जेन–जी आन्दोलनका क्रममा गरिएको आगजनीले संघीय संसद् भवन पूर्ण रूपमा ध्वस्त भएको छ । संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा सञ्चालन भइरहेको संसद् भवन काम नलाग्ने अवस्थामा पुगेको छ । अब संसद्को बैठक बस्ने ठाउँ नै छैन । 

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् । 

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बानेश्वरको संसद् भवनको भित्री संरचना केही पनि बाँकी छैन । सो भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै आएको थियो । भवनभित्र कुर्सीहरू केही बाँकी छैन । दर्शकदीर्घा भुइँमा झरेको छ । ल्होत्से हल पूर्ण रूपमा जलेको छ । दलका शीर्ष नेताहरू बस्ने कक्ष पनि बाँकी छैन । प्रहरीहरू बस्ने क्वार्टर पनि बाँकी छैन । भवनका भित्तामा जेन–जी लेखिएको छ । सरकारलाई गाली गरिएको छ । भित्रै जान सकिने अवस्था छैन । आन्दोलनकारीले संघीय संसद् लेखेको प्लेकार्ड पनि बाँकी राखेका छैनन् । 

महासचिव पाण्डेयले बानेश्वरको संसद् भवनमा कुनै सभा वा कार्यक्रम सञ्चालन गर्न सकिने अवस्था नरहेको बताए । ‘संसद् भवनमा सभा सञ्चालन गर्ने सबै कुरा जले । माइक, कुर्सी टेबल, साउन्ड सिस्टम बाँकी रहेन । भिडियो सिस्टम, मिडिया सेन्टर पनि सकियो । कम्प्युटर, ल्यापटप, टिभीहरू जले । कम्प्युटरमा रहेका रेकर्डहरू छैनन् । क्यान्टिन पनि जलाइयो,’ उनले भने, ‘राजनीतिक समस्या त थियो नै, बैठक चलाउन अब प्राविधिक समस्या पनि आयो ।’ 

संसद्का दस्ताबेजहरू भने सुरक्षित छन् । महासचिव पद्मप्रसाद पाण्डेका अनुसार संसद्का कागजातहरू सिंहरदरबारस्थित संसद् सचिवालयमा सुरक्षित छन् ।

आन्दोलनकारीले सिंहदरबारभित्र अन्य क्षेत्रका तोडफोड र आगजनी गरे पनि संसद् सचिवालयको कोठभित्र र भवनहरूमा ठुलो क्षति नपुर्‍याएकाले कागजातहरू सुरक्षित नै छन् । यद्यपि, भौतिक मन्त्रालयसँग जोडिएको संसद् सचिवालयको पार्किङमा रहेका गाडीहरू जलाइएका छन् । करिब २२ वटा मोटरसाइकल, १२ वटा गाडी जलाइएको छ । एक नम्बर भवनमा तोडफोड गरिएको छैन । दुई नम्बर भवनमा सिसाहरू फुटेका छन् । आन्दोलनकारीले सिंहदरबारभित्र रहेको कांग्रेस र एमालेको दलको कार्यालय जलाएर ध्वस्त पारेका छन् ।