मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Wednesday, 30 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण १४ बुधबार o५:५o:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : कसलाई शुभ, कसलाई अशुभ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार o५:५o:oo

एक बिहान पूर्ण र अपूर्ण प्रात: भ्रमणका क्रममा जंगलतिर गए । शान्त जंगललाई चराचुरुंगीको चिर्बिराहटले मनमोहक बनाएको थियो । दुवै मित्र रमाउँदै जंगल घुम्दै थिए । नजिकैको रुखबाट कोइलीको कुहुकुहुको सुमधुर आवाज आयो । 

पूर्ण र अपूर्ण दुवै अन्धविश्वासी थिए । उनीहरूलाई कोइलीको आवाज शुभ सन्देशले भरिएको हुन्छ भन्ने भ्रम थियो । दुवैले कोइलीको आवाज आआफ्ना लागि मंगलसूचक ठाने । पूर्णले भन्यो– कोइलीले मलाई शुभ सन्देश दिइरहेको छ । 

आज मलाई निकै ठुलो सफलता प्राप्त हुनेछ । अपूर्णले थप जोसिँदै भन्यो– कहाँ तिम्रा लागि शुभ सन्देश दिएको हुनु नि ? उसले त मलाई पो मंगल सन्देश दिएको हो ! मलाई आज धेरै धन प्राप्त हुनेछ । किनकि, म तिमीभन्दा बढी नै भाग्यशाली छु । बिहानबिहानै स्वच्छ मौसमको आनन्द उठाउनुको साटो पूर्ण र अपूर्ण तँतँ र मम गर्दै झगडामा उत्रिए । कोइलीको आवाज दुवैले आफ्ना लागि शुभ सन्देश भएको भन्दै जिद्दी गरिरहे । भनाभन चर्किंदै गएपछि दुवै कुटाकुटमा उत्रिए । दुवै गम्भीर घाइते भए । घाइते अवस्थाका दुवैलाई स्थानीयले अस्पताल पुर्‍याए । 

अस्पतालमा डाक्टरले उनीहरूलाई यसरी घाइते हुनुको कारण सोधे । दुवैले पालैपालो घटनाको बेलिविस्तार लगाए । डाक्टरलाई घटनाबारे बताइसकेपछि उनीहरूले सोधे– अब तपाईं नै भन्नुहोस् त डाक्टरसाब, त्यो कोइलीले कसका लागि शुभ सन्देश दिएको थियो ? 

डाक्टर एकैछिन गम्भीर भए र हल्का मुस्कुराउँदै जवाफ दिए– हेर्नुहोस्, मेरो विचारमा कोइलीले मेरा लागि शुभ सन्देश दिएको थियो । उनीहरूले डाक्टरको भनाइको आशय बुझेनन् । उनीहरूले प्रश्न गरे– कसरी ? डाक्टरले भने– तपाईंहरू यसरी घाइते भएर आएपछि मेरो मंगल भएन ? मेरा लागि शुभ संकेत भएन ? डाक्टरको जवाफ सुनेर दुवैले लाजले मुख रातो बनाए । उनीहरूले आफ्नो गल्ती थाहा पाए ।