
उदयपुरको बेलका नगरपालिका– १, रामपुरबाट नौ किलो गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार आम्बासीस्थित प्रहरी बिट आम्बासीबाट चेकिङमा खटिएको प्रहरी टोलीले हिजो बुधबार पक्राउ गरेको हो ।
दोङले बेलका नगरपालिकाको रामपुर ठोक्सिलाबाट जिल्ला सप्तरी फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प ९४७८ नम्वरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलचालक बेलका नगरपालिका–३, मोरङ्गे टोलका वर्ष ३५ का सुनील श्रेष्ठले झोलामा लुकाइछिपाई ल्याउँदै गरेको नौ किलोग्राम अवैध लागुऔषध गाँजासहित पक्राउ परेको जानकारी दिए ।
पक्राउ परेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ दोङको भनाइ छ ।