मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २१ शनिबार
  • Saturday, 06 September, 2025
रामकृष्ण थापा सिन्धुपाल्चाेक
२o८२ भदौ २१ शनिबार ११:५७:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

१४ वर्षमा तयार भयो मध्यभोटेकोशी

Read Time : > 2 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चाेक
नयाँ पत्रिका
२o८२ भदौ २१ शनिबार ११:५७:oo
  • भूकम्प र पटक–पटकको बाढीबाट क्षति व्यहोरेका कारण निर्माण लागत र समय लम्बिएको, एक सय दुई मेगावाटको आयोजनाबाट भदौ अन्तिमदेखि व्यावसायिक उत्पादन हुने
  • प्रतिमेगावाट बिजुली उत्पादन लागत २२ करोड पुग्यो, वार्षिक ५४ करोड २० लाख युनिट उत्पादनको लक्ष्य

१६ भदौबाट परीक्षण उत्पादन सुरु गरेको सिन्धुपाल्चोकको सबैभन्दा ठुलो एक सय दुई मेगावाटको मध्यभोटेकेशी जलविद्युत् आयोजनाले भदौ अन्तिमबाट व्यापारिक उत्पादन थाल्ने भएको छ ।

मध्यभोटेकोशीले प्राकृतिक विपत्ति, स्थानीय अवरोध, राजनीतिक हस्तक्षेप र आयोजनाभित्रकै समस्यासँग जुधेर १४ वर्षपछि विद्युत् उत्पादन गर्न सफल भएको हो । गत सोमबार पहिलो टर्बाइन सञ्चालन गरिएको थियो । अहिले दुईवटै टर्बाइनबाट परीक्षण उत्पादन भइरहेको छ । शुक्रबारदेखि तीनवटै टर्बाइनका तीनवटै युनिटबाट परीक्षण उत्पादन थालिएको आयोजनाका कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले जानकारी दिए ।

‘धेरै अवरोध र समस्यासँग जुधेर विद्युत् उत्पादन सुरु गरेका छौँ । विद्युत् प्राधिकरणले निरीक्षण गरेर अनुमति दिएपछि व्यापारिक रूपमा उत्पादन सुरु गर्छाैँ,’ उनले भने । शुक्रबार प्राधिकरणको विज्ञटोली पावरहाउस स्थल बाह्रबिसेको जम्बु पुगेर निरीक्षण गरेको उनले जानकारी दिए ।

विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् आयोजना मुख्य प्रवर्द्धक रहेको मध्यभोटेकोशीको निर्माण सन् २०१२ मा थालिएको थियो । त्यसयता १४ वर्ष लगाएर चिनियाँ कम्पनी ग्वाङ्सी हाइड्रो इलेक्ट्रिक ब्युरोले निर्माण सम्पन्न गरेको हो । भोटेकोशी गाउँपालिका वडा नं ५ चाकुमा बाँध निर्माण गरी ७.५ किलोमिटर सुरुङ तयार गरेर पावरहाउसमा पानीको बहाव ल्याइएको छ । गत वर्ष परीक्षण गर्दा सुरुङ रसाएर पानी लिक भएपछि पुनर्निर्माण थालिएको थियो । ‘अहिले बाँधदेखि पावरहाउससम्म कुनै समस्या छैन,’ शिवाकोटीले भने ।

बाह्रबिसेको बेतेमा निर्माणाधीन सबस्टेसन तयार नभएकाले ४० किलोमिटर प्रसारणलाइन तयार गरेर मध्यभोटेकोशीको दुई सय २० केभी पावर सीधै खिम्ती सबस्टेसनको चार सय केभी पावरहाउसमा जोडिएको छ । खिम्तीबाट ढल्केबर हुँदै राष्ट्रिय प्रसारणको ग्रिडमा विद्युत् जडान हुने आयोजनाले जनाएको छ । 

‘वार्षिक ५४ करोड २० लाख युनिट विद्युत् उत्पादन हुँदा पौने तीन अर्ब आम्दानी हुने प्रारम्भिक आकलन गरिएको उनले बताए । विद्युत् उत्पादनसम्म आइपुग्दा आयोजनाको निर्माण लागत करिब २२ अर्ब ४४ करोड पुगेको छ ।

एक मेगावाट क्षमताको चुकेनीको ४० प्रतिशत मात्रै विद्युत् खपत

जिल्लाका नौ हजार घरधुरीले बिजुली प्रयोग गर्छन्, तर न्यून खपतका कारण कुल उत्पादनको ६० प्रतिशत खेर 

पातारासी गाउँपालिका– १, गडीगाउँस्थित करिब एक मेगावाट क्षमताको चुकेनी जलविद्युत् आयोजनाको ४० प्रतिशत विद्युत् मात्रै खपत भएको छ । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको विज्ञटोलीले गरेको अध्ययनअनुसार पातारासी गाउँपालिकाका सातवटै वडा, चन्दननाथ नगरपालिकाका १० वटै वडा र गुठीचौर गाउँपालिकाका तीनवटा वडासहित जिल्लाभर नौ हजार उपभोक्ताले विद्युत् उपभोग गरे पनि ६० प्रतिशत विद्युत् खपत हुन सकेको छैन । 

प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार जिल्लाभर मुस्किलले चार सय किलोवाट विद्युत् मात्रै प्रयोग भइरहेको ऊर्जाविज्ञ सन्दीप पोखरेलले बताए । उनका अनुसार चुकेनी जलविद्युत् आयोजना सञ्चालनपछि जुम्लाको विद्युत् समस्या अन्त्य भए पनि उत्पादनको तुलनामा विद्युत् उपभोग निकै न्यून रहेको छ । ‘चुकेनी जलविद्युत्को बिजुली खपत थोरै भएपछि आम्दानी पनि हालसम्म करिब दुई करोड मात्रै भएको छ । विद्युत् क्षमतानुसार आम्दानी कम हो । विद्युत् प्रवाहअनुसारको आय ठिकै हो । तर, विद्युत्को प्रयोग बढाउन जरुरी छ ।’

वैकल्पिक ऊर्जा प्रवर्द्धन अध्ययननुसार पुस–माघमा बढीमा सात सयदेखि सात सय ५० किलोवाट प्रयोग हुने र अन्य महिनामा बढीमा चार सय किलोवाट मात्रै विद्युत् प्रयोग हुने गरेको छ । नौ हजार उपभोक्ताले विद्युत् प्रयोग गरे पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीन सय किलोवाट विद्युत्को लोड प्रयोग गरेको छ ।

४० करोड लगानीमा चुकेनी जलविद्युत् निर्माण भएको हो । चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले चुकेनीको विद्युत्लाई अधिकतम प्रयोग गर्न साना लगानीका उद्योग, कलकारखाना स्थापना गर्नु जरुरी रहेको बताए । ‘अहिले विद्युत् खपत नभए पनि भविष्यमा विद्युत् अपुग हुन्छ । अब कार्यालयमा एसी जडान, सडकबत्ती जडान, इन्डक्सन चुलोको प्रयोग, जडीबुटी उद्योग स्थापनालगायत स्याउ प्रशोधन उद्योग स्थापनालगायतका क्षेत्रमा विद्युत् खपत बढाउन आवश्यक छ,’ उनले भने ।