
बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री मीनकृष्ण महर्जनले बहादुरसिंह लामा पक्षका तीन मन्त्रीको हालैको नियुक्ति आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । निवर्तमान मुख्यमन्त्री लामाको सर्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पक्षका २२ जना सांसदहरूको भावनाविपरीत रहेको उनको दाबी छ ।
महर्जनले सामाजिक सञ्जालमार्फत कांग्रेसभित्र आन्तरिक संघर्ष जारी रहँदा निवर्तमान मुख्यमन्त्री लामाले अस्वाभाविक माग राखेको र सो माग आफ्नो पक्षका सांसदले मान्न नसक्ने स्पष्ट पारेका छन् । आफ्ना तीनजना सांसदलाई मन्त्री बनाउनुपर्ने सर्तसहित बहादुर पक्षले बानियाँलाई विश्वासको मत दिने अडान राखेको थियो । विश्वासको मत दिने दिन मंगलबार अन्तिम समयमा सर्त स्वीकृत भएकाले आफूहरूले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिएको बहादुर पक्षले दाबी गरेको थियो ।
तर, महर्जनले तीन मन्त्रीको नियुक्ति २२ सांसदलाई मान्य नहुने बताएका छन् । ‘निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गरेका तीनजना मन्त्री २२ सांसदलाई मान्य हुँदैन । यो विवाद सिर्जना गरेर वास्तविकता ढाकछोप गर्ने प्रयास मात्रै हो,’ उनले भनेका छन् । ३१ महिनाअघि दलको नेता चयनमा बानियाँले १६ मत पाउँदै बहादुरसिंह लामासँग तीन मतले पछि परे पनि भागबन्डामा सहभागी नभई उनको कार्यकालमा पूर्ण सहयोग गरेको महर्जनले दाबी गरेका छन् । यस्तै, उनले एक वर्षअघि आधा–आधा मुख्यमन्त्री हुने लिखित सहमति पालना नभएपछि शीर्ष नेताहरूको सल्लाहअनुसार नै बानियाँले अविश्वास प्रस्ताव दर्ता गरेका बताएका छन् । सो क्रममा पाँचजना मन्त्रीहरूले पनि पदबाट राजीनामा दिँदै बानियाँलाई समर्थन गरेको उनको भनाइ छ ।
संसदीय दलको कुनै पदमा नहुँदा पनि बानियाँले प्रतिपक्ष दलसँग सहकार्य गर्दै चालू आर्थिक वर्षको बजेट पास गराउन निर्णायक भूमिका खेलेको उनले दाबी गरेका छन् । तत्कालीन मुख्यमन्त्री लामा र अर्थमन्त्री कुन्दन काफ्लेबाट समस्याको समाधान नभएपछि बानियाँकै साहस र क्षमताबाट बजेट पास भएको उनले ठोकुवा गरेका छन् । ‘पदमा नहुँदा पनि बानियाँले प्रतिपक्षसँग सहकार्य गर्दै बजेट पास गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए, जुन वेला तत्कालीन नेतृत्व निराश भइसकेको थियो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।