मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 12 August, 2025
रामकृष्ण थापा सिन्धुपाल्चाेक
Invalid date format ११:५५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नौ दिनदेखि कोदारी सडक बन्द : भरियालाई बोकाएर तातोपानी ल्याउन थालियो मालसामान

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चाेक
नयाँ पत्रिका
Invalid date format ११:५५:oo
  • फलफूल बोकेका कन्टेनर सीमाक्षेत्रमा अलपत्र परेपछि व्यवसायीले प्रतिकन्टेनर ५० हजारसम्म थप खर्च गरेर भरियामार्फत तातोपानी ल्याउन थालेका हुन्

दसैँ, तिहार, छठलगायत नेपालीका ठुला चाडपर्वलक्षित गरेर चीनबाट आयात गरिएका सामग्री सीमाक्षेत्र तातोपानीमा अड्किएका छन् । कोदारी सडकखण्डको इको क्षेत्रमा पहिरो बगिरहेकाले नौ दिनयता तातोपानी नाका अवरुद्ध भएको हो । खासा भन्सारबाट बल्लतल्ल जाँचपास भएर लिपिङ प्रवेश गरेका फलफूल बोकेका कन्टेनर सीमाक्षेत्रमा अलपत्र परेपछि व्यवसायीले प्रतिकन्टेनर ५० हजारसम्म थप खर्च गरेर भरियामार्फत तातोपानी ल्याउन थालेका छन् ।

स्याउ आयातकर्ता शारदाप्रसाद पराजुलीले भरियालाई बोकाएर स्याउ भन्सार ल्याएको बताए । ‘लिपिङ आएका पाँच कन्टेनरमध्ये तीन कन्टेनर स्याउ भरियाले बोकेर पहिरो कटाए,’ उनले भने, ‘अझै करिब सय कन्टेनर लिपिङदेखि न्यालमसम्म रहेका छन् ।’ धेरै व्यवसायी साथीहरूका फलफूलवाहक कन्टेनर खासा क्षेत्रमा अड्किएको उनले बताए ।

कोदारी क्षेत्रमा बगिरहने पहिरो र साँघुरो भूगोलका कारण भारी बोक्ने भरियालाई हिँड्नसमेत समस्या छ । पहिरोमाथि गाउँ भएकाले ठुला मेसिन प्रयोग गरेर सडक बनाउन अर्को समस्या छ ।

सडक बगेर भोटेकोशीमा मिसिएपछि कोदारी क्षेत्रमा रहेर ट्रयाक निर्माण गर्न लागिपरेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले दिएको जानकारीअनुसार नेपालपट्टिको सडकको अवस्था र खासा भन्सारको पेलाइले नेपाली व्यापारी हैरानीमा परेका छन् । ‘दसैँका सामान सबै चिनियाँ क्षेत्रमा अड्किएका छन् । अबको केही दिनमा सामान काठमाडौं नपुर्‍याउने हो भने रेडिमेड सामान देशभर पुग्दैन,’ उनले भने, ‘फलफूल कुहिन थाले, लत्ताकपडालगायत खासा क्षेत्रमा अलपत्र परेका छन् ।’ 

इको पहिरो नियन्त्रण वा नयाँ ट्रयाक बनाउनेबारे आजसम्म कुनै ठोस पहलकदमी भएको छैन । भोटेकोशी गाउँपालिकाले इको पहिरो नियन्त्रण गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई पत्र नै दिएर जानकारी गराएको थियो । सडक डिभिजन कार्यालय चरिकोटले ढुंगामाटो पन्छाउन प्रयास गरे पनि बगिरहने भूगोलका कारण पहिरो नियन्त्रण सम्भव भएन । 

अहिले लिपिङ क्षेत्रमा एक दर्जनभन्दा बढी गाडी रोकिएका छन् । खासा र न्यालममा एक सय कन्टेनर फलफूल गोदाममा राखिएको छ । दसैँका लागि आएका पाँच सय कन्टेनरभन्दा बढी रेडिमेड सामान चिनियाँ क्षेत्रमा छन् । धमाधम जाँचपास गरेर नेपाल पठाउनुपर्ने कन्टेनरलाई चिनियाँ क्षेत्रमा गोदामको व्यवस्था गरिएको छ । खासा भन्सारले विद्युतीय गाडी जाँचपासलाई प्राथमिकता दिँदा फलफूलजन्य सामग्री गोदाममै कुहिने अवस्थामा पुगेको कतिपय व्यवसायीले आरोप लगाएका छन् । तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्ले भन्छन्, ‘सडकको दुरावस्थाले राजस्व संकलनमा गम्भीर असर गरेको छ ।’ दैनिक ६ करोड राजस्व उठ्ने गरेकोमा नौ दिनयता दैनिक ५० लाख मात्रै संकलन भएको उनले बताए । नेपाल–चीनको प्रमुख व्यापारिक नाकाहरू रसुवा बन्द हुनु र तातोपानी नाका नियमित नहुँदा दुई देशबीचको व्यापार प्रभावित भइरहेको छ ।

एक महिनादेखि रसुवा नाका बन्द अवस्थामा

उत्तरतर्फको प्रमुख व्यापारिक नाका रसुवागढी–केरुङ एक महिनादेखि बन्द अवस्थामा छ, कहिले चल्छ टुंगो छैन । २४ असारमा आएको भीषण बाढीले रसुवा–केरुङ नाकामा ठुलो क्षति पुगेपछि त्यहाँबाट हुने दुई देशको सम्पर्क टुटेको छ । बाढीले दुई देशलाई जोड्ने मितेरी पुल, सडक, सीमामा रहेका दुई अन्य संरचना र बन्दरगाहमा ठुलो क्षति पुग्नुका साथै भन्सार जाँचपासका लागि राखिएका सवारीसाधन र अन्य सामग्रीसमेत बगाएको थियो । त्यसपछि सरकारले नेपालतर्फको सडक मर्मतकार्य अघि बढाए पनि पुन: १४ साउनमा आएको बाढीले नाका सञ्चालनमा अन्योल सिर्जना गरिदिएको छ । चीन सरकारले रसुवा–केरुङ नाकामा एक महिनाभित्रै बेलिब्रिज निर्माण गर्ने गरी काम गरिरहेको छ ।

प्रमुख नाका सञ्चालनको टुंगो नलाग्दा दुई देशबिचको व्यापार नै अन्योलमा परेको छ । यद्यपि, बेलिब्रिज निर्माणपछि भने व्यापार नियमित हुन सक्ने अपेक्षा गरिएको छ ।