मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
केशवप्रसाद भट्टराई साँवा (ताप्लेजुङ)
Invalid date format १९:२७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

दुई वर्षमा बनिसक्नुपर्ने पालिकाका अस्पताल पाँच वर्षमा पनि अपूरै

दुई पालिकामा अस्पताल निर्माण रद्द, दुई पालिकामा निर्माण जारी, एउटामा भने निर्माण सम्पन्न

Read Time : > 1 मिनेट
केशवप्रसाद भट्टराई, साँवा (ताप्लेजुङ)
नयाँ पत्रिका
Invalid date format १९:२७:oo

संघीय सरकारले पाँच वर्षअघि दुई वर्षभित्र सबै पालिकामा आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने घोषणासहित शिलान्यास गरेको थियो । यही क्रममा ताप्लेजुङका स्थानीय तहहरूमा पनि ५, १० र १५ शय्याका आधारभूत अस्पताल बनाउने योजनासहित शिलान्यास गरिएका थिए । तर, त्यतिवेला शिलान्यास गरिएका अधिकांश अस्पताल पाँच वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन। 

अस्पताल नभएका स्थानीय तहहरूमा दुई वर्षभित्र भवन निर्माण गरिसक्ने लक्ष्यका साथ १५ मंसिर ०७७ मा देशभरका ३९३ आधारभूत अस्पतालको तत्कालीन प्रधानमन्त्री केपी ओलीले एकैपटक  शिलान्यास गरेका थिए। 

फाक्ताङलुङमा अस्पताल नै नबन्ने
फक्ताङलुङ गाउँपालिकामा भने आधारभूत अस्पताल नबन्ने पक्का भएको छ । अस्पतालको लागि नौ रोपनी जग्गा छुट्टाएको भए पनि अहिलेसम्म अस्पताल निर्माणमा कुनै पनि प्रक्रिया अघि नबढेको गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले बताए ।

आधारभूत अस्पताल निर्माणका लागि सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णय, जिल्ला समन्वय समितिको सिफारिस आवश्यक पर्छ । जग्गाको लालपुर्जा (पाँच शय्याका लागि ५.६ रोपनी तथा १० र १५ शय्याको लागि भने ७.२ रोपनी जग्गा) अनिवार्य रूपमा हुनुपर्छ । त्यसपछि अस्पतालको डिपिआर तयार गरेर मन्त्रालयमा पेस गर्नुपर्छ । यस्तो प्रारम्भिक रिपोर्ट मन्त्रालयले स्वीकृत गरेपछि मात्रै बजेट निकासा हुने मापदण्ड छ । सिदिङ्वा गाउँपालिकामा पनि जग्गा विवादका कारण अस्पताल निर्माण रद्द भएको छ । 

जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा निर्माण हुन थालेको १० शय्याको अस्पताल निर्माण अझै जारी छ । १० करोड ५७ लाख लागतमा सुरु भएको अस्पताल गत अर्थिक वर्षमा नै निर्माण सक्नुपर्ने भए पनि अहिले म्याद थप गरेर पुस सम्ममा निर्माण सकिने गाउँपालिकाका इन्जिनियर जीवन भण्डारीले जानकारी दिए। 

संघीय सरकारको बजेटबाट अस्पताल निर्माण हुने भए पनि सम्झौता, अनुगमन र नियमनको सबै काम स्थानीय तहले नै गरिरहेका छन् । उता, माैवाखोला गाउँपालिकाको १५ शय्याको अस्पताल निर्माण भइरहेको छ । माैवाखोला गाउँपालिकाको १५ शय्याको भवन निर्माण पनि भइरहेको अध्यक्ष विजयप्रकाश बनेमले बताए। 

मिक्वाखोलामा बन्यो पाँच शय्याको अस्पताल
मिक्वाखोला गाउँपालिकाको केन्द्र साँवा थलंमा ०७७ सालमा शिलान्यास भएको पाँच शय्याको अस्पताल निर्माण सम्पन्न भएको छ । शिलान्यसको दुई वर्षमा काम सम्पन्न हुने भनिए पनि पाँच वर्षमा काम सम्पन्न भएको हो । ०७८/७९ मा निर्माण ठेक्का लागे पनि पाँच वर्षपछि मात्र काम सकिएको हो । 

मिक्वाखोलामा ६ करोड ६२ लाखको लागतमा निर्माण भएको अस्पतालमा पाँच शय्यासहित ५८ कोठा रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतमले जानकारी दिए । उक्त अस्पतालमा एक क्यान्टिन, एक गार्ड हाउसलगायतका संरचना रहेको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए । भवन बनेका पनि सेवा प्रवाह भने हुन सकेको छैन ।

अस्पताल निर्माणको ठेकेदार कम्पनी पहाडी निर्माण सेवाका प्रोपाइटर मंगलसिंह साँवाले अस्पताल आ.व. ०८०/८१ मै सम्पन्न गरेको बताए । तर, रकम केन्द्रबाट नआएका कारण पालिकालाई जिम्मा लगाउन नपाएको साँवाले जानकारी दिए । आव ०८१/८२ को अन्त्यमा मात्र निकासा भएको र अब चालू आर्थिक वर्षमा अस्पताल गाउँपालिका अर्थात् सरकारलाई जिम्मा लगाउने प्रोपाइटर साँवाले बताए।