
जेन–जीको प्रदर्शनमा सरकारले गरेको दमनविरुद्ध झापाको बिर्तामोडमा मंगलबार बिहानैदेखि प्रदर्शन सुरु भएकाे छ । सोमबार राति अबेरसम्म बिर्तामोडमा प्रदर्शन गरेका जेन–जीले मंगलबार बिहान सडकमा निस्किएर प्रदर्शन गरेका हुन् ।
बिर्तामोडस्थित मुक्तिचोकमा निस्किएका उनीहरूले सडकमा आगो बालेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिरहेका छन् । प्रदर्शनकारीले बिर्तामोडस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको पुरानो भवनका सामान राजमार्गमा ल्याएर आगजनी गरिरहेका छन् ।
प्रहरी भने भिड नियन्त्रण गर्न नसकेपछि आन्दोलनस्थलमा आउन सकेको छैन । झापाको बिर्तामोड र दमक क्षेत्रमा प्रदर्शन बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले कर्फ्युसमेत लगाएको थियो ।
प्रदर्शनका कारण बिर्तामोड क्षेत्रमा झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले राति ८:३० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु आदेशले जारी गरेका थिए । तर, प्रशासनको आदेश अवज्ञा गर्दै प्रदर्शनकारीले रातभर बिर्तामोडमा प्रदर्शन गरे ।