मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ५ बिहीबार
  • Thursday, 21 August, 2025
डिलाराम भुसाल कपिलवस्तु
२o८२ भदौ ५ बिहीबार १३:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जथाभावी फोहाेर फाल्नेलाई कृष्णनगर नगरपालिकाको कारबाही सुरु

Read Time : > 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८२ भदौ ५ बिहीबार १३:२९:oo

कपिलवस्तुकाे  व्यापारिक केन्द्रका रूपमा परिचित कृष्णनगर बजारलाई स्वच्छ र व्यवस्थित बनाउन कृष्णनगर नगरपालिकाले जथाभावी फोहाेर फाल्नेविरुद्ध  कारबाही सुरु गरेको बताएको छ । नगरप्रमुख रजतप्रताप शाहका अनुसार गत साउन २८ गतेदेखि ‘फोहाेरमैला नियन्त्रण अभियान’ सञ्चालन गरिएको र  अभियानअन्तर्गत बाटो, नाली र सार्वजनिक स्थलमा फोहाेर फाल्ने सर्वसाधारण तथा व्यापारीलाई कारबाही थालिएको शाहले बताए । 

नगरपालिकाको राजस्व शाखा प्रमुख ईश्वरी पौडेलका अनुसार साउन २८ देखि भदौ ४ गतेसम्म मात्र ३१ जनालाई कारबाही गरी २६ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।  यो कारबाही फोहाेरमैला व्यवस्थापन कार्यविधि, २०७५ बमोजिम गरिएको बताएको छ । 

शाहका अनुसार नगरपालिकाले दैनिक फोहाेर संकलनका लागि ट्र्याक्टर पठाउँदै आएको र  सरसफाइकर्मीसमेत परिचालन गरिएको छ । तर, कतिपयले अटेरी गरेर बाटो र नालीमा जथाभावी फोहाेर फाल्ने गरेका कारण बाध्य भएर कारबाही अभियान चलाउनुपरेको उनको भनाइ छ । नगरपालिकाले बजार क्षेत्रमा सरसफाइको नियमित अनुगमन गर्न ६ जना नगर प्रहरीसमेत खटाएको छ । कार्यविधिअनुसार पहिलोपटक फोहाेर फाल्नेलाई पाँच सयदेखि एक हजारसम्म जरिवाना तिराउने र दोहाेर्‍याएमा जरिवाना दोब्बर असुल्ने प्रावधान  रहेको बताएको छ।

यस्तै, सार्वजनिक स्थलमा फोहाेर गर्ने कबाड व्यवसायीलाई समेत कारबाही गर्ने चेतावनी दिइएको छ । सूचनाअनुसार, यदि कबाड व्यवसायीले सडक वा सार्वजनिक स्थानमा फोहाेर गरेमा कम्तीमा पाँच हजार रुपैयाँ जरिवाना असुल गरिने बताएको छ । फोहाेर व्यवस्थापनपछि अहिले बजार क्षेत्र सफा र आकर्षक देखिन थालेको व्यापारीहरूको भनाइ छ। उनीहरूले नगरपालिकाको यो अभियानमा सबै पक्षले साथ दिनुपर्नेमा जोड दिएका छन्।

नगरप्रमुख शाहका अनुसार पहिलो चरणमा कृष्णनगर–बहादुरगन्ज बजारलाई सफा र हराभरा बनाउने अभियान थालिएको र आगामी दिनमा यसलाई अन्य सहरी क्षेत्रमा समेत विस्तार गरिने शाहले बताए । कृष्णनगर क्षेत्र देशकै प्रमुख १० भन्सार नाकामध्ये एक भएकाले यस क्षेत्रको सरसफाइलाई विशेष प्राथमिकताका साथ अघि बढाइने नगरपालिकाले भनाइ छ ।