मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 02 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:५९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एक दशकदेखि उसुमा जमिरहेका सिन्जाली 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:५९:oo

उसुका विजय सिन्जाली अहिले राष्ट्रिय हिरोका रूपमा छन् । यो सफलताको पछाडि सिन्जालीले डेढ दशकदेखि कडा मिहिनेत गरिरहेका छन् । जुनियरस्तरको राष्ट्रिय उसु प्रतियोगितामा उनी अपराजितजस्तै रहे । प्रतिभा निखारिँदै जाँदा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जिते । सन् २०१६ को भारतको गुवाहाटी र सिलोङमा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग)मा उनले करिअरकै ठुलो पदकका रूपमा रजत जिते ।

भारतमा स्वर्ण जित्न नसकेको हुटहुटीलाई उनले सन् २०१९ मा काठमाडौंमै भएको १३औँ सागमा पूरा गरे । थाउलोको वाङक्वाङमा सिन्जालीले सर्वाधिक ९.४८ अंक हासिल गर्दै स्वर्ण जित्ने सपनालाई पूरा गरी छाडे । उनको यो स्वर्ण एकैपटक शिखरमा पुग्यो । उनी फर्ममा रहँदा अन्तर्राष्ट्रिय लेभलमा पनि विपक्षी खेलाडी सहजै परास्त हुन्थे । गत अक्टोबरमा जापानको योकोहामा सम्पन्न तेस्रो थाउलो विश्वकपमा सिन्जालीले कांस्य पदक जितेर नयाँ इतिहास रच्न सफल भए । 

नौजना खेलाडीबिचको प्रतिस्पर्धामा सिन्जालीले अमेरिका, मेक्सिको, बेलायतलगायत ६ राष्ट्रका खेलाडीलाई पछि पार्दै उनले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाए । यसै पदकका कारण सरकारले उनलाई ६५ लाख रुपैंयाँ प्रदान गरी पुरस्कृत गर्‍यो । नेपाली खेलकुदमा सरकारबाट अहिलेसम्मकै ठुलो रकम पाउने खेलाडीमध्ये उनी एक बनेका छन् । 

सागदेखि विश्वकपसम्मको सफलताका कारण सिन्जाली नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले ३० भदौमा आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा मनोनयनमा परेका छन् । ‘मैले यो अवार्डमा लगभग १० वर्षसम्म ’स्टेज सो’ गरेको छु । कुनै दिन मनोनयनमा पर्छु होला भन्ने सपना थियो, अहिले मनोनीत हुन पाउँदा सपना पूरा भएको छ,’ सिन्जालीले भने । यो अवार्डको विजेता समर्थक, खेल प्रशिक्षक र खेलकुद पत्रकारहरूको मतका आधारमा हुने छन् । 

अन्तर्राष्ट्रिय एरिनामा सफलता 
थाउलो विश्वकपमा प्राप्त कांस्यले मात्रै सिन्जालीको करिअरलाई न्याय गर्दैन । उनले आफ्नो करिअरमा अन्य थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक निरन्तर जितिरहेका छन् । उनले साउदी अरेबियाको रियादमा भएको विश्व कम्ब्याट च्याम्पियनसिपमा पनि कांस्य जितेका थिए । चीनमा भएका दुई अन्तर्राष्ट्रिय आमन्त्रण उसु च्याम्पियनसिपमा तुइलेन विधामा तेस्रो स्थान र जियान्सु विधामा आठभित्र पर्नसमेत सफल भए । घरेलु प्रतिस्पर्धामा सिन्जाली त्रिभुवन आर्मीमा आबद्ध छन् । पिपल्स च्वाइस अवार्डको विजेता चयन भोटिङबाट हुने गर्छ । त्यसमध्ये ५० प्रतिशत मतभार खल्ती वालेटको भोटिङ, फेसबुकको मतभार २५ प्रतिशत र बाँकी २५ प्रतिशत भोट पत्रकार र मुख्य प्रशिक्षकका हुने छन् । 

छुटाउनुभयो की ?