
नेप्से परिसूचकले यो साताभर निरन्तर गिरावटको सामना गरेको छ । गत साताको बिहीबारदेखिको कारोबार अवधिमा नेप्से परिसूचक २७८१ विन्दुबाट झरेर २७१९.७७ विन्दुमा पुगेको हो । यस अवधिमा नेप्से ६२.०९ अंकले घटेको छ ।
विश्लेषकहरूका अनुसार लगानीकर्तामा अनिश्चितता बढ्नु, सुस्त ऋण प्रवाह र बैंकिङ क्षेत्रको खराब कर्जाको अनुपातले बजारलाई नकारात्मक प्रभाव पारेको छ । गत साता बिहीबार ३८.१० अंकले घट्दै २,७८१ विन्दुमा पुगेको परिसूचक यो साताको अन्तिम कारोबार दिन बिहीबारसम्म निरन्तर ओरालो लाग्यो ।
सबैभन्दा बढी कारोबार रकम आइतबार पाँच अर्ब ९८ करोडको कारोबार भएको छ । कुल कारोबार संख्यामा पनि उतारचढाव रह्यो । सोमबार कारोबार संख्या ६७ हजार चार सय ९९ रहेकोमा मंगलबार ८८ हजार ६ सय ७७ मा उक्लिएको थियो । बजार पुँजीकरण ४५ खर्ब ४६ अर्ब रुपैयाँ कायम छ ।