
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन विश्वविद्यालयबिचमा आपसी सहकार्य गर्नका लागि पाँचवर्षे समझदारी कायम गरिएको छ । ज्ञान, सिप र नवप्रवर्तनलाई परिचालन गर्दै सार्वजनिक हितमा सेवा गर्ने लक्ष्यका साथ नगरपालिका र त्रिभुवन विश्वविद्यालयबिच आपसी समझदारी कायम गरिएको हो ।
शैक्षिक सहकार्य, प्रयोगात्मक अनुसन्धान र समुदायकेन्द्रित नवप्रवर्तनलाई अघि बढाउने साझा प्रतिबद्धतालाई स्वीकार गर्दै त्रिभुवन विश्वविद्यालयसँग आपसी समझदारी कायम गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताएका छन् । नगरपालिका र त्रिविबिचको दुईपक्षीय आपसी सहकार्यको माध्यमबाट वातावरण, कृषि, शिक्षा, जीविकोपार्जन, जलवायु सहनशीलता र नवप्रवर्तनमा जोड दिने समझदारी भएको छ ।
राजधानी काठमाडौँमा आइतबार भएको दुईपक्षीय भेलामा गरिएको पाँचवर्षे समझदारीपत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख भट्टराई र त्रिविको तर्फबाट प्राध्यापक डा. केदारप्रसाद रिजालले हस्ताक्षर गरेका छन् । शैक्षिक, अनुसन्धान तथा विकास प्रयासहरूमा सहकार्यका लागि आपसी समृद्ध प्लाटफर्म स्थापना गर्ने, विश्वविद्यालयस्तरीय ज्ञान तथा सिप र समुदायस्तरीय आवश्यकता तथा प्राथमिकताबिचको अन्तरसम्बन्धलाई मजबुद बनाउने, बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलनमा सफल सहकार्य सुनिश्चित गर्ने उद्देश्यका साथ समझदारी कायम गरिएको जनाइएको छ ।
यस्तै, नवप्रवर्तन, क्षमता अभिवृद्धि र प्रमाणमा आधारित नीति निर्माणलाई स्थानीयस्तरमा प्रवर्द्धन गर्ने, ज्ञान आदान–प्रदान तथा प्रविधि हस्तान्तरणमार्फत युवाको संलग्नता, महिलाको सशक्तिकरण र समावेशी सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको दुईपक्षीय भेलाले जारी गरेको समझदारीपत्रमा उल्लेख छ । बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन, अनुसन्धान, प्रवर्तन र प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि र तालिम, शैक्षिक संलग्नता र ज्ञान आदान–प्रदान र सामुदायिक विकास तथा नीतिगत सहयोगमा सहकार्य गर्नेगरि समझदारी कायम गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिए ।