
प्रधानमन्त्री केपी ओलीले कोदो उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत कोदो दिवसको अवसरमा शुभकामना दिँदै उनले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्त्वसमेत रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्, ‘ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन मद्दत गर्छ । सिँचाइविना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।’
उनले कोदोको उत्पादन बढाउन र यसका परिकार उपभोग गर्न सुझावसमेत दिएका छन् ।
‘कोदो उत्पादन बढाऔँ, कोदोका परिकारहरू उपभोग गरौँ ! कोदो दिवसको शुभकामना !’ उनले शुभकामना दिँदै भनेका छन् ।
सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउँदै छ। कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो ।