मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 25 August, 2025
कमलराज भट्ट काठमाडाैं
Invalid date format o६:४९:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अब निलम्बनको खेल

उपसभामुख इन्दिरा रानालाई आचरणअनुकूल काम नगरेको आरोप लगाएर हटाउन संसद्मा दुईतिहाइ मत जुटाउने प्रयास असफल भएपछि कांग्रेस–एमालेले मानव बेचबिखनको मुद्दामा तानेर निलम्बन गर्ने खेल सुरु गरेका छन्

Read Time : > 5 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:४९:oo

उपसभामुख इन्दिरा रानालाई आचरणअनुकूल काम नगरेको आरोप लगाएर हटाउन संसद्मा दुईतिहाइ मत जुटाउने प्रयास असफल भएपछि कांग्रेस–एमालेले मानव बेचबिखनको मुद्दामा तानेर निलम्बन गर्ने खेल सुरु गरेका छन् । अभिभावककै अनुमतिमा बाल संगठनबाट १० वर्षअघि रानाको संस्था बन्दी सहायता नेपालमा बच्चाहरू लगिएको विषयलाई विनाउजुरी सरकारले अहिले आएर मानव बेचबिखनको मुद्दा बनाउन खोजेको छ । मानव बेचबिखन फौजदारी अपराधअन्तर्गत पर्ने र तीन वर्षभन्दा माथि सजाय हुने भएकाले यो अभियोगमा मुद्दा चलाउन सके निलम्बित गराउन सकिने प्रपञ्चअनुसार कसरत थालिएको हो ।

गृह मन्त्रालयको निर्देशनमा आइतबारदेखि सिआइबीले अनुसन्धान अघि बढाइसकेको छ । प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरे यस विषयमा अनुसन्धानका लागि सिआइबीलाई निर्देशन आएको बताउँछन् । बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले आइतबार कार्यालयमा प्रहरीहरू आएको बताइन् । ‘आज पनि सिआइबीका मान्छेहरू सोधीखोजी गर्न आएका थिए । तर, औपचारिक पत्रसहित नआएकाले हामीले कुनै जानकारी दिएनौँ,’ उनले भनिन् । 

प्रहरी अधिकारीका अनुसार यस्तो विषयमा सामान्यतया पीडितको उजुरी आएपछि मात्र अनुसन्धान अघि बढ्ने गर्छ । सिआइबी निर्देशक चन्द्रकुवेर खापुङ भने कतैबाट जाहेरी नआएको बताउँछन् । ‘सञ्चारमाध्यममा आएका विवरणका आधारमा यो के रहेछ भनेर हामीले बुझिरहेका छौँ । कतैबाट जाहेरी आएको छैन, प्रारम्भिक छानबिन मात्र हो,’ उनले भने, ‘विषय बाहिर आएपछि हामी चुप लागेर बस्नुहुँदैन भनेर यस विषयमा सोधीखोजी गर्न थालेका हौँ ।’ 

कैदीबन्दी अभिभावकका बाल संगठनमा आश्रित बालबालिकालाई ०७२ माघमा अभिभावककै सहमतिमा उपसभामुख रानाको संस्था बन्दी सहायता नेपालमा लगिएको थियो । त्यहीँ बसेर अध्ययन गरेका ती बालबालिका आफ्नो भविष्य निर्माणकै क्रममा छन् । उनीहरूले आफूहरूमाथि उक्त संस्थाबाट सहयोग भएको र कुनै समस्या नरहेको बताएका छन् ।

जसकारण यो विषयमा अनुसन्धान अघि बढ्ने अवस्था नै नरहेको स्रोत बताउँछ । यो विषय उचालेर भिजिट भिसा प्रकरणको मागलाई कमजोर बनाउने र उपसभामुखलाई दबाबमा राख्ने गृह मन्त्रालयको रणनीति रहेको स्रोत बताउँछ । 
प्रहरीले मानव बेचविखनमा अनुसन्धान गरेर फौजदारी अपराध मुद्दा दर्ता गरे र पूर्पक्षमा पठाए सांसद पद निलम्बन हुने कानुनी व्यवस्था छ । प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) मा तीन वर्षभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पुर्पक्षका लागि थुनामा पठाएमा निलम्बनमा रहने प्रावधान छ । 

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले तीन वर्षभन्दा बढीको सजाय हुने फौजदारी अभियोगमा मुद्दा दायर भई पुर्पक्ष भएमा संसद्का पदाधिकारी तथा सदस्यको पद निलम्बन हुने नियमावलीको व्यवस्था रहेको बताए । ‘कुनै पनि सदस्य प्रचलित कानुनबमोजिम तीन वर्ष वा बढी सजाय हुने फौजदारी मुद्दा दायर भई पुर्पक्ष भएमा निलम्बन हुने नियमावलीको व्यवस्था हो । यो अभ्यासमा रहँदै आएको छ,’ उनले भने । 

संवैधानिक परिषद्मा प्रधानमन्त्री नै अल्पमतमा रहेकाले मनलाग्दी नियुक्तिमा बाधा भएपछि सत्तारूढ दलले उपसभामुखलाई पदमुक्त गरेर बहुमत जुटाउने प्रयास गर्दै छन् । यसका लागि ३ भदौमा कांग्रेस र एमालेले आफ्ना सांसदलाई सिंहदरबारमा डाकेर खाली कागजमा हस्ताक्षर गराएका थिए । तर, कांग्रेसमा शेखर कोइराला पक्ष र साना दलले सहयोग नगरेपछि दुई दलको योजना तत्कालका लागि तुहिएको छ ।

बालबालिकाहरू भन्छन्– हाम्रो नाममा राजनीति नगरियोस्
बाल संगठनबाट बन्दी सहायता (पिए) नेपालमा बालबालिकाहरू बस्न थालेको १० वर्ष भयो । उनीहरू र तिनका अभिभावकको भनाइमा ०७२ को भूकम्पपछि बाल मन्दिरको भौतिक संरचना भत्किएपछि केटा र केटीलाई एउटै ठाउँमा राख्न थालियो । खान, बस्न समस्या हुन थाल्यो । पढाइ पनि प्रभावित भयो । काठमाडौंको सिफल सुधार केन्द्रमा बस्ने पाँचैजना दसैँको छुट्टीमा घर गए । परिवारका सदस्यले बाल मन्दिरको अवस्था राम्रो नभएको भन्दै कारागार प्रशासनको रोहवरमा पिए नेपालसँग सम्झौता गरे । त्यसपछि पिए नेपालले उनीहरूलाई आश्रय दिएको हो । 

आश्रय पाएका पाँचमध्ये बर्दियाकी २० वर्षीया मुना (परिवर्तित नाम) सेन्ट जेभियर्स कलेजमा ब्याचलर बिए इन साइकोलिजी एन्ड सोसल वर्क विषयमा दोस्रो वर्षमा अध्ययनरत छिन् । ‘भुइँचालोपछि बाल मन्दिरमा सेफ्टी राम्रो थिएन । केटाकेटी सँगै राख्ने, एउटै रुममा सुताइदिने थियो । पर्खाल भत्किएको थियो । जो पनि आउने–जाने भइरहेको थियो । उनीहरूले अप्ठ्यारो भएको अभिभावकलाई सेयर गरे,’ उनले भनिन्, ‘त्यसपछि बाबाले इन्दिरा आमालाई राखिदिन अनुरोध गर्नुभयो । बाबाले सम्झौतापत्रमा साइन गर्नुभयो । अनि म यहाँ आएँ ।’ 

पिए नेपालमा पढाइ राम्रो भएको, हेरचाह र अवसरहरू पनि पाएको उनले बताइन् । आफूहरूको नाममा आइरहेको विषयले तनाव भएको उनको भनाइ छ । ‘यो केसहरू पटक–पटक आइराख्दा हामीलाई डिस्टर्ब भइरहेको छ । इन्दिरा आमाले पालन गरिरहेको वेला बेच्यो भन्दा हाम्रो प्राइभेसी ह्याम्पर भएको छ । आमालाई दोष लगाएकोमा पीडा भएको छ । यो नगर्न रिक्वेस्ट गर्छाैँ,’ उनले भनिन्, ‘यदि म बेचिएकै भए ब्याचलर पढ्दिनँ थिएँ । मानव तस्करी गरेको भए म यहाँ हुँदिनथिएँ होला । म तपाईंसँग बोलिरहेको हुँदैनथेँ । यसरी बेचेको भन्ने मान्छेलाई म के भन्छु भने इभिडेन्सले बोल्नुस् । हाम्रो नाम बेचेर राजनीति नगरियोस् । पोलिटिक्समा हामी बच्चालाई नतान्नुहोला । पटकपटक उचालिएको छ । यो प्रस्ट होस्,’ उनले भनिन् । 

बर्दियाकै २१ वर्षकी सगुन (नाम परिवर्तन)ले बागबजारबाट कम्प्युटर साइन्समा कक्षा १२ पास गरेकी छिन् । बिबिए पढ्ने तयारीमा रहेकी उनको भोगाइ पनि उस्तै छ । सिफलको बाल संगठनमा सेफ्टी भएन भनेर उनले बुबालाई भनेकी थिइन् । त्यसपछि उनका बुबाले पिए नेपालमा पठाउने निधो गरी कागज गरेका थिए । ‘सिफलमा सेफ्टी नभएपछि बुबाले इन्दिरा आमाकहाँ कागज गरेर पठाउनुभयो,’ उनले भनिन्, ‘अहिले इन्दिरा आमालाई हामी देखाएर मानव तस्कर भन्दा टर्चर भएको छ । हाम्रो पनि निजी जीवन हुन्छ । बुझ्नुपर्ने हो । मान्छे यहीँ छ, कसरी बेच्यो ?’ उनले प्रश्न गरिन् ।

बर्दियाकै २० वर्षीया वृन्दा (नाम परिवर्तन)ले केएमसी बागबजारबाटै बिजनेस स्टडीमा कक्षा १२ पास गरेकी छिन् । अहिले काम सिकिरहेकी उनलाई बुबाले बाल मन्दिरबाट निकालेर कागज गरी पिए नेपाल पठाएका हुन् । ‘इन्दिरा आमाबारे कुरा सुन्दा नराम्रो लाग्छ । हाम्रो व्यक्तिगत जीवनलाई पनि असर गर्‍यो । हामीले जुन फेसिलिटी पाएका छौँ त्यो नपाएको भए कहाँ हुन्थ्यौँ होला । सायद यति फेसिलिटी हामीले आफ्नो परिवारबाट पनि पाउँदैन थियौँ होला,’ उनले भनिन् ।

दाङका दिदीभाइ १८ वर्षीया रिमा (नाम परिवर्तन) र १७ वर्षीय हर्षित (नाम परिवर्तन)को पनि भोगाइ उस्तै छ । रिमा बिपी मेमोरियल कलेजमा जनरल मेडिसिन विषयमा डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत छिन् भने हर्षित साउथ वेस्टर्न कलेजमा ११ कक्षामा म्यानेजमेन्ट पढिरहेका छन् । उनीहरूलाई सिफल बाल केन्द्रको परिवेश राम्रो नभएपछि आमा विन्दुले पिए नेपालसँग सम्झौता गरेर पठाइन् । ‘ममीले इन्दिरा आमालाई अनुरोध गर्नुभयो । अनि कागज गरेर हामी यता आयौँ । यहाँ पहिलाभन्दा एकदम फरक छ । फेसिलिटीहरू राम्रो छ,’ रिमाले भनिन् । आफूहरू बेचिएको भन्ने आरोपमा उनले भनिन्, ‘यस्तो सुन्दा नराम्रो लाग्छ, बेचेको छैन । बेचेको भए त हामी यहाँ हुन्थ्यौँ ? त्यस्तो आरोप लगाउनेलाई कारबाही गर्नुपर्छ,’ उनले भनिन् ।

नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपाने भन्छिन्– बच्चाहरू ०७२ को दसैँ बिदामा गएका र त्यसपछि नफर्किएको रेकर्डमा देखिन्छ । बाल मन्दिरले पनि खोजी गरेको देखिएन । म आएपछि बुझ्दा बच्चाहरू पिए नेपालमा गएको थाहा भयो । आज पनि सिआइबीका मान्छे सोधीखोजी गर्न आएका थिए । तर, औपचारिक पत्र नभएकाले कुनै जानकारी दिएनौँ । 

जाँचबुझ आयोगलाई तत्कालीन अध्यक्ष रिता सिंहको बयान 
विशेषतः जेलका चार–पाँचजना बच्चालाई इन्दिरा रानाको संस्थामा सारेको थाहा छ । मैले पनि उहाँको संस्थामा हेरेकी थिएँ । राम्रो सुविधा रहेछ, अनि पठाएको हो । हामीसँग पैसा नभएर गाह्रो भएको वेलामा बच्चाहरू पठाएको हो । त्यहाँ राम्रो सुविधा थियो । पछि मैले ल्याउँछु भनेको हो, तर बच्चाहरू आउन मानेनन् ।

अभिभावक के भन्छन् ? 
प्रभु थारू

बाल संगठनबाट निकाल्न पाऊँ भनेर निवेदन हालेको हो । अर्काे निवेदन इन्दिरा आमाकोमा राखिपाऊँ भनेर दिएको हो । जेलरको सही लिएर दुईवटा निवेदन दिएको हो । बाल मन्दिरमा सेफ्टी र स्याहार राम्रो छैन भनेको थिएँ । मेरी छोरीले राम्रेसँग पढ्न पाओस् भनेको थिएँ । पिए नेपालमा ठिकै छ । पढाइ त्यहीँ भयो । राम्रो काम गर्नेलाई जस नमिल्दो रहेछ । पटकपटक विवाद ल्याउन नहुने हो । यत्रो वर्ष के हेरेर बसेको ? कहाँको मान्छे कहाँ पुगिसक्यो । म जेलबाट निस्केको पनि सात–आठ वर्ष भइसक्यो । हामीलाई पटकपटक अनावश्यक दुःख नदेऊ ।

बिजु सुनार
बाल मन्दिरमा भूकम्प आएपछि केटाकेटीहरूलाई एकै ठाउँमा राख्न समस्या थियो । त्यही भएर सार्नुभएको, पिए नेपाल राम्रो लागेर सार्नुभयो । अनुमतिमै गएको हो । बाबाले साइन गर्नुभएको हो । बेचेको होइन । हाम्रो सहमतिमै हो । सारेपछि राम्रो भयो । पढाइ राम्रो भयो, ट्यालेन्ट भयो । बच्चालाई राम्रोेसँग हुर्काइदिनुभयो । बच्चा राम्रो छ, राम्रै पढिरहेको छ । उहाँमाथि आरोप लाग्दा दुःख लाग्यो ।

सविना मगर
बाल मन्दिरमा बस्न अप्ठ्यारो भयो । खान–लाउन राम्रो भएन । त्यसपछि बच्चा यता ल्याएको हो । प्रक्रिया पूरा गरेर नै ल्याएको छ । यता सबै राम्रो छ । त्यस्तो नराम्रो आरोप नलाउनु नि । नरमाइलो लाग्छ । जसले हुर्काएको हो, उसैलाई आरोप लागेको छ । बुझेर बोल्दिए हुन्थ्यो । बच्चाको मानसिक स्वास्थ्यमा समस्या होला जस्तो भइसक्यो । 

मनकुमारी थारू, अभिभावक
हामीले छोरीलाई सहमतिमै सारेको हो । हामी पढाउन नसक्ने थियौँ । त्यहाँ गएर राम्रो भएको छ । विचार गरेर नै पिए नेपाल पठाएको हो । बुबा र आमा हामी आफैँले लिएर गएका हौँ । हस्ताक्षर गरेका छौँ । जबर्जस्ती लगेको होइन, बेचेको होइन । हामी आफैँले सिग्नेचर गरेर पठाएको हो । गलत कुरा गर्दा–सुन्दा मन खिन्न हुन्छ । 

बाल मन्दिरबाट पिए नेपालमा आएकी २० वर्षीया युवती भन्छिन्– भूकम्प आएपछि सिफल बाल मन्दिरमा सेफ्टी थिएन । केटाकेटी सँगै राख्ने, एउटै रुममा सुताइदिने पनि गर्थे । हामी त सानै थियौँ ।  दसैँमा घर गएको वेला अप्ठ्यारो भएका कुरा बाबा–आमालाई सुनाएँ । त्यसपछि बाबाले साइन गरेर इन्दिरा आमाकोमा सार्नुभएको हो । यहाँ सबै राम्रो छ । ब्याचलर फस्र्ट इयर पढ्दै छु । यो मुद्दा पटकपटक उछालिँदा ‘प्राइभेसी ह्याम्पर’ भइरहेको छ । मानव तस्करी गरेको भए म यहाँ हुँदिनँ थिए होला । हाम्रो नाम बेचेर राजनीति नगरियोस् ।