
एभरेस्ट महिला भलिबल लिग भोलि शुक्रबारदेखि पोखरामा सुरु हुँदै छ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा सञ्चालन हुने लिग २८ भदौसम्म चल्नेछ ।
दोस्रो संस्करणको लिगमा ६ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीमा पोखरा निन्जाज, काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, कर्णाली यसबिस, मधेश युनाइेटेड र लुम्बिनी लाभा रहेका छन् ।
सहभागी टोलीले लिग चरणमा समान पाँच-पाँच खेल खेल्ने छन् । लिग चरणका खेलहरू सात दिनसम्म सञ्चालन हुनेछन् । लिग चरणका सात दिनमध्ये शनिबार तीन खेल र अन्य ६ दिन दुई-दुई खेल हुनेछन् । लिग चरण खेलपछि अंक तालिकामा पहिलो र दोस्रो नम्बरमा रहेका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
उद्घाटन खेलमा पोखरा निन्जाज र कर्णाली यसबिस भिड्दै
लिगको उद्घाटन खेलमा पोखरा निन्जाज र कर्णाली यसबिस भिड्ने भएका छन् । उद्घाटन खेल दिउँसो १४ः०० बजे सुरु हुनेछ । उद्घाटनपछि हुने दोस्रो खेलमा ललितपुर र मधेशले प्रतिस्पर्धा गर्नेछन् ।
लिग सुरु हुनुपूर्व बिहीबार आयोजना गरिएको प्रदर्शनी खेलमा पोखराका मेयर धनराज आचार्यको टिमले अभिनेता राजेश हमालको टिमलाई २–१ को सेटमा पराजित गरेको थियो । पोखराको प्रमुख पर्यटकीय स्थल लेकसाइडको हल्लनचोकस्थित फेवाताल किनारमा भएको प्दर्शनी खेलमा फ्रेन्चाइज टिमका टिम एम्बासेडर, प्रमुख खेलाडी, विदेशी खेलाडी, पोखरा आधारित स्थानीय इन्फ्लुएन्सरहरू, पोखरामा भलिबलसँग सम्बन्धित व्यक्तिहरु सहभागी थिए । खेलको पहिलो सेट हमाल टिमले आफ्नो पक्षमा पार्दा त्यसपछिको दुई सेट भने मेयर टिमले जित्यो ।
यसअघि बुधबार लिगको ट्रफी पोखराको प्रमुख पर्यटकीय स्थल फेवातालस्थित बाराहीघाटमा सार्वजनिक गरिएको थियो । सार्वजनिक ट्रफी पोखराका मेयर धनराज आचार्यसहित पोखरा निन्जाजका खेलाडीहरूले फेवातालमा ट्रफी टुर गर्दै तालको बिचमा रहेको बराही मन्दिरको परिक्रमा समेत गरेका थिए ।
नौ दिनसम्म सञ्चालन हुने लिगमा सहभागी ६ टिमहरूबाट नौ देशका १८ विदेशी खेलाडीहरू सहभागी हुँदैछन् ।