मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025
२o८२ श्रावण ११ आइतबार २१:३९:oo
Read Time : > 1 मिनेट
समाचार

रूपनगरका सामुदायिक विद्यालयका शिक्षकशिक्षिकालाई कम्प्युटर तालिम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ११ आइतबार २१:३९:oo

सामुदायिक प्राथमिक विद्यालयमा कम्प्युटर सिकाइ अभियानअन्तर्गत सप्तरीको रूपनगरमा प्राथमिक विद्यालयका शिक्षक-शिक्षिकाहरूलाई आधारभूत कम्प्युटर तालिम दिन थालिएको छ। रूपनगर नन्दराज संग्रौला क्याम्पसका प्रमुख प्राध्यापक दीपककुमार गजुरेलले क्याम्पसको कम्प्युटर प्रयोगशालामा तालिम सुरूवात गरेका हुन्।

कञ्चनरूप नगरपालिकाका तीनवटा सरकारी प्राथमिक विद्यालयका ११ जना शिक्षिका र एकजना शिक्षक गरी जम्मा १२ जना शिक्षक-शिक्षिका उक्त तालिममा सहभागी छन्। दुईमहिने आधारभूत कम्प्युटर तालिम दलित सरोकार मञ्चका कम्प्युटर प्रशिक्षक अविनाश गजुरेलले सञ्चालन गर्नेछन्।

सामुदायिक प्राथमिक विद्यालयमा कम्प्युटर सिकाइ नाम दिइएको शिक्षा सुधारका लागि थालिएको यो अभियान रूपनगर नन्दराज संग्रौला क्याम्पस, एक्मी इन्जिनियरिङ कलेज, काठमाडौं र दलित सरोकार मञ्चको सहकार्यमा थालिएको छ।

सरकारी प्राथमिक विद्यालयका शिक्षक-शिक्षिकाका साथै ती विद्यालयमा पढ्ने बालबालिकालाई समेत आधारभूत कम्प्युटर सिप सिकाइने दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले जानकारी दिए।

एक्मी इन्जिनियरिङ कलेजले दिएको कम्प्युटर र दलित सरोकार मञ्चले व्यवस्था गरेको प्रशिक्षकबाट बालबालिकाहरूलाई कम्प्युटर सिकाउने कार्यक्रम विद्यालय हातामै सञ्चालन गरिनेछ। कम्प्युटर सिकाइसँगै बालबालिकाहरूलाई अंग्रेजी बोल्नसमेत सिकाइनेछ।

कञ्चनरूप नगरपालिकाअन्तर्गतका राष्ट्रिय प्राथमिक विद्यालय, पिपरा, भगवती आधारभूत प्राथमिक विद्यालय, कञ्चनपुर र वीरेन्द्र केशरी खेमराज प्राथमिक विद्यालय, धरमपुर गरी तीनवटा सरकारी विद्यालय छनोट गरी अभियानमा सामेल गराइएको छ।

‘हाम्रो अभियान भर्खर सुरु भएको छ। पहिलो चरणमा तीनवटा सरकारी विद्यालय मात्र छनोट गरेका छौँ,’ एक्मी इन्जिनियरिङ कलेजका प्रिन्सिपल प्राध्यापक इन्जिनियर प्रदीपकुमार पौड्यालले भने, ‘गाउँका विपन्न परिवारका स–साना बालबालिकालाई कम्प्युटर सिकाउने अभियान तीनवटा विद्यालयमा सफल भयो भने विस्तार गर्नेछौँ।’

अभियानको अर्को सहयात्री दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले भने, ‘अभियानमा अपेक्षित प्रगति गर्न सकियो भने यसलाई आगामी दिनमा अझ विस्तार गर्नुका साथै थप शिक्षकको व्यवस्था गरिनेछ। कार्यक्रमको सफलताका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, समुदाय, जनप्रतिनिधि सबै पक्षको सहयोग चाहिँ जरुरी हुन्छ।’

चैत ०८२ मा सकिने यो शैक्षिक सत्रको अन्त्यसम्ममा यी तीन विद्यालय प्रत्येकका कम्तीमा ४–६ जना विद्यार्थीलाई कम्प्युटर चलाउने र आधारभूत अंग्रेजी बोल्न सक्ने बनाउने उनीहरूको लक्ष्य छ। तालिमका लागि आवश्यक कम्प्युटर एक्मी इन्जिनियरिङ कलेजले उपलब्ध गराएको छ भने कम्प्युटर र अंग्रेजी सिकाउने शिक्षकको पारिश्रमिक दलित सरोकार मञ्चले व्यहोर्ने भएको छ।

अभियानको निरन्तर अनुगमन तथा मूल्यांकनको जिम्मेवारी रूपनगर नन्दराज संग्रौला क्याम्पसले पाएको छ। यसका लागि क्याम्पस प्रमुख प्राध्यापक गजुरेलको नेतृत्वमा तीनसदस्यीय समिति निर्माण गरिएको छ।