
नेपाल कुस्ती संघले पूर्ववरिष्ठ उपाध्यक्ष समिम मिया अन्सारीसँग कुनै सम्बन्ध नरहेको बताउँदै ध्यानाकर्षणपत्र जारी गरेको छ । पछिल्लो समय नेपाल ओलम्पिक कमिटी (एनओसी)को विवादमा मुछिएका अन्सारीले आफू कुस्तीको प्रतिनिधि रहेको दाबी गरेपछि संघले बुधबार औपचारिक धारणा सार्वजनिक गरेको हो । पत्रमा महासचिव खगेन्द्रबहादुर बस्नेतले हस्ताक्षर गरेका छन् ।
४ चैत ०८० मा भएको नेपाल कुस्ती संघको चुवानी साधारणसभाबाट प्रकाशकुमार कुसारी नयाँ अध्यक्ष बनेका थिए । यसअघि कुस्ती संघमा विवाद रहँदै आएको थियो । सर्वोच्च अदालतले ३ चैत ०७७ मा अध्यक्ष राज मोहम्मद मिया अन्सारी र वरिष्ठ उपाध्यक्ष समिम मिया अन्सारी रहेको संघलाई खारेज गरेको थियो । संघले प्रेस विज्ञप्तिमा यसअघिको विवाद सम्मानित न्यायालयले टुंगो लगाइसकेको र सरकारी तथा अन्तर्राष्ट्रिय मान्यतासमेत कुसारीको नेतृत्वलाई सुम्पिसकेको उल्लेख छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एनओसी दुवैले आफ्नो वेबसाइटमा कुसारीलाई मान्यता दिएका छन् । जारी पत्रमा भनिएको छ, ‘अहिलेको वर्तमान समयमा केही अनधिकृत तथा नेपाल कुस्ती संघसँग कुनै सरोकार नभएका व्यक्तिले संघको नाम लिँँदै गरेको गतिविधिमा हाम्रो गम्भीर ध्यानाकृष्ट भएको छ ।’
पत्रमा कुस्ती संघले अन्सारीकै नाम नै किटान गरेर भनेको छ, ‘नेपाल कुस्ती संघको नाम लिएर अन्य कुनै व्यक्ति विशेषले गरेको काममा हाम्रो पूर्ण असहमति छ । हाल तदर्थ ओलम्पिक कमिटीको प्रवक्ताको रूपमा समिम मिया अन्सारीको नाम कुस्तीसँग जोडिएका कारण निजको नेपाल कुस्ती संघसँग कुनै सम्बन्ध नरहेको जानकारी गराउँदछौँ ।’
जीवनराम श्रेष्ठ विधान संशोधन गर्दै तेस्रो कार्यकाल एनओसीको अध्यक्ष भएपछि विवादले नयाँ मोड लिएको छ । सरकारले यो कमिटीलाई मान्यता दिएको छैन । तर, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलिम्पिक काउन्सिल अफ एसिया (एसिए) ले श्रेष्ठलाई नै मान्यता दिइसकेको छ । जीवनराम श्रेष्ठ तेस्रो कार्यकाल अध्यक्ष भएपछि नेपाल सरकारले तदर्थ समिति गठन गरेको हो । दुई कार्यकाल एनओसीकै अध्यक्ष र महासचिव रहेका ध्रुवबहादुर प्रधानलाई तदर्थ समिति संयोजक बनाएको छ ।
यस्तै, कुस्ती संघले वर्तमान नेपाली खेलकुदको गतिविधि र उठेको समस्याहरूको विषयमा नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालय मिली छलफल मार्फत निष्कर्षमा पुग्नुपर्ने धारणा राखेको छ । यो विवाद यथावतै रहेमा नेपाली खेलाडीको अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीसहित सहभागितामा समस्या हुने पनि कुस्ती संघले प्रस्ट पारेको छ ।