
नेपाली कांग्रेस खोटाङका जिल्ला सदस्य श्यामकुमार राईविरुद्ध डाँका उद्योगसम्बन्धी मुद्दा दर्ता भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट दिक्तेलतर्फ आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमोलाई भदौ १६ गते बिहान आफ्नै घर अगाडि रोकेर चालक सविन तामाङमाथि बन्दुक ताकेको आरोपमा राईविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय खोटाङमा मुद्दा दर्ता भएको हो।
कांग्रेस नेता राईले आफूहरुले दिक्तेल–खार्मी सडक मर्मत गरेको भन्दै जबरजस्ती सहयोग रकम माग्दै भरुवा बन्दुक ताकेर ज्यान मार्ने प्रयास गरेकाले कानूनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा मुद्दा दर्ता गराएको चालक तामाङले बताए। खार्मीस्थित बाँझोबारी घर भएका नेता राईले आफ्नै घर अगाडि सडकमा बाँस तथा मुढा तेर्साएर सडक अवरोध पार्दै आक्रमणको प्रयास गरेको भिडियोमा देखिएको छ।
चालक तामाङलाई ताकेको भरुवा बन्दुक नेता राईकै श्रीमती टीकामाया राईलगायतले खोसेको सोही सुमोमा सवार यात्रु खार्मीस्थित तुर्खाका दिलिप राईले बताए। राईले भदौ १५ गते आइतबारसमेत यात्रु लिएर दिक्तेल जाँदै गर्दा आफूलाई पैसा मागेको चालक तामाङको भनाइ छ।
नेता राईको अवरोधबीच आइतबार काठमाडौँ जाने यात्रुलाई समयमै दिक्तेल पु¥याउनुपर्ने भएकाले सुमो भगाएर गाउँ पार गराएको चालक तामाङले बताए। खार्मीमा भएको घटनापछि बीच बाटोसम्म आफ्नो भाइलाई बोलाएर यात्रुसहितको सुमो दिक्तेल ल्याएको चालक तामाङले जानकारी दिए।
नेता राईले भदौ १५ गते अर्का सुमो चालक जीवन कार्कीबाट भने रु तीन हजार रकम असुलेको यातायात व्यवसायीहरुले बताएका छन्। चालक तामाङकै पछि–पछि गुडिरहेको ना १ ज ८१६९ नम्बरको सुमोका चालक कार्कीबाट नेता राईले आफ्नै घर अगाडि रोकेर रकम लिएको बुझिएको छ।
घटनालगत्तै चालक तामाङले अस्थायी प्रहरी चौकी खार्मीमा भिडियोसहित आफूहरुलाई खबर गरेको प्रहरीले जनाएको छ। घटनास्थल अर्थात् राईको घरमा प्रहरी टोली पुग्दा ताला लगाएको पाइएको प्रहरी चौकीका प्रमुख वरिष्ठ हवल्दार बिन्द्रबहादुर नेपालीले जानकारी दिए।
खार्मीमा भएको घटनाका आरोपित कांग्रेस नेता राईविरुद्ध डाँका उद्योगसम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर पक्राउ गर्नका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढोथोकीले बताए। मुद्दा दर्ता हुनुअघि नै घटनाका बारेमा जानकारी आउनासाथ जिल्लाबाट प्रहरी टोली परिचालन गरेर राई दम्पतीको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ।
घटनाको विषयमा बुझ्न राईलाई सम्पर्क गर्दा उनले प्रयोग गर्दै आएको मोबाइल स्वीच अफ रहेको छ। राईले मादक पदार्थ सेवन गरेर यसअघि पनि गाउँमा अशान्ति सिर्जना गर्ने गरेको स्थानीयले बताएका छन्। नेता राई खार्मीस्थित जालपा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत हुन्।