
प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन गरेका छन् । आयोजनाअन्तर्गत कैलालीमा १४ हजार तीन सय हेक्टरमा विस्तार भएको सिँचाइ, जानकी गाउँपालिका– ९, कटासेमा निर्मित विद्युत्गृह तथा विद्युत् प्रसारणलाइनको सोमबार उद्घाटन गरेका हुन् ।
आयोजनाअन्तर्गत ४.७१ मेगावाट क्षमताको जलविद्युत् योजनाको डेढ वर्षअघि नै निर्माण सम्पन्न भएर विद्युत् उत्पादन भइरहेको छ । ०८० बाटै विद्युत् उत्पादन सुरु गरिएकोमा राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । सिँचाइतर्फको काम भने पूरा भएको छैन । ०६६/६७ मा सुरु भएको रानीजमरा कुलरिया आयोजनाले कैलालीमा ३८ हजार तीन सय हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य लिएको छ । त्यसमध्ये अहिले २० हजार तीन सय हेक्टरलाई लक्षित गरेर काम भइरहेको छ ।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर वीरसिंह धामीले समग्र भौतिक प्रगति ७४.७६ प्रतिशत र वित्तीय प्रगति ६९.५५ प्रतिशत रहेको जानकारी दिए । उनले १४ हजार तीन सय हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा हुने गरी मूल र शाखा नहर निर्माणको काम पूरा भएको बताए । त्यसका लागि नौ किलोमिटर लामो मूल नहर, ११ किलोमिटर फिडर नहर, तीनवटा शाखा नहर, ५२ वटा उपशाखा नहर निर्माणको काम पूरा भएको आयोजना कार्यालयले जनाएको छ । रानीजमरा कुलरिया खण्डतर्फ मूल नहर, शाखा, उपशाखा नहर, फिडर नहर गरी करिब ७४ किलोमिटर नहर निर्माणको काम पूरा भएको सिनियर डिभिजनल इन्जिनियर धामीले जानकारी दिए । ती संरचनाबाट अहिले १४ हजार तीन सय हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको उनले बताए ।
लम्की विस्तार खण्डतर्फ बाँकी ६ हजार हेक्टरमा सिँचाइ सुविधा विस्तारका लागि नहर निर्माणको काम पूरा भएको छैन । लम्कीतर्फ करिब साढे १४ किलोमिटर लामो मूल नहर निर्माणको काम पूरा भए पनि शाखा नहर र खण्डहरू गरी नौ किलोमिटर नहर बन्न बाँकी रहेका धामीले बताए । त्यसका लागि जग्गा अधिग्रहणको काम पनि पूरा भएको छैन । सुरुमा ४० करोड मुआब्जा दिनुपर्ने आकलन गरिएकोमा अहिले करिब तीन अर्ब पुगेको अनुमान आयोजनाको छ ।
आयोजना कार्यालयका अनुसार सुरुवातमा १४ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा विस्तारको लक्ष्यसहित काम भए पनि सन् २०१८ देखि थप ६ हजार हेक्टरमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्यसहित काम सुरु भएको थियो । बाँकी करिब १८ हजार हेक्टरमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्यसहित यसै वर्षबाट काम सुरु गर्ने योजना रहेको आयोजना कार्यालयले जनाएको छ । ‘सुरुमा १४ हजार तीन सय हेक्टरलाई लक्षित थियो, त्यसपछि ६ हजार थपियो,’ आयोजना पूरा नहुँदै उद्घाटन गरिएकोबारे उनले भने, ‘थप खण्डका लागि यसै वर्षबाट काम भइरहेको छ । पहिलो खण्डको काम पूरा भएकाले उद्घाटन गरिएको हो ।’
सुरुमा १४ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा विस्तार गर्ने गरी आयोजनाको लागत १२ अर्ब ३७ करोड ७५ लाख रुपैयाँ थियो । पछि ६ हजार हेक्टर थपिएपछि २७ अर्ब ७० करोड २४ लाख पुगेको थियो । तर, निर्धारित अवधिमा काम पूरा नभएपछि अहिले आयोजनाको लागत बढेर २९ अर्ब ५९ करोड ७७ लाख पुगेको छ । सिनियर डिभिजन इन्जिनियर धामीले हालसम्म २० अर्ब ५८ करोड ५६ लाख रुपैयाँ खर्च भएको जानकारी दिए ।
१४ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा विस्तार गर्न ०६६/६७ मा सुरु भएको आयोजना ०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । पछि लक्षित क्षेत्र ६ हजार हेक्टर थपिएपछि सम्पन्न हुने अवधि ०८०/८१ पुर्याइएको थियो । आर्थिक वर्ष ०८१/८२ मा समेत काम पूरा नभएपछि ०८५/८६ मा काम सक्ने लक्ष्य लिइएको छ ।
सिनियर डिभिजनल इन्जिनियर धामीले लम्की विस्तार खण्डको करिब नौ किलोमिटर लामो नहर निर्माणका लागि मुआब्जा निर्धारण भइसकेको उल्लेख गर्दै चालू आर्थिक वर्षभित्रै निर्माणको काम सुरु हुने बताए ।
आयोजनाअन्तर्गत विद्युत्गृह निर्माणसँगै सिँचाइ सुविधा विस्तारका लागि नहर निर्माण, नदी कटान नियन्त्रण गर्न तटबन्ध निर्माण, सडक, पुल र कल्भर्ट निर्माण भइरहेका छन् । रानीजमरा कुलरिया सिँचाइ आयोजनाको इन्टेक चिसापानीस्थित कर्णाली नदीमा निर्माण गरिएको छ । साढे ६ किलोमिटर विद्युत् प्रसारणलाइन, सिँचित क्षेत्र बचाउन नदी नियन्त्रण कार्यक्रमअन्तर्गत विभिन्न ठाउँमा ८० किलोमिटर लामो तटबन्ध, २४५ किलोमिटर लामो ग्रामीण सडक स्तरोन्नति, ७५ वटा पानी वितरण गर्ने संरचना निर्माण गरिएका छन् । १२० वर्षअघिको स्थानीय किसानको सामूहिक प्रयास र परम्परागत सीपबाट सुरु भएको रानीजमरा कुलरिया सिँचाइ प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको हो ।
रानीजमरा कुलरिया सिँचाइ ऐतिहासिक उपलब्धि : प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओलीले रानीजमरा कुलरिया सिँचाइ आयोजना नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भएको बताए । कृषि उत्पादन वृद्धि, ऊर्जामा आत्मनिर्भर र खाद्य सुरक्षामा आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो । ‘आयोजनाले यस क्षेत्रको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षासँगै समृद्धिको मार्गचित्र देखाएको छ,’ उनले भने । आयोजनाअन्तर्गत तेस्रो चरणको कामका लागि विश्व बैंकसँग ऋण लिने निर्णय सरकारले गरेको प्रधानमन्त्री ओलीले बताए ।
३८ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्यसहित रानीजमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरणको निर्माणका लागि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट ऋण लिने निर्णय गरेको उनले बताए । प्रधानमन्त्री ओलीले देशमा परिर्वतन ल्याउन योगदान गरेका दुई ठुला दल मिलेर बनेको सरकारले स्थिरता, स्थायित्व कायम गर्ने गरी काम गरिरहेको दाबी गरे ।
ऊर्जामन्त्री दीपक खड्काले सरकारले पश्चिम सेती, पञ्चेश्वर, कर्णालीजस्ता सुदूरपश्चिमका ठुला जलविद्युत् आयोजना निर्माणको काम सरकारले अघि बढाएको बताए ।