
दाङको तुलसीपुर उपमहानगरपालिका- १२, कपडादेवीस्थित पृथ्वी टोलमा बस्दै आएका विक्रम घर्तीलाई ग्वारखोलामा बग्दै गरेको अवस्थामा सकुशल उद्धार गरिएको छ ।
सोमाबर बिहान ११ बजेतिर उनले ग्वारखोला पुलनजिकबाट हाम फालेका थिए । हाम फालेको देखेपछि गाईवस्तु चराउन गएका गोठालाले उनलाई उद्धार गरेका हुन् । उद्धारपछि उनलाई मानव सेवा आश्रम तुलसीपुरको जिम्मा लगाइएको तुलसीपुर- १२ का वडाध्यक्ष खुसीराम चौधरीले बताए ।
चौधरीका अनुसार उनी पृथ्वी टोलमा आफन्तीको घरमा बस्दै आएका थिए । उनी केही वर्ष रोजगारको सिलसिलामा दुबई बसेका थिए । त्यहाँ काम गर्दागर्दै प्रेसरले हानेपछि उनी राम्रोसँग हिँडडुल गर्न सक्दैनन् ।
हिँडडुल गर्न नसक्ने अवस्था भएपछि ५–६ महिनाअघि मात्रै नेपाल आएका थिए । नेपाल आएपछि उनी पृथ्वी टोलस्थित आफन्तकोमा बस्दै आएका थिए । त्यही क्रममा उनले सोमबार खोलामा हाम फालेर आत्महत्याको प्रयास गरेका थिए । उद्धारपछि उनलाई जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय तुलसीपुर, नगर प्रहरीलगायतको रोहवरमा मानव सेवा आश्रममा राखिएको छ ।