
भनिन्छ–उमेर ८० पुगेर बसिखाने। तर, ‘घरले जाजा, वनले आइजआइज’ भन्ने उमेरमा पनि विराटनगरका ७८ वर्षीय हरिबहादुर कार्की अझै जाँगरिलो बनेर साइकल मर्मत गरेर परिवार पालिरहेका छन्। २००४ सालमा बर्मामा जन्मेर २०१४ सालमा नेपाल आएका उनले २०२७ सालमा २३ वर्षे लक्का उमेरदेखि साइकल मर्मत गर्न थालेका हुन्। सामान्य बाह्रखरी मात्र चिनेका हरिबहादुरले साइकल मर्मत गर्न थालेको पनि ठ्याक्कै ५५ वर्ष पुगेको छ।
विराटनगर महानगरपालिका– ८ मानगढमा छ हरिबहादुरको आफ्नै सानो घर। त्यही घरको सानो आँगनमा छ उनको आफ्नै साइकल मर्मत पसल। महानगर भने पनि गाउँकै झल्को दिन्छ उनको टोलले। बसी खाने उमेरका वृद्ध हरिबहादुर अझै थाकेका छैनन्। उनी पसलमा आउनेजति सबैसँग मस्तले गफिँदै रमाएर सबैको मर्मत गरिदिन्छन्, स्वेच्छाले दिएको रकम थापेर खुसी हुन्छन्। साइक मर्मत गरेर उनी दैनिक पाँच सयदेखि एक हजार रुपैयाँसम्म आम्दानी गर्छन्।
हरिबहादुरले साइकल मर्मत गरेरै चार छोरी र दुई छोराको विवाह गराइदिइसकेका छन्। पहिले मोरङ दर्बेसाका बासिन्दा उनी २०४३ सालदेखी विराटनगर– ३ मानगढ टोलमा बस्दै आएका छन्। उनका दुई छोरा वैदेशिक रोजगारमा छन्। चार छोरी र ज्वाइँहरु पनि राम्रै आम्दानी गर्छन। १० जना नाति नातिनादेखि पनाति पनातिनीका बाजे–बराजु भइसकेका हरिबहादुरलाई परिवारले मनाही गरे पनि आफूले गर्दै आएको काम उनले छाड्न मानेका छैनन्। वृद्ध उमेरमा पनि आफू स्वस्थ्य रहेको र आरामले अझै १० वर्षसम्म साइकल मर्मत गर्ने जाँगर भएको हाँक दिँदै हरिबहादुर भन्छन्, ‘गरिखान केको लाज ? शरीरले स्वस्थ्य छु, यति आरामको काम गरेर खान मलाई कुनै गाह्रो छैन। किन छाडनु ?’
तत्काल दर्बेसा पञ्चायतमा दोस्रो विश्वयुद्धपछि २०१४ सालमै बर्माबाट आएर सपरिवार बसेका थिए उनका बाबु निमबहादुर कार्की। त्यो बेला सरकारले औलो लाग्ने जंगल भएको दर्बेसामा २२ विगाहा बाँझो खेत दिएको थियो बर्मेली निमबहादुरलाई। तर, उब्जनी पटक्कै हुँदैनथ्यो। यसैले परिवारलाई खान लगाउन धौधौ पर्थ्यो। पाँच भाइमध्येका एक हरिबहादुरले साइकल बनाउने मेकानिक काम सिके। अनि कृषि कर्मसँगै गाउँमै साइकल मर्मतमा रमाए।
उनी दर्बेसा गाउँमा क्रान्तिकारी मेकानिक भनेर पनि चिनिए। यस अर्थमा कि उनले आफूले नपढे पनि गाउँमा घडी, रेडियोदेखि साइकल, तालाचावी, पम्पसेट, मीलका पाटपुर्जा आदि सबै मर्मत गरे। यति मात्र हैन उनले केही वर्ष गाउँमा दर्जीसँगै बसेर लुगा पनि सिलाए। विश्वकर्मासँगै बसेर आरनमा फलाम गलाएर औजार पनि बनाए। त्यो बेलाको तितो अनुभव सुनाउँदै क्रान्तिकारी मेकानिक हरिबहादुर भन्छन्, ‘हैट, आरनमा फलामको काम गर्दा र लुगा सिँउदा त अछुत भनेर समाजले बहिष्कार नै गर्यो, पण्डित पनि पूजा लगाउन आएनन्।’ ‘देखासेखी गरिखानु आरिसे जति मरिजानु’ भन्थे क्रान्तिकारी श्रमजिवी हरिबहादुर। यसैले जसले जे भने पनि उनले आफूनो कर्म छाडेनन्। लुगा सिउने काम भने उनले जिउ दुखेर केही वर्षपछि छाडिदिए। ‘एकोहोरो बसेर काम गर्दा जिउ असाध्यै दुख्दो रहेछ, यसैले धेरै वर्ष लुगा सिउन सक्दै सकिनँ’ हरिबहादुरले आफनो तीतो विगत सुनाए। आरनमा भने उनलाई सानो जातको गाह्रो पेसा भनेर घरपरिवारले नै धेरै दिन काम गर्न दिएन।
त्यो बेला कोही पनि पहाडेले साइकल बनाउँदैन थिए। मेकानिकहरु सबै तराई मधेशतिरकै हुन्थे। अझ सिमाक्षेत्र भएकाले भारतीयहरु नै धेरै हुन्थे। कसैको पर्वाह नगरी साइकल मर्मत गर्न लागिपरेका हरिबहादुरलाई धेरैले ‘थुक्क पहाडे भएर पनि यस्तो काम गरेको। लाखेस् तेरा घरमा छोराछोरीको बिहे हुँदैनन् नि फेरि’ भनेर पनि धिक्कारे। तर कर्मवीर हरिबहादुर गाउँलेका कुरा एक कानले सुनेर अर्केले उडाइदिन्थे।
आजकल समय फेरिएको छ। पहिले पहाडेले पनि राम्रो साइकल बनाउन जान्दछ र ? भन्दै खिसीट्युरीहरु अहिले सिटी रिक्सामा साइकल लोड गरेर ‘तँपाईले बनाएको पक्का हुन्छ’ भन्दै घरमा छाडेर जाने गरेका छन्। आफ्नो मेकानिक सिपप्रति गर्व गर्दै हरिबहादुर भन्छन्, ‘मलाई धेरै कमाउनु छैन। कमाइनँ पनि। तर टाढाटाढादेखि मेकानिकहरुले नै साइकल ल्याएर बनाउन दिँदा आफ्नो सिपमा सफल भएछु भन्ने लाग्छ।’
साइकल बनाउन मात्र जान्दैनन् हरिबहादुर, ठूला र हलुका सवारी पनि कुदाउँछन्। तर, ड्राइभर भएर पनि उनले साइकल मर्मत गर्न भने छाडेनन्। दर्बेसामा अंशमा पाएको ६ विगाहा खेत जिविकोपार्जनमै खर्चेका हरिबहादुरले साइकल मर्मत गरेर पैसा नकमाए पनि आफ्नो निष्ठा भने जिवित राखेका छन्। शरीरले वृद्ध, तर जाँगरले जोशीला हरिबहादुर भन्छन्, ‘मैले गरिखान सकिनँ भनेर कसैसँग माग्दै पनि हिँड्नुपरेन, आफ्नै पौरखले जति कमाएको छु ढुक्कले खाएर परिवारलाई पनि खुवाइरहेको छु।’