
सिन्धुलीको गोलान्जोर गाउँपालिका– ६, छेत्पाबाट सम्पर्कविहीन भई कास्कीको पोखरा महानगरपालिका– ३०, गगनगौँडामा भेटिएका उर्मिला हायुका परिवारलाई आफन्तको जिम्मा लगाइएको छ ।
पोखरा– ३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा सोमबार बेलुका भेटिएका उनीहरूलाई ज्वाइँ नाता पर्ने धनबहादुर तामाङको जिम्मा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । उनीहरूलाई पोखरा महानगरपालिका– ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहवरमा आफन्तको जिम्मा लगाइएको हो ।
धनबहादुर हराएकामध्येकी कमला हायुका पति हुन् । प्रहरीका अनुसार वेलावेलामा बिरामी भइरहने र धामीले त्यहाँ नबस्न भनेपछि छेत्पाबाट हिँडेको उनीहरूले बताएका छन् ।