मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 29 July, 2025
Invalid date format १९:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहामा सहकारी र सामाजिक संस्थामा अज्ञात समूहद्वारा आगजनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१o:oo

सिराहाको धनगढीमाई नगरपालिका– १०, धनगढीमा कार्यालय रहेको लवकुश बहुद्देश्यीय सहकारी संस्था र सामाजिक संस्थाको रूपमा रहेको पद्मोदय फाउन्डेसनमा अज्ञात समूहले आगजनी गरेको छ।

सहकारी र फाउन्डेसनको बैठक कक्षमा आइतबार मध्यरातमा आगजनी भएको हो। अज्ञात समूहले गरेको आगजनीमा स्थानीय शिशु ज्योति माविको को. १० प ४१८४ नम्बरको बसको अगाडिको भागसमेत जलेर सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

बैठक कक्षमा मात्र आगजनी भएकाले संस्थाका महत्त्वपूर्ण कागजातहरू जोगिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। ‘घटनाको इलाका प्रहरी कार्यालय लहानले अनुसन्धान थालेको छ,’ उनले भने।

उनका अनुसार आगजनीसँगै दुवै संस्थाका गरी ५० थान प्लास्टिकका कुर्सी, एक थान टेबल र दुई थान त्रिपालसमेत हराएको भन्ने सूचनाको आधारमा अनुसन्धान भइरहेको छ।

‘संस्थाको कार्यालयभन्दा करिब तीन सय मिटर पूर्वतिर स्थानीय किसानको परालका दुईवटा कुन्युसमेत जलेको पाइएको छ,’ उनले भने, ‘कसैले नियतवश परालमा आगजनी गरेपछि संस्थामा आगजनी गरेको वा आगोको झिल्को उडेर आगो लागेको हो भन्ने कुरा अनुसन्धानपछि नै खुल्छ।’