
रवि लामिछानेले थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने भन्दै रुपन्देही अदालतमा दिएको निवेदनविरुद्ध कांग्रेस भ्रातृ संगठन नेपाल किसान महासंघका प्रवक्ता रमेशबहादुर रावलले सोमबार न्यायपरिषद्मा उजुरी दिएका छन् ।
गृहमन्त्री रमेश लेखकको योजनामा तीन–चार दिनअघि गृह मन्त्रालयमै उजुरीको ड्राफ्ट बनाइएको कांग्रैसकै एक नेताले बताए । सोमबार बिहान मस्यौदालाई अन्तिम रूप दिएर दर्ता गरिएको स्रोतको दाबी छ । उजुरीकर्ता रावल अधिवक्ता पनि हुन् ।
रविले १९ साउनमा अदालतमा निवेदन दिएपछि उजुरीको योजना बनेको स्रोतको भनाइ छ । रावलले कसैको योजनामा उजुरी नदिएको दाबी गरे पनि तीन दिनअघि गृह मन्त्रालय गएको स्वीकार गरेका छन् । ‘म तीन दिनअघि गृह मन्त्रालय गएको थिएँ । त्यहाँको कानुन शाखाबाहेक अन्त कहीँ गएको छैन,’ उनको दाबी छ, ‘कसैको सपोर्टमा उजुरी दिएको होइन ।’
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको ०७९ को चुनावी सरकारमा रावल प्रधानमन्त्रीको सचिवालयमा कार्यरत थिए । उनी देउवाको गृहपालिका डडेल्धुराको गन्यापधुराका बासिन्दा हुन् ।
जेलमा रविको अवस्था कस्तो छ ?