
झापाको दमक– ८ र ९ मा बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराई भ्रष्टाचार गरेको भन्दै नेकपा माओवादी केन्द्र कोशी प्रदेश कोषाध्यक्ष रेवतराज पुरी (गगन)सहित २० जनालाई विशेष अदालतले २८ साउनमा दोषी ठहर गर्यो । विशेषले पुरीलाई मतियार मान्दै एक वर्ष कैद तथा बिगोको दामासाहीले हुन आउने २० लाख ८३ हजार रुपैयाँभन्दा बढी जरिवानाको फैसला सुनाएको थियो ।
तर, विशेषले दोषी ठहर गर्दा पनि माओवादी केन्द्रको कोशी प्रदेश कोषध्यक्षमै बहाल छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्दा १४ फागुन ०८० मा पुरीले नैतिकता देखाउँदै माओवादीको प्रदेश कोषाध्यक्ष पदबाट राजीनामा दिएका थिए । यद्यपि, त्यसवेला उनको राजीनामा स्वीकृत भएन । अहिले दोषी ठहर गर्दा न त पुरीले नै राजीनामा दिएका छन् । न त पार्टीले नै कारबाही गरेको छ ।
माओवादी केन्द्र कोशी प्रदेश समिति भने पुरीको विषयमा मौन छ । त्यसवेला राजीनामा दिँदै पुरीले पार्टीले सञ्चालन गरेको सामाजिक न्यायसहितको सुशासन र समृद्धिका निम्ति सञ्चालन गरेको अभियानमा सहयोग गर्ने भन्दै सत्य, तथ्य र निष्पक्ष छानबिनका लागि राजीनामा दिएको बताएका थिए । तर, अहिले दोषी ठहर हुँदा भने उनै पुरीले नै न राजीनामा दिएका छन् न त पार्टीले नै कारबाही गरेको छ ।
उनलाई दोषी ठहर गरेकोे एक साता बितिसक्दासमेत पुरीको विषयमा माओवादी प्रदेश कमिटीले औपचारिक रूपमा कुनै छलफल नै चलाएको छैन । माओवादी केन्द्र कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङले पुरीका विषयमा अनौपचारिक सल्लाह भइरहेको बताए । यद्यपि, उनको बारेमा पार्टी कमिटीले केही नगरेको उनको भनाइ छ । ‘अहिले यसबारेमा सल्लाह हुँदै छ । तर, केही पनि भएको छैन,’ उनले भने, ‘दुई–चार दिनमा टुंगो लगाउँछौँ ।’
पुरीले भने आफूमाथि राजनीतिक प्रतिशोध भएको बताउँदै आएका छन् । पुरीले बिहीबार दमकमा पत्रकार सम्मेलन गर्दै विशेषको फैसलाप्रति आपत्ति जनाए । उनले आफू विशेषको फैसलाविरुद्ध सर्वोच्च जाने बताएका छन् । उनले पार्टी प्रदेश कमिटी कोषाध्यक्षको विषयमा भने छलफल गर्ने बताए । ‘म अब तत्काल पार्टीमा मेरो प्रदेश कमिटी कोषाध्यक्ष पदका बारेमा छलफल गर्नेछु,’ उनले भने, ‘छलफलबाट जे उपयुक्त हुन्छ त्यही गर्छु ।’