
जिल्ला सदरमुकाम धादिङबेँसीबाट साउन २५ गते आइतबारदेखि हराइरहेका ज्वालामुखी गाउँपालिका–४ का १२ वर्षीय बालक अंकित श्रेष्ठ अझै बेपत्ता छन् । करिब दिउँसो २ बजे पौडी खेल्ने क्रममा अंकितलाई अरुङ खोलाले बगाएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । ‘बेपत्ता भएको खबर पाउनेबित्तिकै खोजी कार्य सुरु गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनपथ प्रहरी, स्थानीयको सहयोगमा खोजीकार्य भइरहेको छ।’ उनले भने, ‘बगाएको आशंका भएको अरुङ खोला आसपासदेखि थोपलको बुङचुङसम्म खोजी कार्य गरिसकेका छौँ । आज बुङचुङबाट त्रिशूली जोडिएको ठाउँसम्म खोजी कार्य गर्दैछौँ ।’ अंकितसँगै पौडी खेल्न गएका उनका सातजना साथीहरूसँग सोधपुछ भइरहेको प्रहरी नायब उपरीक्षक हमालले बताए । हमालका अनुसार सँगै गएका साथीहरूसँग सोधपुछ गरिरहेका छौँ।
उनका साथीहरूले पौडी खेल्न गएको समयमा बिजुलीको झट्का लागेर खोलामा खसेर बगाएको बताएका छन् । ठुला मानिसहरूले भेट्ने गरी झोलिएको भए पनि साना ती बालकहरूले बिजुलीको तार भेट्ने अवस्थामा छैन । तर, उनका साथीहरूका भनाइअनुसार बिजुलीको झट्का लागेपछि खोलाले बगाएको हुन सक्ने आशंका रहेको उनले बताए ।
ज्वालामुखी स्थायी घर भएका अंकित नीलकण्ठ नगरपालिका– ३, पहरेचौतारामा बस्दै आएका थिए । आइतबार गाईजात्राको सार्वजनिक बिदा भएको र साथीहरूसँग अरुङ खोलामा नुहाउन गएको वेला त्यहीँबाट हराएको उनका आफन्तले जनाएको छ । साँझसम्म अंकित परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजी गरेको थियो । धादिङबेँसी बजारको सिसिटिभी फुटेजमा अंकित बिचबजार चोकतिर साथीहरूसँग हिँडिरहेको देखिएको थियो ।
थोपालखोला हुँदै त्रिशूली किनारका सबै प्रहरी युनिटहरूमा पनि बालकको हुलियासहित खोजीकार्यका लागि सूचना जारी गरिएको र घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिए ।