मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १८ बुधबार
  • Wednesday, 03 September, 2025
२o८२ भदौ १८ बुधबार ११:१o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यो वर्ष ३५ प्रतिशत स्याउ उत्पादन घट्ने अनुमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १८ बुधबार ११:१o:oo
  • गत वर्ष करिब २० हजार मेट्रिकटन स्याउ उत्पादन भएको जुम्लामा यो वर्ष १३ हजार मेट्रिकटन उत्पादन हुने प्रक्षेपण

जुम्लाको मुख्य आम्दानीको स्रोत स्याउ उत्पादनमा यो वर्ष निकै गिरावट आउने देखिएको छ । गत वर्ष १९ हजार आठ सय मेट्रिकटन स्याउ उत्पादन भएको जुम्लाबाट निर्यात मात्र नौ हजार तीन सय मेट्रिकटन भएको थियो । गत वर्ष किसानले स्याउ बगैँचामै प्रतिकेजी ६०–६५ रुपैयाँमा स्याउ बिक्री गरेर ६१ करोड आम्दानी गरेका थिए । तर, यो वर्ष बढीमा १३ हजार मेट्रिकटन मात्रै स्याउ उत्पादन हुने अनुमान गरिएको छ । यसमध्ये ४५ सय मेट्रिकटन स्याउ निर्यात गरेर ४५ करोड आम्दानी हुने अनुमान गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । 

स्याउ उत्पादन कम भए पनि मूल्य भने वृद्धि भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए । गत वर्ष किसानले बगैँचामै प्रतिकेजी ६०–६५ रुपैयाँ पाएका थिए भने यस वर्ष ७०–८० रुपैयाँमा बिक्री भइरहेको उनको भनाइ छ । जिल्लाको ४४ सय हेक्टरमा स्याउखेती भइरहेको छ । 

सिँजा गाउँपालिका– ५ का रामसिंह रावलको बगैँचामा फल दिने स्याउका बिरुवा १२ सयवटा छन् । यस वर्ष उनको बगैँचामा सात टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । उनको बगैँचामा दुई–चारजना स्याउ व्यापारी पुगिसकेका छन् । तर, निरन्तर बर्सातका कारण उनले स्याउ टिप्न पाएका छैनन् । गत वर्षभन्दा कम उत्पादन भएपछि उनले प्रतिकेजी ८०–८५ रुपैयाँमा स्याउ बिक्री गर्ने योजना बनाएका छन् । गत वर्ष उनले प्रतिकेजी ७० रुपैयाँमा बिक्री गरेका थिए । उनले गत वर्ष आठ टन स्याउ कैलाश कोल्डस्टोरमा राखेर माघ महिनाको अन्तिमसम्म बिक्री गरेका थिए । उनले कात्तिकमा प्रतिकेजी एक सय १० र माघमा प्रतिकेजी एक स य ३० रुपैयाँमा बिक्री गरेको बताए । तर, यस वर्ष सिजनमै स्याउ बिक्री गर्ने योजना बनाएका छन् । उनले भने, ‘स्याउको मार्केट जुम्लामा छैन । बाहिर ठुलो सहर सुर्खेत, नेपालगन्ज पोखरा, काठमाडौं विराटनगर लैजानुपर्छ । सडक सहज छैन । छोटो दूरीको बाटो पनि छैन । कोल्डस्टोरबाट सहजै पुर्‍याउन सकिने गाडी पनि छैन । किसान र व्यापारीले जोखिम मोलेर कोल्डस्टोरमा राख्न मान्दैनन् ।’ 

असिनाले यस वर्ष स्याउमा ठुलो क्षति गरेको छ । करिब पाँच लाख बिरुवामा असिनाले क्षति गर्दा १६ करोडको स्याउ नोक्सान भएको अनुमान छ । यहाँ १५ लाख किलो स्याउ भण्डारण गर्ने कोल्डस्टोर तयार भएको छ । तर, किसानले कोल्डस्टोरमै स्याउ नराखेर सिजनमै सबै स्याउ बिक्री गर्ने गरेका छन् । कैलाश जनरल स्टोरका सञ्चालक देउऋषि चौलागाईंका अनुसार कोल्डस्टोरमा स्याउ राखेबापत तीन महिनाको प्रतिकेजी पाँच रुपैयाँ भाडा लाग्छ । उनले भने, ‘सिजनमै सस्तो मूल्यमा स्याउ बिक्री गर्ने, तर कोल्डस्टोरमा राखेर बहुमूल्यमा बिक्री गर्दैनन् । यस विषयमा किसानले बुझेकै छैनन् । भदौ महिनामै सबै स्याउ बिक्री गरेर असोज–कात्तिकमा स्याउ खोजेर नपाइने अवस्था छ ।’