मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३ मंगलबार
  • Wednesday, 03 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ३ मंगलबार o६:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले विधान महाधिवेशन : प्रचारको केन्द्रमा ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ३ मंगलबार o६:३५:oo

आगामी २०–२२ भदौमा ललितपुर गोदावरीस्थित सनराइज हलमा हुने विधान महाधिवेशन लक्षित प्रचारमा एमालेले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको ‘ब्रान्डिङ’मा जोड दिएको छ । एमालेले विगतको परम्परा तोड्दै ओलीको मात्रै तस्बिर प्रचारमा ल्याएको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेकै राजनीति गर्ने गरी सक्रियता बढाएकै वेला एमाले व्यक्तिकेन्द्रित प्रचारमा जुटेको हो ।

आइतबार एमालेले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र दक्षिण एसियाकै प्रथम निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको तस्बिर प्रयोग नगरी प्रचार सामग्री बनाएको थियो । प्रचार सामग्रीमा ओलीसहित सूर्य चिह्न र महाधिवेशनस्थल सनराइज हलको तस्बिर राखिएको छ । यस्तै, जनताको बहुदलीय जनवाद जिन्दावादको नारा राखिएको थियो । तर, आलोचना भएपछि सोमबार अरू नेताको पनि सानो साइजको तस्बिर राखेर पोस्टर सार्वजनिक गरेको छ ।

यसअघि दुई वर्ष पहिले एमालेले पार्टीको आधिकारिक ब्यानरमा ओलीबाहेकको तस्बिर नराख्न निर्देशन नै जारी गरेको थियो । त्यतिवेलै उक्त निर्देशन विवादमा पर्‍यो । चौतर्फी आलोचना भएपछि उपमहासचिव विष्णु रिमालले ‘अध्यक्षबाहेकको कसैको फोटो नराख्ने भन्ने निर्णयमा तीन नेताको बाहेक’ भनेर प्रस्टीकरण दिएका थिए ।

दोस्रो विधान महाधिवेशन आउन १९ दिन बाँकी रहँदा उक्त दुई वर्ष पुरानो निर्देशन कार्यान्वयनमा आएको छ । तर, एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले लोगो र नारासहित फाइनल प्रचार सामग्री आउन बाँकी रहेको बताउँदै अग्रज नेताको सदैव सम्मान गर्ने बताए ।