
पर्सामा पछिल्लो केही वर्षयता आपराधिक घटना घट्दै गएको छ । विगतका वर्षमा भन्दा आर्थिक वर्ष ०८१/८२ सहित तीन वर्षयता आपराधिक घटना कम भएको पर्सा प्रहरीको तथ्यांकले देखाएको छ ।
पछिल्ला वर्षहरूमा हत्या, बलात्कार, अपहरण, चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध घट्दै गएको पर्सा प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै, जुवा, खोटा चलन, ठगी, लागुऔषधको कारोबार, कालोबजारी, अपहरण तथा शरीर बन्धक, अवैध चन्दा संकलन, सरकारी छाप दस्तखत किर्ते, संगठित अपराध र हातहतियार तथा खरखजानासम्बन्धी मुद्दालाई प्रहरीले संगठित तथा आर्थिक अपराध भनेर उल्लेख गरेको छ ।
सामाजिक अपराधअन्तर्गत धर्म परिवर्तन, राज्यविरुद्वको अपराध, जातीय भेदभाव तथा छुवाछुत, आवश्यक वस्तु संरक्षण ऐन, कुटपिट अंगभंगलगायत मुद्दा पर्छन् । यस्ता आपराधिक घटना बिस्तारै कम हँुदै गएको पर्सा प्रहरीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार समाजमा चाँडै पैसा कमाउने र धनी हुने उद्देश्यले प्रेरित अपराधका घटनाहरू हुने गरेको देखिन्छ । तर पर्सामा भने तथ्यांकअनुसार विभिन्न अपराधको संख्यामा कमी हुँदै गएको देखिन्छ ।
‘समाजमा छिटो धनी बन्ने लालसाले संगठित तथा आर्थिक अपराधकर्ममार्फत पैसा कमाउने प्रवृत्ति छ,’ प्रवक्ता लम्सालले भने, ‘संगठित तथा आर्थिक अपराधका अधिकांश घटनामा छिटो धनी बन्ने लालसाका कारण घटना भएको देखिन्छ ।’
यस्तै, अशिक्षा, गरिबी र विपन्नताको कारणले समाजमा अपराध बढ्ने गरेको उनले बताए । उनले भने, ‘पारिवारिक रिसीइबीको कारण र आर्थिक लेनदेनका कारण अपराध बढ्दो छ ।’ आफूहरू अहिलेको शान्ति सुरक्षाको अवस्थाबाट पूर्ण रूपमा सन्तुष्ट नरहेको र सुधारको प्रयास गरिरहेको बताए ।
कम हुँदै आपराधिक घटना
पर्सामा पछिल्लो तीन आर्थिक वर्ष ०७९/०८० देखि ०८१/०८२ सम्ममा विभिन्न आपराधिक घटनाका पाँच हजार सात सय तीन वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये यी तीन वर्षीय तथ्यांकमा अहिलेसम्ममा चार हजार नौ सय ४६ वटा मुद्दा फस्र्योट भइसकेको तथ्यांकमा उल्लेख छ ।
तथ्यांकअनुसार गएको आर्थिक वर्ष ०७९/०८० मा मात्र दुई हजार दुई सय ७२ वटा मुद्दा दर्ता भएको देखिन्छ । जसमा एक हजार आठ सय ७८ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको अवस्था छ ।
आर्थिक बर्ष ०८०/०८१ मा एक हजार सात सय ८१ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ भने एक हजार चार सय दुई जनालाई पक्राउ परी कानुनी कारवाहीको दायरा आएका छन् ।
गत आर्थिक वर्ष ०८१/०८२ मा मा विभिन्न अपराधका घटनामा एक हजार ६ सय ५० वटा मुद्दा दर्ता भएको छ ।
पर्सा प्रहरीका अनुसार जिल्लामा विभिन्न आपराधिक घटनामा संलग्न भएकाहरूको विरुद्धमा मुद्दा दर्ता भएको हो । जसमध्ये एक हजार एक सय ७९ मुद्दा फस्र्योट भएको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
उनका अनुसार गत आर्थिक वर्षमा मुद्दा फस्र्योट हुन बाँकी रहेको चार सय ७२ वटा मुद्दा चालु आर्थिक वर्षमा फस्र्योट हुनेछ । यस्तै, मुद्दा दर्ता भएकाहरूमध्ये एक हजार दुई सय ६६ जनालाई पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको छ ।
गत आवका नौ सय ५६ जना फरार प्रतिवादीको रुपमा रहेकाले अहिले सम्ममा कानुनी दायरामा आउन नसकेको उनले बताए ।