
पशुपति आर्यघाटबाट जलाइरहेको शवबाट हड्डी निकालेको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शवदहनमा संलग्न गणेश ढकाल र उनका सहयोगी छन् । उनीहरूलाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले आर्यघाटबाट शुक्रबार पक्राउ गरेको हो ।
शुक्रबार आर्यघाटमा काभ्रेको बनेपा नगरपालिका– ९ का राम शाहीको अन्त्येष्टि हुँदै थियो । शवदहन गर्न ढकाल खटिएका थिए । सोही क्रममा उनले शवबाट हड्डी निकाली अपरिचित व्यक्तिलाई दिएको मृतक शाही परिवारको आरोप छ ।
उनीहरूकै जाहेरीका आधारमा ढकाल र उनका एक सहयोगी पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुलदीप चन्दले बताए । ‘शुक्रबार पशुपति आर्यघाटमा एउटा शवदहन हुँदै रहेछ । दहनमा संलग्न गणेश ढकाल र उनका एक सहयोगीले शवबाट हाड झिकेको भन्दै प्रहरीमा जाहेरी दिएपछि घटनाको अनुसन्धान गर्न ढकालसहित उनका सहयोगीलाई पक्राउ गरेका छौँ,’ उनले भने ।
मृतकका आफन्तका अनुसार ढकालले शवबाट हाड र मासु निकाली जोगीजस्तो देखिने अपरिचित व्यक्तिलाई दिएका थिए । त्यसबापत उनले रकमसमेत लिएको उनीहरूको आरोप छ । गतिविधि शंकास्पद देखिएपछि शवदहनमा सहभागी मलामी र परिवारका सदस्यले ढकालविरुद्ध प्रहरी वृत्त गौशलामा उजुरी दिएका थिए । प्रहरीका अनुसार हाड खरिद गर्ने व्यक्ति फेला पर्न सकेका छैनन् । ‘मलामीहरूले मासु र हाड लगेर बेच्यो भनेका छन् । तर, प्रत्यक्ष रूपमा देख्ने मान्छे फेला पर्न सकेका छैनन्, न हाड र मासु लिने मान्छे नै फेला परेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ,’ चन्दले भने ।