
अमेरिकाको मेरिल्यान्डस्थित ग्रिनबेल्ट सिनेमा र नेपाल–अमेरिका फिल्म सोसाइटीको संयुक्त आयोजनामा यही सेप्टेम्बर महिनामा ‘नेपाली चलचित्र शृंखला’ हुने भएको छ।
यस शृंखलामा चारवटा नेपाली चलचित्र प्रदर्शन हुनेछन्। शृंखलाको पहिलो प्रदर्शनीअन्तर्गत शंकर घिमिरे निर्देशित चलचित्र ‘तेलभिसा’ ७ सेप्टेम्बर दिउँसो १ बजे प्रदर्शन हुने बताइएको छ। त्यसपछि, १४ सेप्टेम्बर साँझ ७ बजे नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’, १७ सेप्टेम्बर साँझ ७ बजे जेरेमी पावर रेगिम्बल निर्देशित डकुमेन्ट्री ‘बिट्विन द माउन्टेन एन्ड द स्काई’ र २० सेप्टेम्बर दिउँसो १ बजे दीपक रौनियार निर्देशित चलचित्र ‘पूजा सर’ प्रदर्शन हुनेछ।
नेपाल–अमेरिका फिल्म सोसाइटीले अमेरिकाका अन्य फिल्म थिएटरहरूसँग सहकार्य गर्दै यस्ता मासिक चलचित्र शृंखलाहरू आयोजना गर्ने तयारी गरिरहेको सोसाइटीका अध्यक्ष पूर्णसिंह बराइलीले बताए।
‘फिल्म फेस्टिभलका लागि नेपाल–अमेरिका फिल्म सोसाइटीसँग सहकार्य हुँदै आएको थियो। तर, यसपटकको फिल्म सिरिज केही फरक र विशेष छ। नेपाली सिनेमा यहाँको समुदायसँग बाँड्न पाउनु हाम्रो लागि गौरवको विषय हो,’ ग्रिनबेल्ट सिनेमाकी कार्यक्रम संयोजक लुसी कोर्टेजले भनिन्।