मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २८ बुधबार
  • Wednesday, 13 August, 2025
२o८२ श्रावण २८ बुधबार १७:४३:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

हुलाकी सडकको कमला पुल अलपत्र, नदी वारपार गर्न डुंगाको भर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २८ बुधबार १७:४३:oo

पूर्वपश्चिम हुलाकी सडकअन्तर्गत सिरहा–धनुषा जोड्ने कमला नदीमा पुल निर्माणका लागि स्थानीय युवाहरु आमरण अनसन बसे, प्रधानमन्त्री, मुख्यमन्त्री, विभागीय मन्त्री, सांसद्हरुको ध्यानाकर्षण गराए। उनीहरुले अलपत्र कमला पुल निर्माणका लागि पहल गर्ने आश्वासन त पाए, तर बर्खाको समयमा वर्षौंदेखि जोखिमपूर्ण डुंगाको यात्रा गर्नुपर्ने बाध्यताबाट अझै मुक्ति पाएका छैनन्।

बर्खा लागेसँगै नदीमा पानीको बहाब बढे पनि काम विशेषले नदी वारपार गर्नै पर्नेहरु डुंगाको भर पर्न बाध्य रहेका सिरहा नगरपालिका– ५ का वासुदेव यादवले गुनासो गरे। ‘गाईवस्तुलाई घाँसपात, खेतीपातीका लागि दैनिक पारिपट्टि जानैपर्छ,’ उनले भने, ‘डुंगा चढ्न डर लाग्छ, तर अन्य विकल्प पनि त छैन।’ डुंगा पल्टिएर बाढीको भेलले बगाउला कि भन्ने त्रासमा नदी वारपार गर्दै आएको उनले बताए।

पुलको दक्षिणपट्टि गत कात्तिकको तेस्रो हप्तादेखि आवतजावत गर्न बाँस र मोटो प्लाई हालेर बनाइएको अस्थायी पुल वैसाखको अन्तिममा आएको बाढीले बगाएको थियो। त्यसपछि अलपत्र पुलको पूर्वतर्फ ठड्याएको बाँसमा प्लाई ठोकेर बनाइएको संरचना पनि करिब एक साताअघिको बाढीले बगाएको छ। 

‘वारपार गर्ने सबै बाटो बन्द भएपछि डुंगा नै अन्तिम विकल्प बनेको छ’ कमला तटबाट डुंगा चढेर धनुषातर्फ जाँदै गरेका ५५ वर्षीय रामलोचन यादवले सुनाए। स्थानीय माझीले चलाएको डुंगाबाट वारपार गर्न प्रति मोटरसाइकल एक सय र व्यक्तिले ५० रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको उनले बताए। 

पुल अलपत्र हुँदा ९० किलोमिटर फन्को
कमला नदीमा पुल अलपत्र हुँदा उपचारका लागि जनकपुर रेफर गरिएका  बिरामीहरुलाई झन् समस्या हुने गरेको छ। प्रादेशिक अस्पताल सिरहाबाट रेफर गरिएका बिरामीहरू ३१ किलोमिटरको दूरीमा रहेको जनकपुर पुग्न चोहर्वा, मिर्चैया, ढल्केवर हुँदै करिब ९० किलोमिटर घुमेर जानुपर्ने बाध्यता रहेको अस्पतालका मेडिकल सुप्रिन्टेन्डेन्ट डा. सुनिल प्रसाद कुशवाहाले बताए। 

‘पूर्वी धनुषाका बिरामीका लागि दूरीको हिसावले प्रादेशिक अस्पताल नजिक भए पनि जनकपुर जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘सिरहातर्फका बिरामी घुमाउरो बाटो हुँदै लैजाँदा बाटोमै मृत्युको जोखिमसमेत हुन्छ।’

सिरहा सदरमुकामदेखि प्रादेशिक राजधानी जनकपुर पुग्न सामान्य अवस्थामा आधा घण्टा लाग्ने भए पनि कमला नदीको पुल अलपत्र हुँदा समस्या भइरहेको सिरहा नगरपालिका– ६ का वडाध्यक्ष इन्द्रजित यादवले बताए। चोहर्वा, मिर्चैया, ढल्केवर हुँदै करिब तीन घण्टाको लामो यात्रा गर्नुपर्दा अप्ठ्यारो भइरहेको उनको गुनासो छ। ‘राज्यले स्थानीय नागरिकमाथि अत्याचार गरिरहेको छ,’ उनले भने, ‘हरेक बर्खा सकिएपछि पुलको चर्चा सेलाउने, अनि अर्को बर्खामा पुनः दुःख झेल्नुपर्ने बाध्यता कहिलेसम्म ?’ 

मुख्यमन्त्रीको उधारो प्रतिबद्धता
प्राविधिक रुपले पनि कमलामा भासिएको पुलको पुनर्निर्माण नहुने दावीसहित कमलामा नयाँ पुल निर्माणको माग गर्दै संघर्ष समितिको आह्वानमा सिरहा र धनुषाका १० जना युवाहरु मुख्यमन्त्री कार्यालय अगाडि गत ४ भदौदेखि आमरण अनसन बसेका थिए।

अनसन बसेको चौथो दिन ७ भदौमा मुख्यमन्त्री सतिशकुमार सिंहसँग भएको चारबुँदे सम्झौताअनुसार कमलामा नयाँ पुल निर्माणका लागि आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेटमा व्यवस्था गर्न संघीय सरकारसँग पहल गर्ने, त्यो सम्भव नभए सम्पूर्ण बजेट प्रदेश सरकारकै श्रोतबाट ब्यहोर्ने, १ मंसिर २०८१ भित्र पुल निर्माणका लागि डिपीआर तयारी गर्न बोलपत्र आह्वान गर्ने उल्लेख भएपनि त्यसअनुसार केही नभएको स्थानीयको गुनासो छ।

कमला पुलको नदी नियन्त्रण र पहुँच मार्गबाहेक अन्तिम चरणको काम भइरहेका बेला १७ असार २०७८ मा बाढीले पुलको सिरहातर्फ दोस्रो र त्यही वर्षको ३ कात्तिकमा धनुषातर्फ तेस्रो पाया भासिएपछि पुल निर्माण रोकिएको थियो। गत वर्षको पुसदेखि सुस्त गतिमा चलिरहेको पुनर्निर्माणको काम पनि चैतको तेस्रो सातादेखि रोकिएको छ। कमला नदीमा चार सय ६९.२ मिटर लामो पुल बनाउन ३१ जेठ २०६८ मा भएको सम्झौताअनुसार ३० मंसिर २०७१ सम्म निर्माण सम्पन्न गर्ने भनिए पनि पटक–पटक थप हुँदै अन्तिम म्याद ३० असार २०८० तोकिएको थियो। पप्पु लुम्बिनी जेभीले साढे तीन वर्षमा निर्माण गर्नुपर्ने पुल अलपत्र पारेसँगै पप्पु कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनीले गर्दै आएको थियो।