मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १४ शनिबार
  • Saturday, 30 August, 2025
रमेश सुवेदी काठमाडाैं
२o८२ भदौ १४ शनिबार १o:२६:oo
Read Time : > 4 मिनेट
फिचर प्रिन्ट संस्करण

७४ वर्षमा पनि जिमखाना धाइरहेका ज्ञानरत्न

Read Time : > 4 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १४ शनिबार १o:२६:oo

ज्ञानरत्न शाही ७४ वर्षका भए । यत्तिको उमेरमा पनि उनी दैनिक जिमखानामा भेटिन्छन् । ८६ केजीका उनले यसैसाता काठमाडौंमा सम्पन्न एसियन पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ को स्वर्ण पदक जिते । पुरुष ९४ केजी समूहमा उनले भारबहन गरेका थिए । ज्ञानरत्नले सिकाएका छोरा रुजेश शाहीले बडिबिल्डिङ विश्व च्याम्पियनसिपमा देशलाई तीन पदक दिलाइकेका छन् । शाहीले रमेश सुवेदीलाई उपाधि जित्दाको क्षणदेखि आफ्नो खेल जीवनको विगत र वर्तमान सुनाएका छन्:

००८ सालमा काठमाडौंमै जन्मिएँ । ०२६ सालदेखि जिममा अभ्यास गर्न थालेँ । चन्द्र राई गुरुले १८ वर्षको उमेरमै जिम सुरु गराउनुभएको थियो । यतिवेला जिम जानुपर्छ, ज्यान बनाउनुपर्छ भन्ने मानसिकता त्यति थिएन । गुरुले बुबा देवरत्न शाहीलाई निकै अनुरोध गरेपछि म जिममा जोडिएँ । जिममा जाने भएपछि सुरु सुरुमा चना खुबै खाइयो । पछि मात्रै अन्डा र दुध खान थालियो । 

त्यसपछि त लखतीर्थमा रहेको जिममा भने रहरले जान थालेँ । त्यतिवेला अहिलेको जस्तो सुविधासम्पन्न जिमहल थिएनन् । मेसिन नै खासै थिएनन् । हातले नै बनाएका सामान लिने हो । एउटा टेबल, एउटा डन्डी, दुईवटा चक्का यति नै हो जिमखानामा हुने । अग्राखको काठबाट जिमका सामान तयार पारिन्थ्यो । पेटको लागि अभ्यास काठको फ्ल्याकमा गर्ने हो । साइकलको ट्युब हुन्थ्यो । त्यो नै प्रयोग गर्ने हो । केही भारबहन गर्न पर्‍यो भने वरपर मान्छे राख्नुपर्थ्यो । अहिलेको जस्तो प्रविधि हुँदैन थियो । म्याट नै हुँदैनथ्यो । भुइँमै बसेर सबैले जिम गर्ने हो । डम्बेल पनि आफैँ बनाउने हो । रडमै कसेर बनाउने गरेका थियौँ । कहिलेकाहीँ इँटाले पनि काम चलाउनुपर्थ्यो । 

मैले धेरै क्लबमा अभ्यास गरेँ । न्युफेसेस क्लब, नेपाल व्यायाम मन्दिर, काठमाडौं क्लबमा अभ्यास गरेँ । अहिलेको जस्तो चोक–चोकमा जिमखाना हुँदैनथ्यो । यसरी नै कोटेश्वरमा बस्दा दैनिक कीर्तिपुर पुगेर पनि अभ्यास गराएँ । त्यही भएर प्रधानपञ्चले मलाई त्यहाँको जग्गा दिलाइदिए ।

०३८ सालमा मिस्टर नेपाल प्रतियोगितामा शिवलाल श्रेष्ठ विजयी भए । यही समय पावर लिफ्टिङ गेम भएको थियो । ३० वर्षको उमेरमै प्रतियोगितामा दोस्रो भएँ । निलकण्ठ मानन्धर च्याम्पियन भए । ३० वर्षको उमेरदेखि नै जिम गर्न छाडेँ । घरायसी कारण, व्यक्तिगत कारण खेल नै छाड्नुपर्ने भयो । 

हाम्रो प्रेमकथा 
लभ परेपछि भने निकै दु:ख पाएँ । २० वडाकै निरु प्रधानसँग लभ परेको थियो । जिम जाँदा–जाँदा यस्तो भएको थियो । म नेवार शाही भएँ, उनी प्रधान । त्यसैले पनि घरमा मान्छेले मन पराएनन् । बुबा–आमाले भनेको मानिनँ । अन्तरजातीय भएर हो वा अरू केही सोच थियो होला । घरमा वास पाउने देखिएन । राम्रा परिवार, खानदानी नै छोरी दिन्छौँ भन्न आए । तर, म उनीहरूको पछि लागिनँ । निरुलाई छाड्दिनँ भन्ने अठोट लिएर अगाडि बढँे । बरु बिहे गरौँ र संघर्ष गरौँ भन्ने भयो । घरमा स्वीकार नहुने देखेपछि हामी काठमाडौंबाट भाग्यौँ । नेपालगन्ज जाने निर्णय गर्याैं । त्यो वेला नेपालगन्ज जान भारत हुँदै जानुपर्ने थियो । रक्सौल पुग्यौँ । त्यहाँ पुगेर ढुक्क महसुस गरेका थियौं ।

३१ वर्षको उमेरमा विवाह गरेर, त्यहाँबाट भारत हुँदै नेपालगन्ज पुग्यौँ । निरु क्याम्पसमा काम गर्ने भइन् । म नेपालगन्जकै विद्युत् प्राविधिकरणमा जागिरे भएँ । पछि म नेपालगन्जको गर्मी सहन नसकेपछि काठमाडौं फर्किएँ । निरु पनि बच्चा हुने भएपछि एक वर्षमै काठमाडौं फर्किइन् । त्यसपछि मामाघर भक्तपुर गयौँ । सात–आठ दिनपछि चाबहिल मित्रपार्क गएर बस्यौँ । दुई–तीन महिनापछि जबर्जस्ती घर गएँ । पछि परिवारले स्वीकार गर्‍यो । तर, सम्पत्ति लिइनँ । जेठो छोरो ५५ सालमा बितेको हो । कोटेश्वरको घरको बरन्डाबाट लडेर देहावसान भयो । ६ वर्षपछि बुहारीलाई पनि विवाह गरेर दिएँ । 

... अनि छोरालाई खेलाडी बनाएँ 
०७५ सालसम्म हामी कोटेश्वरमा बस्दै आएका थियौं । अहिले भने बौद्ध सर्वेश्वरमा बस्छौं । आफू खेलबाट टाढा भएपछि छोरा रुजेशलाई खेलाडी बनाउने सपना देखेँ । आपूmले जवानीमा धेरै खेल खेल्न नपाए पनि छोरोलाई भने एक दिन नेपाल च्याम्पियन बनाउँछु भन्ने लाग्यो । त्यो बनाएर पनि देखाएँ । ६० केजी तौल समूहको विश्व शारीरिक सुगठन प्रतियोगितामा छोराले नेपाललाई तीन (दुई रजत, एक कांस्य) पदक जिताएँ । अहिलेसम्म उसले विश्व च्याम्पियनसिप पनि खेलिसक्यो ।

कोभिड–१९ पछि पुन: फिटनेसमा ध्यान दिन थालेँ । परिवार सबैले हुन्छ भनेपछि जितको तयारी गरेँ । श्रीमती निरु शाही प्रधानले झनै साथ दिइन् । अहिले कान्छो छोराले निकै साथ दिएको छ । परिवारमै खेलकुदको माहोल छ । मेरो डाइट छोरोले नै हेर्छ । परिवारले नै खाना मिलाउनुपर्छ । खाना बनाइदिने, कति घण्टा सुत्ने, कति घण्टा घाममा सुत्ने सबै परिवारले हेरिदिन्छन् । यो खेल नै त्यस्तै गाह्रो छ ।

बौद्धको रोयल जिममा दैनिक अभ्यास गरिरहेको छु । दुई–तीन महिना त निकै गाह्रो भयो । प्रतियोगितामा भन्दा पनि पहिला फिट हुन खेलेको हो । त्यसैले फिट हुन नै केन्द्रित भएँ । बिचमा पुन: रोकियो । श्रीमती ६ महिना प्यारालाइसिसबाट ग्रस्त भइन् । त्यो समयमा मैले अभ्यास गर्नै पाइनँ ।

अहिले मलाई देख्दा मान्छेले मोटो भन्छन् । तर, शरीरलाई सहज छ । ज्यान अहिले निकै राम्रो देखिन्छ । आफ्नो ज्यान देख्दा खुसी लाग्छ । अहिलेसम्म कुनै रोग छैन । बिचमा पत्थरी भएको थियो । अहिले जिममा लागेपछि सबै ठिक भएको छ । 

... अनि भएँ च्याम्पियन
सुरुमा नेपालमा रूप कार्कीले पावरलिफ्टिङ व्यवसाय सुरु गरेको हो । त्यसपछि बुद्धिजंग कार्कीले पावरलिफ्टिङमा प्रतियोगिता सुरु गरे । सुरुमा अभ्यास गर्दा ७० केजी मात्रै उठाएको थिएँ । नेपालमै एसियन च्याम्पियनसिप हुने भयो । प्रतियोगिताको पावरलिफ्टिङमै पछि १३० केजी उठाएँ । स्वाटमा १३५ केजी उठाएँ ।

मैले प्रतिस्पर्धा गर्दा पुरुष ९४ केजीमा गरेको हो । तर, मेरो प्रतिस्पर्धा हुने र नहुने नै दोधार थियो । दुई दिनअघिसम्म पनि टुंगो लागेको थिएन । अन्तिम समयमा राखिएको थियो । अघिल्लो दिन मात्र मलाई मेरो विधा थपिएको जानकारी आएको थियो । प्रतियोगिता सुरु भयो । सबैको अघि भयो । मेरो भने अन्तिम समयमा राखिएको थियो । मभन्दा कमका ६२ वर्षको मान्छे आएका थिए सुनील दत्त भन्ने भारतीय खेलाडी । माल्दिभ्स, भुटान, श्रीलंकाबाट पनि आएका थिए । सबैभन्दा अनुभवी मान्छे म नै भएँ । पाको मान्छे भनेर सबैले फोटो खिचेर लगे । त्यो मेरो जीवनको विशेष दिन थियो । 

माहोल नै मतर्फ आयो 
म खेल्ने भनेपछि माहोल नै मतर्फ फर्कियो । ७४ वर्षको बुबाले पावरलिफ्टिङ गर्‍यो भनेर हल्ला चल्यो । पुलिस एकेडेमीमा भएका धेरै मान्छे मैले उचालेको हेर्न हलभित्र प्रवेश गरे । मेरो खेल हेर्न एक्लै बसेकी श्रीमती निरुलाई त सबैले छेके । उनले राम्रोसँग हेर्नै पाइनन् । हल नै गुन्जायमान भयो । धेरैले साथ दिए । हौसला बढाए । यसपछि सहज लाग्यो । डर भन्ने चिज नै थिएन । मैले एकदमै सहजै उठाएँ । एकदमै राम्रो भयो । तयारी राम्रो गरेको थिएँ । छोरोले पनि राम्रो सिकायो । जमानामा मैले छोरोलाई सिकाएँ । छोरो प्रविधिमैत्री भइसकेको छ । उसले मलाई च्याम्पियन बनाउन भूमिका खेल्यो । छोरो अहिले नेपालको टिम लिएर थाइल्यान्ड पुगेको छ ।

पावरलिफ्टिङमा भविष्य राम्रो छ जस्तो लाग्छ । तर, खर्च धान्नै गाह्रो हुने । सामान्य परिवारको मान्छेलाई झनै गाह्रो हुन्छ । म बिहान नै ५–६ वटा अन्डा खान्छु । उमालेको मासु दुई–तीन सय ग्राम खान्छु । ज्यान फिट राख्न यति गर्नैपर्छ । ओट्स खान्छु । दुध फलफूल खान्छु । बरु भात कम खान्छु । मेरो छोरो अझै १०–१५ ओटा अन्डा खान्छ । खाना नै खाँदैन । किन भन्दा ज्यान फिट राख्न । निकै गाह्रो भए मात्रै खाना खाने हो । यत्तिको फिट नभएर बस्न निकै गाह्रो छ । अहिले अन्डा निकै महँगो छ । फेरि राज्यले साथ दिएको छैन । सबै व्यक्तिगत खर्चमा हुने हो । हाम्रो पावरलिफ्टिङ संघ नै दर्ता नहुँदा निकै गाह्रो छ । थाइल्यान्डमा हुने एक खेल खेल्ने योजना थियो । तर, प्रतियोगितामा जाने वातावरण नै छैन । थाइल्यान्डमा हुने प्रतियोगितामा १ लाख ५० हजार जस्तो खर्च हुन्छ । आफ्नै खर्चमा जान्छु भन्दा पनि पाइनँ ।