
एमालेको संस्थापन पक्षले पार्टी पंक्तिको सुझावसहितको अन्तिम प्रतिवेदनहरू केन्द्रीय कमिटीमा छलफलै नगराई केन्द्रीय सचिवालय हुँदै विधान महाधिवेशन हलमा लैजाने भएको छ । केन्द्रीय कमिटीमा मत विभाजन हुन नदिने रणनीतिअनुसार संस्थापन पक्षले काम गरिरहेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर नेताहरूको भनाइ छ ।
१३ भदौमा बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको एमालेले अब १९ भदौमा केन्द्रीय सचिवालयको मात्र बैठक बोलाएको छ । एमालेको विधान महाधिवेशन २० देखि २२ भदौमा ललितपुरको गोदावरीमा हुँदै छ । विधान महाधिवेशनअघि केन्द्रीय कमिटी बैठक नबस्ने भएपछि प्रतिवेदनहरू सचिवालय हुँदै महाधिवेशन हलमा पुग्ने निश्चित भएको हो ।
स्थायी समिति सदस्य तथा प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले विधान महाधिवेशनमा प्रस्तुत हुने अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान मस्यौदा प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रस्तावमाथि छलफल गर्न सचिवालय बैठक बोलाइएको छ । विद्याको सदस्यता नवीकरण गर्ने निर्णय नसच्याए फरक मत राख्ने उनी पक्षधर नेताहरूको तयारी छ ।
पूर्वराष्ट्रपति विद्याको सदस्यता नवीकरण रोक्ने केन्द्रीय कमिटीको निर्णयविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलगायतले फरक मत लैजाने गृहकार्य गरिरहेका छन् । केन्द्रीय कमिटी बैठक बोलाउँदै त्यस विषयमा मत विभाजन हुने गरी छलफल हुने र त्यसबाट महाधिवेशनका प्रतिनिधि धेरै प्रभावित हुन सक्ने सम्भावना बढेपछि संस्थापनले सचिवालय बैठक मात्र राख्ने रणनीति अख्तियार गरेको हो ।
प्रधानमन्त्री ओली पाँचदिने भ्रमण टुंग्याएर चीन भ्रमणबाट बुधबार स्वदेश फर्किँदै छन् । उनी फर्किएको भोलिपल्ट दिउँसो ३ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको छ । स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख गौतमले पार्टीमा फरक मत आउँछ भनेर केन्द्रीय कमिटी बैठक छलिएको आरोप गलत भएको बताए । ‘खासमा अध्यक्ष चीन भ्रमणमा जानुभएको र समय अभाव भएकाले गर्दा केन्द्रीय कमिटी बैठक नराखिएको हो । प्रतिवेदनमाथि २६४ जना केन्द्रीय सदस्यले धारणा राखिसक्नुभएकै छ,’ गौतमले भने, ‘त्यसैले केन्द्रीय कमिटी कसरी छलेको हुन्छ ? ’
फरक मतलाई केन्द्रीय सचिवालय बैठक र महाधिवेशन हलमा राख्न दिइने गौतमको भनाइ छ । ‘प्रतिनिधिलाई फरक मत राख्ने मात्र होइन, मतदानमा भाग लिने मताधिकारसमेत छ,’ गौतमले भने ।