
एक गरिब परिवारका बालक सानैदेखि वैज्ञानिक बन्ने दाबी गरिरहन्थे । उनको परिवार निकै गरिब भएकाले उनीहरूले आफ्नो छोराको रहर पूरा गर्न राम्रो शिक्षादीक्षाको व्यवस्था गर्न सक्दैनथे । तर, बाल्यकालदेखि नै वैज्ञानिक बन्ने सपना पालेका ती बालक भने जसरी भए पनि आफ्नो रहर पूरा गरिछाड्ने सुरमा थिए ।
‘यसलाई कुनै वैज्ञानिककहाँ लगेर छाडिदिन पाए यसको चाहना पूरा हुन सक्थ्यो कि ? विज्ञान पढाउने क्षमता त ममा छैन,’ ती बालककी आमाले एक दिन मनमनै सोचिन् । त्यसपछि ती आमाले सो बालकलाई एक चर्चित वैज्ञानिकको कार्यालयमा लिएर गइन् ।
वैज्ञानिकको कार्यालयमा पुगेपछि ती बालककी आमाले बालकको रहरबारे सम्पूर्ण विवरण वैज्ञानिकसामु बताइन् । ती महिलाको भनाइ धैर्यपूर्वक सुनिसकेपछि ती वैज्ञानिकले बालकलाई एउटा कुचो दिएर आफ्नो प्रयोगशाला सफा गर्न अह्राए । ती बालकले बडो राम्ररी त्यो प्रयोगशाला सफा गरे । कुनै कुनामा पनि फोहोर छाडेनन् । सफाइ गरिसकेपछि सारा सामान जहाँको त्यहीँ मिलाएर राखिदिए ।
वैज्ञानिकले यो सब देखेपछि भने, ‘यो बालकमा वैज्ञानिक बन्न सक्ने सारा गुण छ । तपाईंले उसलाई मेरो कार्यालयमा छोडिदिनुस् । एक दिन यो अवश्य वैज्ञानिक बन्नेछ । सफाइ र व्यवस्थाले मानिसको व्यक्तित्व विकासको क्षमता बढ्छ र त्यसैबाट उसको स्तरबारे पनि थाहा हुन्छ ।’ नभन्दै ती बालक तिनै वैज्ञानिकको कार्यालयमा काम गर्दागर्दै चर्चित वैज्ञानिक बन्न सफल भए । ती बालक अरू कोही नभएर महान् वैज्ञानिक थोमस अल्बा एडिसन थिए ।