
विशेष अदालतले पतञ्जलि भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ। वारेससम्बन्धी नेपालको निवेदनमा न्यायाधीशद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार यस्तो आदेश गरेको हो।
नेपालले राजनीतिक कार्यक्रममा देशको विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाउँदै वारेस राख्ने अनुमतिका लागि निवेदन दिएका थिए। नेपाललाई तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने कसुरको अभियोग लागेको देखिएकाले वारेस राख्ने अनुमति प्रदान गर्न नमिल्ने आदेशमा उल्लेख छ।
‘...दफा ३ को उपदफा (१) को खण्ड (झ)मा आठ वर्षदेखि दश वर्षसम्म कैद सजाय हुने व्यवस्था भएको पाइन्छ। सो व्यवस्थाअनुसार यी प्रतिवादीलाई तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने कसुरको अभियोग लागेको देखियो। तसर्थ, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९५ को उपदफा (१)को खण्ड (क)को व्यवस्थाअनुसार यी प्रतिवादीलाई वारेस राख्ने अनुमति प्रदान गर्न मिलेन। कानुनबमोजिम गर्नू,’ आदेशमा भनिएको छ।