
तिजको अवसरमा मंगलबार पशुपतिनाथ मन्दिरमा लाग्ने मेलाको सुरक्षाको लागि सशस्त्र प्रहरीले स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करिब सात सयजना जनशक्ति परिचालन गर्ने भएको छ । जसमा एक सय ५० जना महिला सशस्त्र प्रहरी कर्मचारी खटिनेछन्।
पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको सहजताको लागि सशस्त्र प्रहरी बल नेपाल नं. २० विपत् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन के.सी.को कमान्डमा मंगलबार राति २ बजेदेखि ड्युटी परिचालन गर्न लागिएको छ।
पशुपतिपरिसरमा सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा कमान्ड पोस्ट स्थापना गरिएको र मेलाको सम्पूर्ण कमान्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरूबाट एक सिफ्टमा ३ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन गर्न लागिएको छ।
नेपाल एपिएफ अस्पतालको महिला चिकित्सकसहितको स्वास्थ्यकर्मीले मेला अवधिभर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सशस्त्रका सहप्रवक्ता थापाले जनाएको छ। नं. २० विपत् उद्धार गण सिनामंगलबाट सशस्त्र प्रहरीको गोताखोर तथा विपत् उद्धारक र आवश्यक सामग्रीसहितको वाटर रेस्क्यु टोली राम मन्दिरनजिकै बागमती नदीको किनारमा खटिने भएको छ।