
नेबिको लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले २० करोड मूल्यबराबरकोे सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।
कम्पनीले उक्त सेयर निष्कासनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यो कार्यका लागि दुवै पक्षबिच सम्झौता भएको छ । सम्झौतापत्रमा नेबिकोका तर्फबाट अध्यक्ष राजबहादुर सिंह र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरेका हुन् ।
नेबिको सन् १९६४ मा स्थापना भएको नेपालकै पुरानो खाद्य उत्पादन कम्पनी हो । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको मुख्य कारखाना तथा हेटौँडा, भैरहवामा थप भएका उद्योगबाट बिस्कुट र कन्फेक्सनरी उत्पादन गर्दै आएको छ । आगामी वर्षमा कम्पनीको बेकरी, वेफर, पफलगायतका उत्पादन स्वदेश र विदेशमा विस्तार गर्ने योजना रहेको छ ।