
१०औँ राष्ट्रिय खेलकुदको तयारी चलिरहेका वेला गण्डकी प्रदेशका ११ जिल्लाका खेलकुद विकास समिति कार्यालयका प्रमुखहरूको जिम्मेवारी खोसिएको छ । उनीहरूको बुधबारदेखि नै लागू हुने गरी जिम्मेवारी खोसिएको हो । जिम्मेवारी खोसिएसँगै सबै कार्यालय प्रमुखविहीन बनेका छन् ।
समितिका कार्यालय प्रमुखहरूलाई प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्माले मंगलबार कार्यालय प्रमुखको जिम्मेवारी नरहने गरी कामकाज गर्ने व्यहोराको पत्र पठाएका हुन्।
गण्डकी प्रदेश सरकारको खेलकुद क्षेत्र हेर्ने सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट हालसम्म समितिको कार्यालय प्रमुख र लेखा हेर्ने कर्मचारी नतोकिएको र तोक्ने निर्णयसमेत नभएकोले ११ भदौदेखि लागू हुने गरी कार्यालय प्रमुख र लेखा हेर्ने कर्मचारीको हैसियतले अब उप्रान्त कार्य नगर्ने गरी अर्को व्यवस्था नहुँदासम्म कार्यरत समितिको निर्णयानुसार दैनिक कार्य सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने तथा कार्यरत दरबन्दीको पदको हैसियतले मात्रै समितिको लेटरहेडमा दस्तखत गर्न भनिएको छ । प्रचलित कानुन विपरित नभएको हैसियत वा पद उल्लेख गरी काम कारबाही भए गरेमा सोबाट सृजना हुने कानुनी दायित्व स्वयंले वहन गर्नुपर्नेछ भनी कार्यालय प्रमुखहरूलाई पत्र पठाइएको छ ।
यस अघि परिषद्ले ३१ साउनमा समितिका पदाधिकारी र खेल संघहरूसँग र २ भदौ कार्यालय प्रमुख एंव कर्मचारीहरू छलफलमा नियमावलीअनुसार समितिको प्रमुख र लेखा हेर्ने अधिकारी तोक्दा राम्रो हुने र प्रशिक्षकलाई प्रशिक्षणमै फर्काउन भनेपछि हालका प्रमुखहरूलाई फिर्ता बोलाएको सदस्यसचिव शर्माले जानकारी दिए। प्रदेशका ११ जिल्लामध्ये हाल ६ जिल्ला गोरखा, स्याङ्जा, कास्की, पर्वत, नवलपुर र बागलुङमा प्रशिक्षक कार्यालय प्रमुख रहँदा तीन जिल्ला मनाङ, म्याग्दी र तनहुमा कर्मचारी प्रमुख रहँदा लमजुङ र मुस्ताङ भने प्रमुखविहीन थिए।
प्रशिक्षक कार्यालय प्रमुख हुँदा प्रशिक्षणमा असर परेकाले प्रशिक्षणलाई सहज बनाउन पनि हालका प्रमुहरूलाई फिर्ता बोलाएको शर्माले जानकारी दिए । सँगै नियमावलीमा प्रमुख र लेखा हेर्ने अधिकारीको व्यवस्था गरिएको र नियमावली बनेको पाँच वर्ष हुन लाग्दासमेत कार्यान्वय नभएको अवस्थामा त्यसलाई कार्यान्वय गर्न हालका प्रमुखहरूलाई फिर्ता बोलाउन परेको उनले जानकारी दिए ।
मन्त्री एवं परिषद्का अध्यक्ष भन्छन्– यस सम्बन्धमा मलाई जानकारी छैन
समितिका कार्यालयहरू प्रमुखविहीन बनेको सम्बन्धमा परिषद्का अध्यक्षसमेत रहेका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा कार्यालय प्रमुखहरूको जिम्मेवारी खोसिएको विषयमा जानकारी नभएको बताए। उनले भने, ‘कसैले यसका बारेमा जानकारी गराएको पनि छैन । जिम्मेवारी खोस्ने काम मसँग सल्लाह गरेर गरिएको पनि होइन, यस सम्बन्धमा मलाई कुनै जानकारी छैन। म काठमाडौंमा छु, के भएको रैछ म बुझ्छु ।’ पछि उनले नियमावलीअनुसार कार्यालय प्रमुख नियुक्त गर्न यस्तो गरेको बताए।