मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:१५:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कैलाश मानसरोवर यात्रा र पर्यटक भिसा पुनः सुरु गर्ने मोदी–सी सहमति

भारतबाट मानसरोवर जान सबैभन्दा छोटो रुट नेपाली भूमि लिपुलेक हो, भारतले पछिल्लो समय अधिकतम चासो देखाएको पनि लिपुलेकमै छ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:१५:oo

भारत र चीन कैलाश मानसरोवर यात्रा र पर्यटक भिसा पुनः सुरु गर्ने प्रक्रिया अगाडि बढाउन सहमत भएका छन् । सांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलन चीनको तियान्जिनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबिच भएको भेटवार्तामा प्रत्यक्ष उडान र भिसा सहजीकरणमार्फत जनता–जनताबिचको सम्बन्धलाई सुदृढ पार्ने समझदारी छ । 

‘दुवै नेताहरूले कैलाश मानसरोवर यात्रा र पर्यटक भिसा पुनः सुरु गर्ने प्रक्रियालाई अगाडि बढाउँदै प्रत्यक्ष उडान र भिसा सहजीकरणमार्फत जनता–जनताबिचको सम्बन्धलाई सुदृढ पार्नुपर्ने आवश्यकतालाई जोड दिएका छन्,’ आइतबार भारतीय विदेश मन्त्रालयले जारी गरेको सातबुँदे वक्तव्यको चौथो बुँदामा उल्लेख छ । चिनियाँ पक्षले भने त्यसबारे केही बताएको छैन । 

कैलाश मानसरोवर यात्राबारे भारत र चीनका कार्यकारी प्रमुखबिच भएको समझदारी उनीहरूबिच नेपालको लिपुलेक नाका हुँदै दुई देशबिचको व्यापार विस्तार गर्ने पूर्वसहमतिकै निरन्तरता मानिएको छ । जबकि लिपुलेक नाका हुँदै दुई देशबिचको व्यापार विस्तार गर्ने उनीहरूको सहमतिप्रति शनिबार चिनियाँ राष्ट्रपति सीसँगको भेटमा प्रधानमन्त्री ओलीले आपत्ति जनाएका छन् । 

३ भदौमा दुई देशबिच लिपुलेक नाका हुँदै व्यापार विस्तारसम्बन्धी सहमति भएको थियो । सीसँगको भेटवार्ताको सहमति ३ भदौकै सहमतिको निरन्तरता हो कि होइन, भारतीय विदेश मन्त्रालयको वक्तव्यमा केही पनि उल्लेख छैन । शिखर सम्मेलनकै क्रममा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबिच करिब ५० मिनेट द्विपक्षीय छलफल भएको थियो । 
यद्यपि, भारत र चीनबिच डिसेम्बर २०२४ मै २०२५ को गर्मीमा कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्न सहमत भएको थियो । त्यसपछि हालैका केही महिनामा भारतीयहरूले भारतबाट सिधै र नेपाल हुँदै कैलाश यात्रा गरेका छन् । भारतीय यात्रुहरू भारतबाट सिधै वा नेपाल भएर पनि कैलाश यात्रामा जाने गर्छन् ।

उनीहरू भारतीय सीमा सिक्किमको लद्दाख (नाथुला नाका) र लिपुपासबाट सिधै तिब्बत प्रवेश गरेर कैलाश यात्रामा जाने गर्छन् । मोदी–सीबिचको पछिल्लो समझदारीले लिपुपासबाट हुने कैलाश यात्रा सहज बनाउनेछ । यस्तै, भारतीय नागरिक नेपाल हुँदै हुम्लाको हिल्सा, रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका भएर कैलाश यात्रा जाने गरेका छन् ।

तर, गत असारमा रसुवागढीमा रहेको मितेरीपुल बगाएपछि यो मार्ग अहिले बन्द छ । बर्सेनि हजारौँको संख्यामा भारतीयहरू नेपाल भएर कैलाश मानसरोवर यात्रा जाने गरेका छन् । कैलाश यात्राका लागि लिपुपास प्रयोग गर्ने विकल्पले धेरै भारतीयलाई नेपाल भएर जानुपर्ने बाध्यता हट्न सक्छ । 

यद्यपि, कोरोना महामारी र सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकको झडपसँगै भारतीय नागरिकको कैलाश यात्रा रोकिएको थियो । सन् २०२५ मा मात्र यो खुलेको छ । यस्तै, कोरोना महामारीपछि भारत–चीन सिधा उडान पनि रोकिएको छ ।दुई देशबिचको सम्बन्धमा देखिएको प्रगति उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीले भनेका छन्, ‘कैलाश मानसरोवर यात्रा फेरि सुरु भएको छ । दुई देशबिच सिधा उडान पनि सुरु गर्दै र्छौँ ।’

जिएसआईलाई समर्थन हुँदैन : कांग्रेस
सत्तारूढ दल कांग्रेसले प्रधानमन्त्री केपी ओलीद्वारा चिनियाँ नेतृत्वलाई ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई)मा दिएको समर्थनलाई स्वीकार नगर्ने स्पष्ट पारेको छ । चिनियाँ विदेश मन्त्रालयले ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई)को ढाँचामा नेपालले समर्थन गरेको दाबी गरेको अर्को दिन सत्तारूढ दल कांग्रेसको प्रतिक्रिया आएको हो । 
‘चीनसँगको वार्तामा भएको विस्तृत विषयमा मलाई जानकारी छैन । तर, यति कुरा स्पष्ट रूपमा भन्न सक्छु कि नेपाल कुनै पनि देशको सैन्य एवं सुरक्षा अवधारणा वा प्रस्तावलाई समर्थन गर्न वा त्यसमा सामेल हुन सक्दैन ।

नेपालले जसरी अमेरिकाको हिन्द प्रशान्त रणनीतिलाई समर्थन गरेन, त्यसैगरी चीनको जिएसआईलाई पनि समर्थन गर्न सक्दैन, त्यसमा सामेल भएर सहकार्य गर्ने त प्रश्नै हुँदैन,’ महतले भने । राष्ट्रपति सीसँगको भेटवार्तापछि प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयले भनेको थियो, ‘चीनले प्रस्ताव गरेको तीन प्रमुख विश्वव्यापी पहलहरूलाई नेपाल समर्थन गर्दछ ।’

चीनले पछिल्लोपटक ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जिडिआई), ग्लोबल सिभिलाइजेसनल इनिसिएटिभ (जिसिआई) र ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई)को ढाँचामा देशहरूसँग सहकार्यको प्रस्ताव गरेको छ । यीमध्ये नेपालले जिडिआई र जिसिआईलाई समर्थन गरेको छ । तर, सुरक्षासँग सम्बन्धित विषयमा नेपाल प्रवेश नगर्ने यसअघिका सरकारहरूको धारणा थियो । तर, चिनियाँ विदेश मन्त्रालयका अनुसार ओलीले तीनै पहललाई समर्थन गरिदिएका छन् ।

 तियान्जिनमा ओली–मोदी साइडलाइन भेटवार्ता 
सांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुन चीनको तियान्जिन पुगेका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आइतबार साइडलाइन भेटवार्ता भएको छ । चिनियाँ राष्ट्रपति सीले विदेशी पाहुनाहरूका लागि आइतबार आयोजना गरेको रिसेप्सनमा ओली र मोदीबिच भेट भएको हो ।

समकक्षी ओलीसँगको साइडलाइन भेटको तस्बिर मोदीले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका थिए । भेटपछि मोदीले नेपालका प्रधानमन्त्रीसँग भेट हुँदा खुसी लागेको भन्दै नेपालसँगको सम्बन्ध गहिरो र विशेष रहेको उल्लेख गरेका छन् । ‘तियान्जिनमा नेपालका प्रधानमन्त्री केपी ओलीसँग भेट हुँदा खुसी लाग्यो । भारत र नेपालको सम्बन्ध गहिरो र अत्यन्तै विशेष छ,’ मोदीले फोटो सेयर गर्दै लेखेका छन् ।

साइडलाइन भेटवार्ता छोटो भएकाले शिष्टाचारबाहेक दुई देशबिचको सम्बन्ध र खासगरी चीन–भारतले नेपालको लिपुलेक नाका हुँदै दुई देशबिचको व्यापार विस्तार गर्ने पछिल्लो सहमतिबारे ओलीले कुरा उठाएको वा नउठाको सम्बन्धमा दुवै पक्षले केही बताएका छैनन् । मोदीसँगको भेटमा प्रधानमन्त्री ओलीपत्नी राधिका शाक्य पनि सँगै थिइन् । 

 भारतीय विदेश मन्त्रालयले जारी गरेको सातबुँदे वक्तव्यको चौथो बुँदामा उल्लेख छ– ‘दुवै नेताहरूले कैलाश मानसरोवर यात्रा र पर्यटक भिसा पुनः सुरु गर्ने प्रक्रियालाई अगाडि बढाउँदै प्रत्यक्ष उडान र भिसा सहजीकरणमार्फत जनता–जनताबिचको सम्बन्धलाई सुदृढ पार्नुपर्ने आवश्यकतालाई जोड दिएका छन् ।’

छुटाउनुभयो की ?