Skip This
झ्याल टालिएको कोठा रहेछ, कहिलेकाहीँ स्वास्थ्य जाँच गर्दा मात्र बाहिर ल्याउने गरेको पाइयो
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Tuesday, 12 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २७ मंगलबार o६:५८:oo
Read Time : > 2 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

झ्याल टालिएको कोठा रहेछ, कहिलेकाहीँ स्वास्थ्य जाँच गर्दा मात्र बाहिर ल्याउने गरेको पाइयो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार o६:५८:oo

भैरहवा कारागार भिजिट गर्नुभयो, वस्तुस्थिति के पाउनुभयो ? 
भौतिक संरचना एकदमै जर्जर रहेछ । २५० क्षमताको कारागारमा ६५० भन्दा बढी कैदीबन्दी राखेको पायौँ । एउटै हलमा ५० भन्दा बढी मानिस सुतेका देख्यौँ । खुट्टै पसार्न नपाउने अवस्था पनि भेट्यौँ । ६५० जनालाई जम्मा १६ वटा शौचालय रहेछन् । शौचालयको अवस्था एकदमै नाजुक देख्यौँ । कैदीबन्दीलाई स्वच्छ हावापानी र घामबाट वञ्चित गरेको पायौँ । यो धेरै नै ध्यानाकर्षण गर्नुपर्ने विषय हो । कारागार सुधारगृह हो । दोषीलाई काउन्सिलिङ गरेर समाजमा पुनस्र्थापित गर्नुपर्ने हो, तर त्यो भेटिएन । युवाहरूको भविष्य चिन्ताजनक छ । उनीहरूको सिपलाई सुधारको दिशामा प्रयोग गरिएको छैन । अर्काे एकदमै सीमित स्रोत–साधन रहेछ । 

रास्वपा सभापति रवि लामिछानेलाई पनि भेट्नुभयो, उहाँको पहिलो प्रतिक्रिया के थियो ?
रवि लामिछानेजीसँग हामीले झन्डै आधा घण्टा नै उहाँको कोठैभित्र गएर भेटघाट गर्‍यौँ, उहाँका सबै कुरा सुन्यौँ । उहाँका अनुसार कोठाबाहिर हिँडडुल गर्न बन्देज गरिएको रहेछ । जेलरले सुरक्षाको कारणले भन्नुभएको रहेछ । त्यो कोठामै सय दिनभन्दा बढी नै बन्द राखिएको छ । कहिलेकाहीँ मेडिकल चेकअप गर्दा मात्र बाहिर ल्याउने गरेको पाइयो । दोस्रो, उहाँलाई राखेको कोठाको शौचालयको अवस्था दयनीय छ, यसमा उहाँको चासो छ । त्यो कोठैभित्र हाफ ट्वाइलेट छ । खाना खाँदासमेत दुर्गन्ध भोग्ने खालको छ ।

उहाँले ‘यहाँ विभिन्न कारणले मलाई सुरक्षा छैन’ भन्नुभयो । बस्ने ठाउँमा सर्प पनि आउन सक्ने रहेछ । एक्लै कोठा छ । हरेक कोणबाट सुरक्षा चुनौती देखिन्छ । यो बोर्डर एरिया हो । ६५० जना सबै कैदीबन्दी एकै ठाउँमा राखिएको छ । सुरक्षाका कारण मलाई यो ठाउँ ठिक छैन भनेर स्थानान्तरण माग्नुभएको रहेछ । ‘अदालतले जेठमा अनुमति दिसकेको अवस्थामा पनि यो लागू गरिएन, यो ममाथि प्रतिशोध हो’ भन्ने उहाँको भनाइ थियो । सुरक्षाको कारण देखाएर उहाँलाई हावा नै नआउने झ्यालै नभएको कोठामा राखेको पाएपछि हामीले कैदीबन्दीको सुरक्षा जिम्मेवारी राज्यले लिनुपर्छ भन्यौँ । 

उहाँ कस्तो पोसाकमा हुनुहुन्थ्यो ?
क्याजुअलमा हुनुहुन्थ्यो । ‘असाध्यै गर्मी छ, आज त तपाईंहरू आउने दिनमा मौसम अलि राम्रो भयो, नत्र मेरो लुगा निथुक्कै भिज्छ, कोठामा दुइटा पंखा छ’ भन्नुभयो । अनि यो लुगा सुकाउने ठाउँ भनेर देखाउनुभयो । कोठामा हावा नआउँदा नसुकेको रुमालको गन्ध पनि सुगाउनुभयो । नसुकेको लुगाहरू लगाउनुपर्छ भनेर देखाउनुभयो । मेरो मानव अधिकारको अवस्था हेर्नुस् भन्नुभयो । अरू बन्दीको के होला भनेर प्रश्न गर्नुभयो । हामीले प्रश्न पनि राख्यौँ– तपाईं गृहमन्त्री हुँदा के सुधार गर्नुभयो ? उहाँले ‘मैले पनि सकेको कोसिस त गर्‍या हो’ भन्नुभयो ।

अँध्यारो र साँगुरो कोठा अनि एसी र कुलर जोडिएको भन्ने कुरा के रहेछ ? 
कोठा पर्दाले बिचमा बारेको छ । एकातिर सुत्ने ठाँउ छ, अर्कोतिर ट्वाइलेट छ । एसी, कुलर केही पनि छैन । दुइटा पंखा रहेछन् । ‘सामान्यत: एउटा पंखा चलाउँछु, अति नै गर्मी हुँदा दुइटा चलाउँछु’ भन्नुभयो । उहाँले पढ्ने–लेख्ने गरेर दिन बिताउँछु भन्नुभयो । र खाना पनि त्यही ल्याइदिने रहेछन् । त्यहीँ खानुहुँदो रहेछ । तर, आधा मात्र बारेको खुला शौचालय त्यही कोठाभित्र हुँदा दुर्गन्ध रहेछ । उहाँलाई नुहाउन पानीको समस्या रहेछ । ट्यांकीको पानी असाध्यै तातो आउने रहेछ । नुहाउन पानी बाहिरबाट ल्याउनुपर्ने रहेछ । लुगा सबै उहाँले त्यही मेचमा सुकाइरहनुभएको थियो ।

हिँडडुल गर्न रविले मात्रै नपाएको कि अरूले पनि ?
हामीले भिजिट गर्दा केही कैदीबन्दीहरू बाहिर हिँडडुल गरेर अलिकति घाम ताप्ने, बाहिर क्यारेमबोर्ड खेलिरहेको पायौँ । अब रविजी भने सय दिनदेखि यही कोठामा मात्रै बसिरहनुभएको छ । अब हामीले कारागार प्रशासन प्रमुखसँग कुरा गर्दा उहाँले सुरक्षाको कारणले रविजीलाई बाहिर नल्याएको भन्नुभयो । भौतिक संरचना, कारागारवरिपरि ठुल्ठुला व्यक्तिगत घर भएको हुनाले पनि उहाँलाई सुरक्षा चुनौती भएर भित्र राखेको कारागार प्रमुखको भनाइ थियो । 

झ्यालहरू बन्द भएको कुरा के हो ? 
झ्यालहरू बन्द गरेको एकदमै अमानवीय लाग्यो । कारागार प्रशासनलाई यो झ्याल खोल्दिनुस्, तपाईंहरूले जसरी पनि सुरक्षा दिनुपर्छ, झ्यालचाहिँ खोल्दिनुस् भनेका छौँ । उहाँहरूले दुई–तीन दिनमै म्यानेज गर्छाैँ भन्नुभएको छ । यसमा हामी फलोअप गर्छौँ ।

कोठामा खाट पनि सानो भएको, खुट्टा तान्दा पनि नअट्ने खालको भन्ने के रहेछ ? 
रवि लामिछानेजी अलि लामो हुनुहुन्छ । अनि छोटो खाट रै’छ । रविजीले भन्नुहुन्थ्यो कि मेरो खुट्टा पनि पुग्दैन खाटमा । त्यो देखियो पनि । यो राज्यको दोष हो । सरकारले कुनै पनि कारागारलाई व्यवस्थित गर्नुपर्छ । बन्दी ल्याएर राखेपछि उसको मानवीय पक्ष हेर्नुपर्छ । उनीहरू ठुलै सिरियस क्रिमिनल होस् अथवा अलिअलि होस् त्यो बन्दीहरूलाई आधारभूत अधिकार दिनुपर्छ । खाना, सुत्न पाउने, राम्रोसँग हावा आउने किसिमको व्यवस्था राज्यले गर्नुपर्छ । यो हामीले एकदमै उठाउनुपर्ने विषय हो । खुट्टा पसारेर सुत्न त पाउनुपर्‍यो नि ! 

पत्रपत्रिका पढ्न नदिएको कुरा के रहेछ ?
रविजीले पत्रपत्रिका पढ्न नपाएको भन्नुभयो । रेडियो मेरो भर हो भन्नुहुन्थ्यो । साथीभाइले कहिलेकाहीँ किताबहरू ल्याइदिनुहुन्छ, त्यही पढ्छु भन्नुभयो । कारागारमा लाइब्रेरी रहेछ । तर, रविजी बाहिर निस्किन नपाएकाले अरू कैदीबन्दीसरह किताब पढ्न पाउने अवस्था रहेनछ । भैरहवा कारागारमा पत्रपत्रिका आउँदो रहेनछ । यो पनि एउटा विडम्बना हो । हामीले कारागार प्रमुखलाई सोध्दा पत्रिका लिएकै छैन भन्नुभयो ।

रवि लामिछानेको गुनासो के छ ?
उहाँको मुख्य त कोठाभित्र बन्द गरियो, बाहिर हिँडडुलसम्म दिइएन भन्ने छ । मलाई पनि त घाम चाहिन्छ, शुद्ध हावा चाहिन्छ, त्यो पाइएन भन्ने कुरा थियो । दोस्रो स्थानान्तरणको कुरा थियो । अदालतको अनुमति हुँदाहुँदै पनि मलाई यहाँबाट अन्त सारिएन । यहाँ सुरक्षा चुनौती छ, बोर्डर एरिया हो, मलाई कहिले सर्पको चुनौती, कहिले सुरक्षाको चुनौतीमा राख्न मिल्दैन भन्ने कुरा थियो ।