
मनाङको सदरमुकाम चामेदेखि माथिल्लो मनाङको खाङसारसम्मको सार्वजनिक यातायातको भाडा ७५० रुपैयाँ कायम गरिएको छ । यसअघि सो रुटमा एक हजार पाँच सय रुपैयाँसम्म लिने गरिएको थियो ।
मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको अध्यक्षतामा शुक्रबार बसेको अस्थायी मार्ग तथा भाडा निर्धारण समितिको बैठकले भाडादर निर्धारण गरेको हो । सो भाडादर १ भदौदेखि लागू हुनेछ ।
भदौदेखि मनाङमा पर्यटक सिजन सुरु हुने भएकाले भाडादर व्यवस्थित गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । चामेबाट खाङसार हुँदै ठुलो संख्यामा आन्तरिक तथा विदेशी पर्यटकहरू तिलिचो ताल तथा थोरङला पास जान्छन् । स्थानीय तहदेखि यातायात समितिका प्रनिनिधि तथा सुरक्षा निकायलगायत सरोकारवालासहितको बैठकले नयाँ भाडादर तय गरेको हो । पर्यटकीय सिजनलाई नै लक्षित गरी भाडादर निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । बैठकपछि यातायात व्यवसायी पनि भाडा घटाउन तयार भएका छन् । बैठकमा सार्वजनिक यातायात आचारसंहिता २०६७ कार्यान्वायन गर्ने विषयमा पनि छलफल भएको छ ।
जिल्ला प्रशासनको पहलमा यसअघि लमजुङको बेँसीसहरदेखि चामेसम्मको सार्वजनिक यातायातको भाडा पनि घटाइएको थियो । साथै, बेँसीसहरदेखि चामेसम्म सार्वजनिक बस पनि हालै सञ्चालनमा ल्याएपछि मनाङका स्थानीय तथा पर्यटकलाई सहज भएको छ ।