मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १२ सोमबार
  • Monday, 28 July, 2025
२o८२ श्रावण १२ सोमबार १५:५२:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

स्टेन्थ लिफ्टिङमा नेपालको नाम विश्वभर : मोरङकी दीपा विष्ट चौथोपटक बनिन् विश्वच्याम्पियन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १२ सोमबार १५:५२:oo

थाइल्यान्डमा सम्पन्न विश्व स्ट्रेन्थ लिफ्टिङ एन्ड आइभिपी च्याम्पियनसिपमा मोरङकी खेलाडी दीपा विष्टले लगातार चौथोपटक विश्वच्याम्पियन बन्ने कीर्तिमान राखेकी छिन् । 

२०८२ असार ३२ देखि ३ साउन (जुलाई १६–१९, २०२५)  सम्म थाइल्यान्डको फत्तायामा सम्पन्न उक्त प्रतियोगितामा सुन्दरहरैँचा नगरपालिका– ११, विराटचौककी ३० वर्षीया खेलाडी दीपा ९० केजी तौल उठाउँदै १८ देशका प्रतिस्पर्धीलाई पछि पारेर चौथोपटक पनि विश्वच्याम्पियन बन्न सफल भएकी हुन् ।

उनी यसअघि पनि लगातार तीनपटक विश्व च्याम्पियन बनेकी थिइन्। दुईपटक विश्वकै ‘सबैभन्दा शक्तिशाली महिला’ अर्थात् वर्ल्ड स्ट्रोङगेस्ट वुमनको उपाधि जितेकी दीपाले यसअघि ९५ केजी तौल उठाएर विश्वकीर्तिमान पनि कायम गरिसकेकी छिन् ।  यसपटक शारीरिक चोटका कारण उनले ९० केजी तौल मात्र उठाए पनि उपाधि रक्षा गर्न सफल भइन्। उक्त प्रतियोगितामा भारतका खेलाडी दोस्रो र श्रीलंकाका खेलाडी तेस्रो स्थानमा रहे । 

नेपालकै प्रतिष्ठित धर्मश्री बडिबिल्डिङ प्रतियोगितामा समेत प्रतिस्पर्धा गरिसकेकी दीपाले सन् २०२१ बाट स्ट्रेन्थ लिफ्टिङ खेल खेल्न सुरु गरेकी हुन्। उनले २०७९ मा किर्गिस्तान, २०८० मा भारतको हैदराबाद, २०८१ मा पुनः किर्गिस्तान र हालै २०८२ मा थाइल्यान्डमा सम्पन्न प्रतियोगितामा लगातार उपाधि जित्दै ‘विश्वच्याम्पियन’को उपाधि कायम राखेकी छिन्।

अन्तर्राष्ट्रिय निर्णायकसमेत रहेकी विष्टको कप्तानीमा प्रतियोगितामा सहभागी १४ जना नेपाली खेलाडीले समेत विभिन्न पदक जित्न सफल भए । तीमध्ये सातजनाले स्वर्ण, पाँचजनाले रजत र दुईजनाले कांस्य पदक जितेका थिए । काठमाडौंमा बस्दै आएकी अमृता खड्काले महिलातर्फ स्वर्ण जितिन् भने नेपालगन्जका खेलाडी करण वाग्लेले पनि विश्वजुनियरतर्फबाट स्वर्ण पदक जिते । 

उक्त अवसरमा थाई–नेपाली खेलकुद संघका अध्यक्ष लक्ष्मण केसी, उपाध्यक्ष विनोद लामिछाने, संरक्षक कुमार कार्की, सांस्कृतिक विभाग प्रमुख बोइस लामा, सल्लाहकार नानु कार्की तथा सदस्य भगवती कार्कीले सहभागी सबै नेपाली खेलाडीलाई थाइल्यान्डमै आयोजित डिनर कार्यक्रमसहित नगद एक लाख रुपैयाँ, दोसल्ला ओढाएर सम्मान गरेका थिए

सरकारी पक्षबाट अझै बेवास्तामा स्ट्रेन्थ लिफ्टिङ खेलाडी 
तर, चारपटकसम्म विश्वच्याम्पियन बनेकी दीपा विष्ट तथा पदक विजेता अन्य खेलाडीलाई नेपाल सरकार वा राष्ट्रिय खेलकुद परिषद्ले अहिलेसम्म कुनै औपचारिक सम्मान वा पहिचान दिएको छैन।

दीपा विष्टका अनुसार नेपालमा स्ट्रेन्थ लिफ्टिङ खेलको ठुलो सम्भावना छ। खेलको विकासका लागि निजी प्रयासबाट राष्ट्रियस्तरको स्ट्रेन्थ लिफ्टिङ फेडेरेसनसमेत गठन भइसकेको छ ।  

पश्चिम नेपालगन्ज र कर्णाली क्षेत्रमा यो खेल लोकप्रिय बन्दै गएको छ भने पूर्वको कोशी प्रदेशमा अहिले जिल्ला तहमा समितिहरू गठन हुँदै छन् । तर, यो खेल अझै पनि राष्ट्रिय खेलकुद परिषदमा  आधिकारिक रूपमा दर्ता हुन सकेको छैन।