मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
२o८२ श्रावण २९ बिहीबार o९:४६:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

दिक्तेल बजारमा लाखेजात्राको रौनक, दश ठाउँका लाखे टोलीद्वारा एकसाथ कला प्रदर्शन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार o९:४६:oo

साउनेझरी। कुहिरोले ढपक्कै ढाकिएको दिक्तेल बजार। अटिनअटी मान्छेको भिड। ढोल र झ्याम्टाको तालसँगै नाचिरहेका लाखे। नेवार समुदायले परम्परागत रूपमा लगाउँदै आएका एकै किसिमको पहिरनमा सजिएका कलाकारको रोपाइँ नृत्य, ठाकठुके (लाठी) नाच, प्रहसन र सांगीतिक कार्यक्रमले दिनभर दर्शकलाई भरपूर मनोरञ्जन दिलाएका थिए । 

नेवार समुदायको महान् चाड लाखेजात्राको अवसर पारेर बुधबार दिक्तेलबजार सामाजिक गुठी खोटाङको निमन्त्रणामा जिल्लाका विभिन्न १० ठाउँबाट आएका नेवार समुदायले संयुक्त रूपमा लाखेजात्रा प्रदर्शन गरेका थिए । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको रत्नपार्कबाट सुरु गरिएको लाखेजात्रा प्रदर्शनी कार्यक्रममा दिक्तेल, खाल्ले, सोल्मा, बुइपा, राजापानी, खार्मी, जालपा, निर्मलीडाँडा, दोबेला र अर्खौलेका लाखे टोलीले आ–आफ्नो ठाउँविशेषको कला प्रदर्शन गरेका थिए । 

नेवार समुदायका युवायुवती मात्र सहभागी हुने लाखेजात्रामा यस वर्ष जिल्लाका गैरनेवार समुदायका युवायुवतीसमेत स्वस्फूर्त रूपमा उल्लासका साथ सहभागी भएका थिए । गैरनेवार समुदायका युवायुवतीले समेत नेवारी परम्परागत पहिरन हाकुपाटसी तथा दौरासुरुवाल र भादगाउँले टोपी लगाएका थिए। 

गठेमंगलबाट विधिवत् रूपमा सुरु गरिएको लाखेजात्रा कृष्णजन्माष्टमीको भोलिपल्ट रथयात्रा परिक्रमा गराएर औपचारिक रूपमा समापन गर्ने चलन छ। यसबिचमा गाईजात्राको दिन वर्षभरि दिवंगत भएका आफन्तलाई श्रद्धाञ्जली, रोपाइँ जात्रा, हिले जात्रा तथा विभिन्न संस्कृति प्रस्तुतिहरू प्रदर्शन गर्ने गरिएको आयोजक दिक्तेल बजार सामाजिक गुठीका कोषाध्यक्ष इन्द्र कसजूले जानकारी दिए ।दिक्तेल बजारमा मनाइने लाखेजात्राको मुख्य आकर्षण भने मुकुण्डोधारी लाखेनाच मानिएको छ । ढोल, झ्याम्टाको तालमा जातीय संस्कृति तथा परम्पराहरूको नक्कल गर्दै मुकुण्डोधारी लाखेनाचसहित सहभागी सबैले नाच्ने र रमाइलो गर्छन् । 

लाखेजात्राको अवसरमा लाखे बन्ने व्यक्तिले केही दिन अघिबाटै शुद्ध खानेकुरा खाएर बस्ने चलन रहेको नेवार समुदायले बताएका छन्। लाखेसँगै अघिपछि हुँदै नाच्ने धतुवारेले दर्शकलाई थप मनोरञ्जन गराउने गर्दछ । लाखेजात्रालाई नेवार समुदायले विशेष महत्त्वका साथ मनाउने गरेका छन्। 

लाखेजात्राले सांस्कृतिक, धार्मिक महत्त्वसँगै नेवार र गैरनेवार समुदायबिच आपसी सदभाव, भाइचारा तथा भ्रातृत्व कायम गरेको दिक्तेल बजार सामाजिक गुठी खोटाङका अध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘स्यान्डे’ले बताए । ‘लाखेजात्रामा नेवार समुदायका घरपरिवार तथा आफन्तजन जमघट हुने र दुःखसुखका कुरा आदान–प्रदान गर्ने चलन छ । यो चाड वर्षमा एकपटक मात्र मनाउने गरिन्छ,’ उनले भने, ‘पछिल्लो समय नेवार समुदाय मात्र नभएर आफन्तजन, इष्टमित्र, साथीभाइलगायत भेला भएर मिष्ठान्न भोजन गर्ने तथा आपसमा रमाइलो गर्ने प्रचलन बढेकाले झनै लोकप्रिय बन्न पुगेको छ । यसले आपसी सदभाव, भाइचारा र भ्रातृत्वसमेत कायम गरेको छ ।’ 

लाखेजात्राको अवसरमा नेवार समुदायको प्रत्येक घरमा पितृ पूजाआजा गर्नुका साथै नेवारी परिवार बनाएर खाने चलन छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका क्रममा घरदेखि टाढा बसोबास गर्दै आएका परिवारका सदस्यहरू पनि लाखेजात्राको अवसरमा आफ्नो घर आएर तथा एक ठाउँ भेला भएर रमाइलो गर्छन् ।

अन्य चाडभन्दा विशेष तरिकाले मनाइने लाखेजात्रा कृष्णाष्टमीको भोलिपल्ट रथयात्राले बजार परिक्रमा गरेर कृष्ण मन्दिर तथा नजिकको देवालयमा गएर विधिवत् रूपमा समापन गर्ने चलन रहिआएको जनाइएको छ। नेवार समुदायको महान् चाड लाखेजात्राले जिल्लामा व्यापार–व्यवसायलाई समेत सघाउ पुग्ने गरेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए ।  लाखेजात्रा हेर्ने बहानामा गाउँगाउँबाट आउने दर्शकले यतिखेर दिक्तेल बजारको चहलपहल निक्कै बाक्लिएको छ । दिक्तेल बजारमा सञ्चालित होटेल तथा पसलमा किनमेल गर्नेको संख्या अन्य समयभन्दा दोब्बर वृद्धि भएको व्यवसायीहरूले बताएका छन् । 

नेवार समुदायको लाखेजात्रा दिक्तेल, खाल्ले, सोल्मा, खार्मी, जालपा, बुइपा, राजापानी, दोर्पाचिउरीडाँडा, दोर्पादोबेला, हौँचुर, लामीडाँडा, ऐँसेलुखर्क, राखाबाङ्देल, खोटाङ बजार, चिसापानी, सिम्पानी, बराहपोखरी, फाक्टाङ, पञ्चमी बजारलगायत जिल्लाका २७ ठाउँमा विशेष कार्यक्रमका साथ मनाउने गरिएको छ । लाखेजात्राअन्तर्गत गाईजात्राको दिन जिल्लाका स्थानीय तहहरूले सार्वजनिक बिदासमेत दिने गरेका छन् ।