
उहिल्यै कुनै एक स्थानमा एक युवक टाउको निहुराएर आफ्नो काममा पुग्न निकै हतारिँदै थिए । हतार–हतार काममा जाने क्रममा उनले बाटामा एकजना मजदुरले रङ पोतिरहेको देखेर ती युवक टक्क रोकिए । ती मजदुरले रङ पोत्ने क्रममा उनले समय र सामान दुवै बर्बाद पारिरहेका थिए । त्यसरी काम गर्दा एकातिर बढी समय लाग्थ्यो भने अर्कातिर सामान पनि बढी लागिरहेको थियो ।
त्यो सब हेरिरहेका ती युवक मजदुरनजिकै गए र नम्र स्वरमा भने, ‘साथी, अहिले तपाईंले लगाइरहेको भन्दा थोरै समय र कम सामानले योभन्दा पनि राम्रो काम हुन सक्छ । के तपाईं त्यो तरिका सिक्न चाहनुहुन्छ ?’ युवकको प्रश्न सुनेर ती मजदुर छक्क परे । उनले केही जवाफ दिनै सकेनन् । उनको छेवैमा उनका मालिक पनि उभिइरहेका थिए । युवकको प्रस्ताव सुनेपछि तिनले भने, ‘भाइ, यदि तिमीसित यस्तो कुनै तरिका छ भने हामीलाई छिटो बताऊ ।’
ती मालिकको अनुरोध सुनेपछि ती युवक मजदुरी गर्दा लगाउने लुगा लगाएर मजदुरको ब्रस र रङ पोत्ने सामान लिएर काममा जुटे । साँझ हुनुअगावै उनले आफ्नो कुरा सिद्ध गरेर देखाइदिए । त्यहाँबाट बिदा भएर जाने वेलामा मालिकले ती युवकलाई उनको पारिश्रमिक र विशेष इनामसमेत दिए । तर, उनले त्यो पैसा मजदुरलाई दिँदै भने, ‘काम त उहाँकै हो, मैले त यसमा केही बुद्धि लगाइदिएको मात्र हुँ । मैले यो पैसा लिएँ भने उहाँको पारिश्रमिक खोसिनेछ । र, म यस्तो कदापि गर्न सक्दिनँ ।’
यसरी कम समयमा कम सामान प्रयोग गरेर काम गरेर देखाइदिने ती युवकको नाम थियो, कार्ल माक्र्स । जसले पछि ‘कम्युनिज्म’को नयाँ सिद्धान्त प्रतिपादन गरी संसारमा एक नयाँ शासन प्रणालीलाई जन्म दिए ।