मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
२o८२ भदौ ११ बुधबार १३:५८:oo
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

पोखरा र कोरियाको चियोङ याङबिच खेल गतिविधिमा सहयोग गर्ने गरी पाँच वर्षका लागि समझदारी

विभिन्न आठ खेलमा पोखराका खेलाडीहरुको कौशल विकास, विशेषज्ञता सगै खेलाडी आदानप्रदान गर्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार १३:५८:oo

पोखरा महानगरपालिका र कास्की जिल्ला खेलकुद विकास समितिसँग गणतन्त्र कोरियाको स्थानीय सरकार चिओङ याङ काउन्टी खेलकुद समितिले खेल गतिविधिमा सहयोग गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । पोखरा महानगरपालिको कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहवरमा पाँच वर्षका लागि काम गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र जिल्ला खेलकुद विकास समितिका तर्फबाट अध्यक्ष मिलन गुरुङसँग चिओङ याङका अध्यक्ष हान ग्वाङ सेओकले छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। 

खेलाडी मुकुन्द विष्ट र अन्तर्राष्ट्रिय बक्सिङ खेलाडीसमेत रहेका पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईको पहलमा तीन संस्थाबिच समझदारी भएको हो। समझदारीपछि यसको कार्यान्वयनका लागि पोखरा १५ का अध्यक्षसमेत रहेका पोखरा महानगर खेलकुद विकास समितिका संयोजक तोरणबहादुर बानियाँ, पोखरा– ३ का वडाध्यक्ष प्रकाशमान उदासलाई सम्पर्क व्यक्तिको रूपमा तोकिएको छ।

यस्तो छ सहयोग र समझदारीको उद्देश्य                                               

खेलकुद गतिविधिमार्फत चियोङले पोखरा महानगरपालिका खेलकुद समितिबिच मैत्रीपूर्ण सम्बन्धलाई बढावा दिनु, खेलकुद गतिविधिहरूमा आदान–प्रदान कार्यक्रमहरू सुरु गर्नु ता कि पोखरा र चियोङ याङका खेलाडीहरू प्रशिक्षकहरू र खेलप्रेमी नागरिकहरू विभिन्न आदान–प्रदान र सहयोग कार्यक्रमहरूमार्फत एक–अर्काको नजिक हुन सकून्, पोखराका खेलाडीहरूको प्रदर्शनलाई अझ सुधार्नका लागि समन्वय र सहयोग विस्तार गर्नु, कोरियाली खेलकुदसम्बन्धी तथा अन्य सामान र सेवाहरू नेपालमा निर्यात गर्नका लागि विभिन्न क्षेत्रहरू पत्ता लगाउने उद्देश्य रहेको छ।

विभिन्न आठ खेलमा पोखराका खेलाडीहरूको कौशल विकास, विशेषज्ञतासँगै खेलाडी आदान–प्रदान गर्ने         

समझदारीअनुसार कोरियाले फुटबल, बक्सिङ, तोक्वान्दाे, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, लनटेनिस, एथलेटिक्स, म्याराथनजस्ता विभिन्न खेलकुद क्षेत्रहरूमा पोखराका खेलाडीहरूको कौशल विकास गर्न तथा विशेषज्ञता प्राप्त गर्न सँगै पोखरा र चियोङ याङका खेलाडीहरूको आदान–प्रदान गरिने भएको छ।  

दुई सहरका खेलाडीहरूबिच नियमित मैत्रीपूर्ण खेलहरू आयोजना गरिने, कोरियाका प्रशिक्षकहरूद्वारा पोखराका खेलाडीहरूका लागि नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा पोखराको टोली छनोटसँगै गठन गर्ने, पोखराका खेलाडीहरूसँग सम्बन्धित विभिन्न प्रविधिहरू उपलब्ध गराउने, युवा आदान–प्रदान कार्यक्रमहरू जस्तै विद्यालय/कलेजस्तरीय कार्यक्रम, प्रशिक्षण आदान–प्रदान, मैत्रीपूर्ण खेल, प्रशिक्षक सहयोगलगायतका कार्यक्रमहरू सञ्चालन गर्ने, पोखराका खेलकुद संस्थाहरूलाई व्यावसायिक स्तरमा राम्रो व्यवस्थापनसँगै खेलकौशलमा सहयोग गर्ने, पोखरा महानगरका खेलकुद गतिविधिहरूमा सम्भावित सहकार्यका क्षेत्रहरू पत्ता लगाउनु सुरुवात गर्ने रहेका छन्। 

यसका लागि महानगर र जिल्ला खेलकुद विकास समितिले आवश्यक नीतिहरू र संस्थागत प्रणालीहरू सिर्जना गर्ने, खेलाडीहरूले सामना गरिरहेका विद्यमान समस्याहरू पहिचान गर्न सहयोग गर्ने, आदानप्रदान कार्यक्रमहरूको सम्बन्धमा कोरियाली समकक्षीहरूसँग समन्वय गर्नु र सहज बनाउनु, कोरियाली समकक्षहरू र खेलकुदकर्मीकहरूको पोखरा भ्रमणलाई सहज बनाउनु, कोरियाली समकक्षीहरूले अनुरोध गरेको आवश्यक सम्बन्धित जानकारी उपलब्ध गराउनु, खेलकुद प्रशिक्षण र प्रतियोगिताहरूका लागि स्थान उपलब्ध गराउन समन्वय गर्ने, तल्लो कालीगण्डकी र सेती उपत्यकाहरू, मध्यकास्की क्षेत्रहरू र मनाङ तथा मुस्ताङमा उच्च हिमाली प्रशिक्षणजस्ता खेलकुद प्रशिक्षण कार्यक्रमहरूलाई सहज बनाउनु र समन्वय गर्ने काम गर्नुपर्नेछ। 

यसैगरी, चियोङ याङले समझदारी कार्यान्वय गर्न नीतिगत र संस्थागत प्रणालीहरू सिर्जना वा विकास गर्ने, सहकार्यका क्षेत्रहरू र ढाँचा पहिचान, कोरियाली खेलकुद प्राधिकरणहरू र अन्य सहरहरू, शैक्षिक संस्थाहरू, निजी क्षेत्र र रुचि भएका व्यक्तिहरूसँग समन्वय गर्ने, प्रशिक्षणका लागि अन्तर्राष्ट्रिय स्तरका कोरियाली खेलकुद प्रशिक्षकहरू उपलब्ध गराउने, व्यवस्थापन र सञ्चालन कौशल सुधार्न व्यावसायिक विशेषज्ञता उपलब्ध गराउने,  खेलाडीहरूको प्रदर्शन सुधारका लागि नियमित सहयोग गर्ने गरी हस्ताक्षर गरिएको हो।

सम्झौतापछि मेयर आचार्यले दुई संस्थाको समझदारीपछिको सहकार्यले खेलकुद पूर्वाधार निर्माण र खेलाडी उत्पादनमा कोरियाली अनुभवले धेरै कुरा सिक्न सकिने बताएका थिए । सहकार्यले खेल क्षेत्रमा नयाँ अध्याय सुरु हुने भन्दै आफूहरूको लक्ष्य खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउनु, पोखरालाई ‘स्पोर्टस्  हब’को रूपमा विकास गर्नेसँगै खेलकुदको मुहार फेर्नमा हातेमाले गर्न सहयोग हुने बताएका थिए।

चिओङ याङका अध्यक्ष सेओकले उन्नत प्रविधि र प्रशिक्षण विधिहरूमार्फत पोखराका खेलाडीहरूको प्रदर्शनमा सुधार गर्न सहयोग पुग्ने बताए । युवा खेलाडीहरू आदानप्रदान, विद्यालयस्तरका खेलकुद कार्यक्रममार्फत पोखरामा रहेका खेलकुद संस्थाहरूलाई व्यावसायिक स्तरको सीप विकासमा सहयोग, खेल सम्भावनाका क्षेत्रहरूको खोजी गरी काम गर्ने बताएका थिए।