मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
Invalid date format ११:o४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पोखरामा आज पनि प्रदर्शन, निषेधाज्ञाको क्षेत्र थपियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o४:oo

जेन-जी पुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धका विरुद्ध सोमबारदेखि सुरु गरेको प्रदर्शनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले केही क्षेत्र तोकेर कर्फ्यु आदेश जारी गरेको छ । पोखरामा आज पनि प्रदर्शन जारी रहेकाले निषेधाज्ञाको क्षेत्रसमेत थप गरिएको छ ।

पोखरामा सोमबार गरिएको प्रदर्शन नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार विभिन्न स्थान तोकेर निषेधाज्ञा जारी गरेको थियो । प्रदर्शनलाई मध्यनजर गर्दै मंगलबार निषेधाज्ञाको क्षेत्र बढाइएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मंगलबार बिहान १० बजेदेखि राति १० बजेसम्म लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कास्की जिल्ला पोखरा महानगरपालिकाभित्रका विभिन्न क्षेत्रहरूलाई चारकिल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेकी हुन् ।

यी स्थानमा जारी भयो कर्फ्यु आदेश

कर्फ्यु आदेश जारी भएका स्थानहरूमा पोखरा महानगरपालिकाभित्रको पूर्वतर्फ : पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकस्थित चाइना पुलदेखि पृथ्वीचोक, पुरानो एयरपोर्ट हुँदै बिरौटाचोक र पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, नदीपुर हुँदै केआई सिंह पुलसम्मको क्षेत्र ।

पश्चिमतर्फ : पोखरा महानगरपालिका वडा नम्बर २ स्थित बागलुङ बसपार्कदेखि जिरो किमी हुँदै हल्लनचोकसम्मको क्षेत्र ।

उत्तरतर्फ : पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पृथ्वीनारायण क्याम्पस गेटदेखि ट्याक्सीचोक हुँदै बागलुङ बसपार्कसम्मको क्षेत्र ।

दक्षिणतर्फ : पोखरा महानगरपालिका वडा नम्बर ०६ स्थित हल्लनचोकदेखि राष्ट्र बैंकचोक हुँदै बिरौटासम्मको क्षेत्र रहेका छन् ।

यी क्षेत्रमा थपियाे निषेधाज्ञा

प्रमुख जिल्ला अधिकारी शर्माले सोमबार सहिदचोकआसपासका क्षेत्रलाई तोकेर निषेधाज्ञा जारी गरेकोमा मंगलबार गण्डकी प्रदेश सभाआसपासको क्षेत्रमा समेत निषेधाज्ञा जारी गरेकी हुन् । कास्की जिल्ला, पोखरा महानगरपालिकामा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्तिसुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी  बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ (संशाेधनसहित) को दफा ६ को उपदफा (३क) बमोजिम प्रजिअ शर्माले निषेधाज्ञा जारी गरेकी हुन् ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । उक्त अवधिमा आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने–गराउने कार्यमा अवरोध गर्ने जोसुकैउपर प्रचलित कानुनबमोजिम कारबाही हुने जारी आदेशमा उल्लेख छ ।

सहिदचोकआसपासका क्षेत्रमा पूर्तर्फ : वाईचोक (उत्तर पूर्वतर्फ मिलनचोक),

पश्चिमतर्फ : फिस्टेल गेट (वैदाम)

उत्तरतर्फ : मालपोत कार्यालय, कास्की

दक्षिणतर्फ : राष्ट्रबैंक चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बाेर्डको कार्यालय अगाडि, ड्यामसाइड) लाई तोकिएको छ ।

यसैगरी गण्डकी प्रदेश सभाआसपासको क्षेत्रमा उत्तरतर्फ भीमकाली पाटन बगर, दक्षिणतर्फ अधिकारी टोल, पूर्वतर्फ : नदीपुर हाइवे र पश्चिमतर्फ : बागबजार ट्याक्सीचोक क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

जेन-जीका युवा पुस्ताले मंगलबार पोखराको मुख्य बजारमध्येको एक न्युरोडस्थित सभागृह चोकमा जम्मा भएर प्रदर्शनको तयारी गरेपछि कर्फ्यु आदेशसँगै निषेधाज्ञाको क्षेत्र थपिएको हो ।  

यसअघि सोमबार सभागृह चोकबाट सुरु भएको जेन-जी को प्रदर्शन पोखराको रत्नचोकमा पुगेपछि नियन्त्रणबाहिर गएसँगै प्रदर्शन चर्किएको थियो । प्रदर्शनको क्रममा सोमबार पोखरामा गोली लागी एकजना घाइते भएका थिए । गोली लगेकाबाहेक अन्य ५–६ जना प्रदर्शनकारी र चारजना प्रहरीसमेत घाइते भएका थिए । प्रहरीले सोमबार २९ जना प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।