
८१% निर्माण सकिएको रसुवा सुक्खा बन्दरगाहमा बाढीले ५५% क्षति पुर्याएको निर्माण कम्पनी तिब्बत फुली कन्स्ट्रक्सनको प्रारम्भिक मूल्यांकन, अझै बाढीको जोखिम रहेकाले सुक्खा बन्दरगाह सार्न चीनको सुझाव
गत २४ असारमा आएको बाढीले रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहमा करिब एक अर्ब रुपैयाँबराबरको भौतिक क्षति पुगेको प्रारम्भिक मूल्यांकन भएको छ ।
चीनको आर्थिक तथा प्राविधिक सहयोगमा रसुवाको टिमुरेमा २ फागुन ०७९ मा सम्झौता भई निर्माण भइरहेको सुक्खा बन्दरगाहको भौतिक प्रगति ८१ प्रतिशत पुगिसकेको थियो । तर, असार अन्तिम साताको बाढीले सम्पूर्ण संरचनासहित ५५ प्रतिशत क्षति पुगेको छ । जसकारण बन्दरगाहको संरचना सुरुदेखि नै निर्माण थाल्नुपर्ने बाध्यता रहेको इन्टरमोडेल यातायात विकास समितिले जनाएको छ ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका– २, टिमुरेमा सुक्खा बन्दरगाह निर्माण गरिरहेको चिनियाँ निर्माण कम्पनी तिब्बत फुली कन्स्ट्रक्सनले सोमबार इन्टरमोडेल यातायात विकास समितिलाई बाढीले गरेको क्षतिबारे प्रारम्भिक तथ्यांक पेस गरेको हो । फुली कन्स्ट्रक्सनका परियोजना प्रबन्धक याङ ली नेतृत्वको प्रतिनिधिमण्डलले क्षति विवरण पेस गरेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । छलफलमा निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर लीले क्षति पुगेको सुक्खा बन्दरगाह मर्मत गर्नुको सट्टा अन्यत्र सुरक्षित स्थान खोजेर नयाँ संरचना बनाउन सुझाव दिएको गजुरेलले बताए । उनले पनि सरकारलाई जानकारी गराएर उपयुक्त निर्णय लिने धारणा राखेका थिए । २४ असारमा आएको भीषण बाढीले रसुवा–केरुङ नाकामा ठुलो क्षति पुगेको छ । दुई देशलाई जोड्ने मितेरी पुल, सडकसहित सवारीसाधन र अन्य सामग्रीसमेत बगाएको छ ।
कुन–कुन संरचनामा क्षति पुग्यो ?
निर्माण कम्पनी तिब्बत फुली कन्स्ट्रक्सनका परियोजना प्रबन्धक याङ लीले समितिलाई दिएको जानकारीअनुसार सुक्खा बन्दरगाह निर्माणस्थलमा भोटेकोशी नदीतर्फ लगाएको रिटेन्सन पर्खाल चार सय मिटर भत्किएको छ भने एकैसाथ दुई सय ५० वटा सवारीसाधन पार्किङ गर्न मिल्ने गरी तयार भएको कंक्रिट ढलानमा पूर्ण क्षति भएको छ । दुईवटा गोदामघर, माटो र ढुंगाले भरिएको छ । त्यस्तै, दुईवटा लोडिङ–अनलोडिङ सेडमा क्षति पुगेको र ब्याचिङ प्लान्टमा भएको क्षतिका कारण कुल एक अर्ब रुपैयाँबराबरको भौतिक क्षति भएको परियोजना प्रबन्धक लीले समितिलाई जानकारी गराएका छन् । त्यस्तै, बन्दरगाह निर्माणमा संलग्न कामदारमध्ये १४ चिनियाँ र आठजना नेपाली कामदारको मृत्यु भएको छ । प्रशासनिक भवन मात्र बाढीले क्षति पुर्याएको छैन ।
बन्दरगाह निर्माण गर्न १० वर्षअघि भएको थियो समझदारी
रसुवामा सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल र चीनबिच ३० असोज ०७१ मा द्विपक्षीय समझदारी (एमओयू) भएको थियो । उक्त एमओयूमा चीनले सम्पूर्ण संरचना निर्माण गरी हस्तान्तरण गर्ने उल्लेख थियो । तर, समझदारीको ६ वर्षपछि २९ वैशाख ०७६ निर्माण अघि बढाउन दुई देशका प्रतिनिधिबिच हस्ताक्षर भएको थियो । यद्यपि, त्यसको पनि दुई वर्षपछि २ फागुन ०७९ मा मात्रै पूरक सम्झौता भई निर्माण अघि बढेको थियो । उक्त सम्झौतामा २४ जेठ ०८१ मै बन्दरगाह निर्माण सक्ने उल्लेख थियो । तर, निर्माण नसकिएपछि आगामी १६ चैतसम्मका लागि म्याद थपिएको छ । दुई अर्ब १६ करोड लागतको आयोजना बाढीले क्षति पुर्याउनुअघि ८१ प्रतिशत निर्माण सकिएको समितिले जनाएको छ ।